ज्योतिष शास्त्रको स्वरूप र फलादेशको आघार

957
ज्यो. पं. आचार्य केशव प्रसाद गौतम
हामीहरूले देखिरहेका छौं र भोगी रहेका छौं कि माटोदेखि बाहिरिएका करेसा बारीका आलुहरू हरिया भएका छन् । विभिन्न व्यापार व्यवसायका गाढा र चम्किला साइन बोर्डहरू हेर्दा हेर्दै धुमिल भएका छन् । यदि चिन्तन गर्दै जाने हो भने प्रश्न जाग्छ, कारण केहो त ? कारण प्रत्यक्ष छ, सूर्यादिग्रहहरूको प्रकाश या तेजोमय किरणको प्रभाव नै कारण हो । यो सफा आकाश र प्रकाशमय मौसममा मन र तनको तरङ्ग उत्साहदायक हुन्छ, किन कि यहाँ बाधा व्यवधानरहित सबै सूर्यादि ग्रहहरूको किरणको प्रभाव सन्तुलित रूपमा हाम्रो मन, मस्तिष्क र शरीरमा परेको हुन्छ । हुस्सु र कुहिरोले ढाकिएको अन्धकारमय मौसममा भने मन, मस्तिष्क र शरीरको ऊर्जामा उमङ्गमा समानता देखिँदैन ।
कारण सूर्यादि सबै ग्रहहरूको किरणको सन्तुलित प्रभाव पर्नुमा मौसम बाधक बनेको छ । यस्तै–यस्तै अनेक सकारात्मक र नकारात्मक प्रभावको कारण खोज्दै जाँदा ‘ज्योतिः’ अर्थात् किरण या प्रकाश नै प्रत्यक्ष या अप्रत्यक्षरूपमा सबै घटनाक्रममा निमित्त कारण बन्न आउँछ । त्यसैले त भनिएको छ –
“ज्योतिः प्रकाशः ज्योतिषां प्रकाशयुक्तानां सूर्यादिग्रहाणं नक्षत्राणांञ्च बोधकं शास्त्र ज्योतिषम्”
अर्थात् आकाशमा निश्चित मार्गमा विचरण गर्नेवाला प्रकाशमान ग्रहनक्षत्रहरूको तेजोमय किरणको प्रभावले भूमण्डलस्थित मानव जीवन र प्रकृति लगायत समस्त जगतमा पर्ने सकारात्मक र नकारात्मक असरको वारेमा बुझाउने शात्रलाई ज्योतिषम् भनिन्छ, र ज्योतिषशास्त्रको ज्ञातालाई ज्योतिषी भनिन्छ ।
ज्योतिष शास्त्रमा फलादेशको आधार
म्पूर्ण खगोल अर्थात् नक्षत्र मण्डल ३६० डिग्रीमा अवस्थित छ । उक्त ३६० डिग्रीको खगोलमा ३.२० डिग्रीको हिसाबले नक्षत्रहरू विद्यमान छन् भने ३६० डिग्रीलाई ३० ले भाग गर्दा भागफल १२ आउछ । यिनै ३०–३० डिग्रीका मेष आदि नाम गरिएका १२ वटा राशिहरू सौर्यमण्डलको पृष्ठ भागमा अवस्थित छन् । सूर्यादिग्रहहरू विचरण गर्ने क्रममा जुन ग्रहको पृष्टभागमा जुन राशि पर्दछ त्यही राशिमा ग्रहको स्थिति मानेर ज्योतिष शास्त्र अनुसार फलादेश गर्ने गरिन्छ । यसरी ज्योतिष प्रत्यक्ष अनुभूत शास्त्र भएको हुनाले “ वेदस्य निर्मलं चक्षुः ज्योतिषशात्रम्” भनिएको हो । अथात् सम्पूर्ण ज्योतिषशास्त्र का सारा ज्ञान वेदको आँखाको रूपमा मानिएको छ । सूर्योदय, सूर्यास्त, दिन, रात, तिथि, मास, पक्षादि विशिष्ट कालको सम्पादन विना दैनिक व्यवहारादि पनि असम्भव हुने भएकोले ज्योतिषशास्त्रको आवश्यकता अनिवार्य छ । प्रचलित रूपम सूर्य, पितामह, व्यास, वशिष्ठ, अत्रि, पराशर, काश्यप, नारद, गर्ग, मरीचि, मनु, अंगिरा, लोमश, पौलिश, च्यवन, यवन, भृगु, एवं शौनक गरी १८ महर्षिहरुरू ज्योतिषशास्त्रको संस्थापक या पर्वतक रूपमा जानिन्छन् ।
प्रचीनकालमा ज्योतिष शास्त्रलाई सिद्धान्त, संहिता र होरा गरी स्कन्धत्रय को नामले जानिने गर्थ्याे भने वर्तमान समयसम्म आइपुग्दा आधिकारिक रूपमा ज्योतिषशास्त्र सिद्धान्त, संहिता, होरा, प्रश्न र निमित्त गरी पाँचभागमा विभाजित भएको छ ।
१. सिद्धान्त ज्योतिषमा सृष्टि देखि लिएर प्रलय तकको काल गणना, सौर र चान्द्रमासको प्रतिपादन, कालमानवको प्रभेद, ग्रहगतिको निरुपण तथा गणित क्रियाको उत्पत्ति आदि द्वारा ग्रह नक्षत्र र पृथ्वीको अवश्थाको वर्णन गरिएको छ । यस शाखासंग संबन्धित प्रमुख ग्रन्थहरू ग्रहलाघव, मकरन्द, ज्योतिर्गणित र सूर्यसिद्धान्तआदि हुन् ।
२.संहिता ज्योतिषमा गणितलाई छोडेर ग्रह, नक्षत्र आदिको गति र स्थितिद्वारा भूशोधन, दिग्शोधन, गृहारम्भ, गृहप्रवेश, उल्कापात, ग्रहणविवेचन ग्रहको उदय अस्त विचार मूहुर्तगणना आदिको वर्णन गरिएको छ । यस शाखा सगँ सम्वन्धित प्रमुख ग्रथहरू बाराहमिहिरको बृहत् संहिता, भद्रबाहुसंहिता, मुहूर्त चिन्तामणि आदि हुन् ।
३. होरा ज्योतिषमा व्यत्तिगतरूपमा जातकको जन्मकुण्डलीमा द्वादश भावहरूको शुभ अशुभ फलको वर्णन गरिएको छ, यस शाखाका प्रसिद्ध ग्रन्थहरूमा बृहत्पाराशरहोराशास्त्र, बृहत्जातक, सारावली, जातक पारिजात, फलदीपिका, उत्तरकालामृत, लघुपाराशरी र जैमिनीसूत्र, आदि हुन् ।
४. प्रश्न ज्योतिषमा प्रश्नकालिक समयको आधारमा प्रश्नलग्न, प्रश्न अक्षर र स्वरज्ञानको आधारमा, प्रश्नकर्ताको आंगिक चेष्टाको आधारमा फलादेशको वर्णन गरिएको छ । यस मार्फत चोरी भएको हराएको वस्तुको ज्ञान, गर्भिणी प्रश्न, मान्छे या गाई वस्तु हराएर फर्किने नफर्किने आदिको वारेमा विचार गरिन्छ । यससंग सम्वधित प्रमुख ग्रन्थ प्रश्नमार्ग हो ।
५. विभिन्न ज्योतिष ग्रन्थमा यसलाई शकुन ज्योतिष भनेर पनि चिनिन्छ । यस अन्तर्गत विभिन्न लक्षणद्वारा शुभ अशुभ फलको वर्णन गरिएको छ । जस्तै – कौवा कराउनु, माउसुली खस्नु, विभिन्न जनावरले संकेत दिनु आदि ।
यसरी ज्योतिष शास्त्रको विभिन्न विभाजन गरिएतापनि सवै विभागमा पूर्ण फलादेशको लागि राशि, ग्रह र द्वादश भाव आदिको स्थान विशिष्ट रहेको छ । एवं लग्न, त्रिकोण, मूलत्रिकोण, त्रिक, त्रिषडाय, आपोक्लिम, फणफर आदि विभिन्न नामले द्वादश भावहरूको विभाजन गरी फलादेश गरिन्छ । ज्योतिषशास्त्रमा मेष, बृष, मिथुन, कर्कट, सिंह, कन्या, तुला, वृश्चिक, धनु, मकर, कुम्भ मीन गरी १२ वटा राशिहरु चन्द्रमाको हिसावमा निक्र्योल गरी जातको व्यक्तिगत भवष्यिको साथ साथै गोचरद्वारा विविध मुहूर्तको निर्धारण समेत गरिन्छ । वैदिक ज्योतिषमा सूर्य, चन्द्रमा, मंगल, राहु, वृहस्पति, शनि, बुध, केतु, शुक्र गरी ९ वटा ग्रहलाई लिएर फलादेश गरिन्छ । जसमा राहु र केतुलाई छाया ग्रहको कोटीमा राखिएको छ । फलादेशको क्रममा ग्रहको कारकत्व, ग्रह स्वभाव, डिग्रीको हिसाबमा ग्रहको अवस्था, ग्रहको दृष्टि, उच्च, नीच आदिको बला–बल, कफ, वात, पित्तको हिसाबमा ग्रहले दिने रोग, ग्रहको महादशा, अन्तर दशा, प्रत्यन्तर दशा, उपदशा, विदशा र वक्री, मार्गी ग्रह आदिको आधारमा सावधान भई जातकको फलादेश गरिन्छ । ज्योतिष शास्त्रमा भावपरक र ग्रहपरक गरी २ किसिमका फलादेश शैली पाइन्छ तर पनि ज्योतिष मर्मज्ञद्वारा उभय शैलीलाई नै अपनाएर फलादेश गर्द सटीक हुने विश्वास राखिएको छ । कुण्डलीको द्वादशभाव या घर नै फलादेशको प्रारम्भिक गति, कुण्डली योग, द्वादशभाव द्वारा निम्न लिखित विचारहरू गरिन्छ ।
प्रथम भावः यसलाई लग्नभाव र तनु भाव भनेर चिनिन्छ । मनुष्यको प्रथम घटना पृथ्वीमा जन्म लिनु हो, त्यसैले यस भावलाई जन्मभाव पनि भनिन्छ । यस भावबाट जन्म समय, शरीर, रूप, सारीरिक बनावट, जन्म स्थान, आत्मबल, यश, आयु आदिको विचार गरिन्छ ।
द्वितीय भावः मनुष्यको जन्म पश्चात् जीवन यापनको लागि धनको आवस्यकता अनिवार्य छ । त्यसैले द्वितीय भावबाट धन, खाद्यपदार्थ, बोली, कुटुम्ब, सत्यता, मुख र दायाँ आँखा तथा पराशरको मतमा मृत्यु, शत्रु, धातु, रत्न आदिको बिचार गरिन्छ ।
तृतीय भावः धन प्राप्तिको लागि परिश्रम गर्नु आवश्यक छ । त्यसैले तृतीय भावबाट मेहनत, पराक्रम, बल, दाजुभाइ, कण्ठ (घाँटी) भोक, आभूषण मातापिताको मरण, उपदेश आदिको विचार गरिन्छ ।
चतुर्थ भावः शारीरिक परिश्रम र धनदौलत तब सार्थक हुन्छ जब मनमा परिश्रम गर्ने र धन आर्जन गर्ने इच्छा जाग्दछ । त्यसैले चतुर्थ भावबाट इच्छा, यात्रा, परिवार हृदय, मन, आमा, सुख, बाहन, घर, साथीभाइ जग्गाजमीन सुन्दर बगंैचा, खजाना आदिको विचार गरिन्छ ।
पञ्चम भावः मनुष्यले जीवनमा सबै चीजलाई हासिल गर्न वुद्धिको आवश्यकता पर्दछ त्यसैले पञ्चम भावबाट वुद्धि, विवेक, पढाइ, सन्तान, पेट, भक्ति, गुप्तमन्त्र, तन्त्र, जादु टुना, इष्टदेव, ऐश्वर्य आदिको विचार गरिन्छ ।
षष्ठ भावः मनुष्यद्वारा जीवनमा आइपर्ने बाधा व्यवधान आदिको सामना गर्नु पर्ने अनिर्वाय छ । त्यसैले षष्ठ भावबाट शत्रु, रोग, चोटपटक, मामा, पशु चौपाया, सगोत्री, तल्लोपेट, मुद्वामामिला आदिको विचार गरिन्छ ।
सप्तम भाव ः मनुष्यको जीवनमा सहजताको लागि जीवन साथिको आवश्यकता देखिन्छ, त्यसैले सप्तमभावबाट –विवाह, प्रेमजीवन, भोगविलास, यात्रा, पद, प्रतिष्ठा नाभि, मरण, वाणिज्य, कलाकारिता आदिको वारेमा विचार गरिन्छ ।
अष्टमभावः जीवनको हरेक पाटोलाई भोग्न मनुष्यको आयु राम्रो हुनु अनिवार्य छ । त्यसैले अष्टम भावबाट – आयु, मृत्यु, गुप्ताङ्ग, चोटपटक, दीर्धरोग, पूर्वजन्म आदिको वारेमा विचार गरिन्छ ।
नवम भावः नवम भावबाट आफ्नो जीवनमा आइपरेका समस्यालाई धर्मकर्मद्वारा निराकरण गरिन्छ । त्यसैले नवम भावबाट धर्म, कर्म, दान, पुण्य, भाग्य तीर्थ यात्रा, सालो, भाउजु जंघा आदिको विचार गरिन्छ ।
दशमभाव ः दशम भाव कर्म अर्थात् जागीर व्यवसाय विन दैनिक जीवन यापन गर्न कठिन हुने भएकाले दशमभावबाट जागीर, व्यवसाय, मान सम्मान, पदोन्नति, सरकारी कामकाज, तिघ्रा, पिता, ऋण, आदिको विषयमा विचार गरिन्छ ।
एकादश भाव ः एकदश भाव प्राप्तिको भाव भएको तथा यस भावबाट आम्दानी, उपहार आदिको प्राप्ति, प्रेम प्राप्ति, गोलीगाँठो, यात्रा, पशुचौपाया आदिको विचार गरिन्छ ।
द्वादशभावः यस भावबाट खर्च सासुससुरा, मानसिक चिन्ता, विदेशयात्रा, मोक्ष, बायाँ आखाँ, पैतला, मृत्यु, आदिको वारेमा विचार गरिन्छ ।
ज्योतिष ज्यादै बृहत् भएको र यससंग सम्बन्धित ग्रन्थहरूको संख्या हजारौं भएको हुनाले सूक्ष्मतम विषयलाई पनि ध्यान दिई व्यक्तिको फलादेश गर्नु आवश्यक देखिन्छ । ज्योतिष शास्त्र लोककल्याणको लागि धेरै महर्षि द्वारा प्रबल तप र यत्नबाट अनुसन्धान गरी वनाईएको हुनाले हामीहरूले पनि कुनै पनि व्यक्तिको जीवन सरल र सहज होस् भन्ने ध्येयले फलादेश गर्नु जरुरी छ । वर्तमान समयमा शनि, राहु र केतुको नाम लिई समाजमा डरको खेतिगरी लुट्ने प्रवृत्तिको चर्चा बढेको छ । जसले गर्दा ज्योतिष जस्तो प्रत्यक्ष शास्त्रलाई शंकाको दृष्टिले हेरिन थालिएको छ । यस्तो अवस्थामा ज्योतिष मर्मज्ञहरू तथा सेवाग्रहीहरू पनि यस विकृतिलाई हटाउन सचेत हुनु जरुरी देखिन्छ ।
लेखक हाेराज्याेतिष तथा वास्तु प्रा.लि. कासंचालक हुनुहुन्छ ।