बुटवल असार १५
असरको १५ गतेको दिनलाई दही चिउरा खाने दिनका रूपमा पनि लिइन्छ । असारमा रोपाँइ खेतमा धान रोपेर वा नरोपी सबैले दही चिउरा खाएर असार १५ मनाउँने गर्छन् । मानो रोपेर मुरी उब्जाउने दिनक रूपमा यसदिनलाई लिने गरिन्छ । असार १५को दिनमा किसानले हिलो खेल्दै, असारे भाकाको गीत गाउदै खेतकै आलीमा बसेर खाजा खादै रमाइलो र सँगै काम पनि गर्ने गरिन्छ, खाजाकोरूपमा दही चिउरा खाएर रमाइलो गर्ने पुरानो परम्परा नेपाली समाजमा छ ।
स्वास्थ्यको दृष्टिकोणले दही र चिउरा शरीरमा ऊर्जा र शीतलता दिनुको साथै पाचन प्रणालीका लागि निकै उत्तम खाद्य पदार्थ हो । दहीमा भिटामिन–ए, भिटामिन–डी, भिटामिन–बी १२, आइरन, प्रोटिनजस्ता पोषक तत्व प्रचुर मात्रामा पाइन्छ । दहीमा लाभकारी ब्याक्टेरिया पाइन्छ, जसले शरीरको रोगप्रतिरोधी क्षमता बढाउँछ, यसरी दही चिउरा खाने नेपालीको आफ्नै मौलिक परम्परा हो ।
रोपाइको दिनमा खेतका मालिकहरू पनि खेतमा गई खेतलासंग हिलोमा रमाउने गर्छन् । २०६२ सालदेखि सरकारले असार १५ लाई धान दिवसका रूपमा मनाउन थालेको हो ।