माईधार झापामा जगदगुरु योगिराज आश्रम तथा द्रविड स्थापत्य शैलिको मन्दिर निर्माणकार्य सुरु

337

सरस्वती प्रज्ञा  /  झापाको शिवशताक्षी ९ माईधारमा द्रविड स्थापत्य शैलिको मन्दिर निर्माणकार्य सुरु भएको छ । २०२८ सालमा स्थापित भएको नेपालदेशीय प्रथम जगद्गुरु योगिराज स्वामी श्रीकमलनयनाचार्य आश्रम तथा लक्ष्मीनारायण मन्दिरको शिखर शैलिको पुरानाे मन्दिर जीर्ण बनेपछि आश्रम सम्बद्ध शिष्यहरुको सकृयता र मन्दिरका आचार्यहरुको निर्देशनमा द्रविड शैलीको मन्दिर निर्माणकार्य भईरहेको निर्माणकार्यका ब्यवस्थापक मोहन प्रसाद रिजालले जानकारी गराउनु भयो ।
नेपाल भारत भूटान म्यानमार जस्ता देशहरुमा श्रीबैष्णव सम्प्रदायको प्रवद्र्धन गरेर लाखौ मानवलाई धर्मपथको सुप्रसिद्ध र सरल बाटो शरणगतीपथमा अनुबन्ध गराउने जगद्गुरु योगिराज स्वामी श्रीकमलनयनाचार्यका सदिच्छाले झापाको माईधार नेपाली श्रीबैष्णवहरुको केन्द्र बनेको हो । श्रीसम्प्रदायका अनेक पीठहरुमध्ये द्रविडक्षेत्रको कान्ची प्रतिबादी भयंकर पीठसंग आचार्य परम्परा जोडिएको मन्दिर र मन्दिरक्षेत्रमा २०२८ सालदेखि नै निरन्तर रुपमा श्रीअनन्तादर्श संस्कृत वेद विद्यालय , गोविन्द गोपाल गौशाला , बैष्णवालय ( बृद्धाश्रम ) समेत संचालनरत छन । आश्रम स्थापनाकालदेखि ५० औ बर्षमा प्रवेश गर्दा सम्म गुरुकुलमा धरै ब्राह्मण विद्यार्थीहरुले अध्ययन गरेर बेद र बैदिक विज्ञानको प्रसार अध्यापन र प्रयोग गरी देश समाजको उन्नती र संस्कृति संरक्षणमा चेतनाप्रवाह गरिरहेको कुरा गुरुकुलका बर्तमान अध्यक्ष तथा संस्थाको आचार्य परमपराका उत्तराधिकारी स्वामी श्री भागवताचार्यले जानकारी गराउनु भयो ।
श्रीबैष्णव सम्प्रदायमा आचार्य (दीक्षागुरु)को अति ठूलो स्थान र सम्मान रहने गरेको छ । आचार्यको आज्ञा र उपदेश नै दीक्षितको परम कर्तब्य रहने भएकाले अनि सर्वप्रथम आचार्य सेवा गर्नै पर्ने भएका कारण यस आश्रम परिसरमा आश्रमका संस्थापक अनन्त श्रीविभूषित नेपालदेशीय आद्य जगद्गुरु योगिराज स्वामी श्रीकमलनयनाचार्यको मन्दिर निर्माण गरि आचार्यश्रीको दिव्य विग्रह समेत स्थापना गरिएको छ । आचार्य मन्दिरभन्दा दक्षिणमा रहेको श्रीलक्ष्मीनारायण भगवानको सेवा आराधना संगै आचार्यको सेवा आराधना पनि नियमित हुने गरेको कुरा संस्थाका बर्तमान अध्यक्ष अनन्तश्री विभूषित स्वामी गोविन्दाचार्यले जानकारी गराउनु भयो ।
गौसेवा परमात्माको सेवा भएका कारण आश्रम स्थापनाकालदेखि नै यस आश्रमको गौशालामा सेवा गरिएका गौ र गव्यबाट भगवान भक्त विद्यार्थी र आश्रमका बृद्धहरु लाभान्वित भईरहेका छन । गौशालामा रहेका गाई र गोवंशको गोवरले आश्रमको खेत उर्वरा बनेको छ भनें गो सेवारुपी पुण्य आर्जन पनि भईरहेको कुरा संस्थाका सचिव श्री कमल निरौलाले जानकारी गराउनु भयो ।
परिवारबाट विरक्तिएका वा जीवनको उत्तरार्ध शान्तिपूर्ण रुपमा विताउदै निस्पृह भई जीवन उत्सर्ग गर्न चाहनेहरुका लागि आश्रमका बर्तमान अध्यक्ष स्वामी श्रीगोविन्दाचार्यको सक्रियतामा सुविधासम्पन्न बैष्णवालय ( बृद्धाश्रम) निर्माण भईरहेको कुरा  मूल पुजारी श्री दामोदर सुवेदीले जानकारी गराउनु भयो ।
यसरी सर्ब सुविधासम्पन्न सुगम र प्राकृतिक मनोहर छटाले भरिपूर्ण स्थानमा रहेको आश्रममा विशेष प्रकारको मन्दिर निर्माण गरि भौतिक र आत्मिकि दुवै सुख र आनन्द प्रदान गर्न प्राचीन वास्तुशिल्प अनुसारको द्रविडवास्तुशिल्पको श्रीलक्ष्मीनारायण दिव्यदेश मन्दिर निर्माणकार्य अघि बढिरहेको कुरा मन्दिर निर्माण समितिका सचिव श्री हरि मिम्सिनाले जानकारी गराउनु भयो ।
के हो द्रविड शैलि ।
देवालय स्थापत्य सिद्धान्त अनुसार भारतवर्षमा प्रसिद्ध शैलिहरुमध्येको स्थापत्यशैली हो द्रविडशैली । यस द्रविडवास्तुमा पंचतत्वको वैज्ञानिक व्यवस्थापन दिशा विदिशाको उचित प्रयोग गोपुरको (गेट) विशिष्ट निर्माणशैली शास्त्रनिर्देशन अनुसार मूल मूर्तीसंग सम्बन्ध राख्ने अन्य देवमूर्तीहरुको स्थापना पूर्वाचार्यहरुको पीठ तुलसी बगैचा र जलकुण्ड निर्माणको विशेष बिधि रहन्छन । द्रविड शैलिका मन्दिरहरुमा आगमतन्त्र अनुसार पूजा उपासना गरिन्छ र वैष्णव मन्दिरमा वैष्णव आगम ( पाञ्चरात्रागम ) विधि अनुसार पूजा हुन्छ । शास्त्रमा बताएको बैकुण्ठको वास्तविक प्रकृकृतिको निर्माण द्रविड शैलिका मन्दिरमा गरिएको हुन्छ । मृत्युपछि जीवको (आत्मा) बैकुण्ठवास र जीवित अवस्थामा बैकुण्ठसमान क्षेत्रको दर्शन अनि वासले नै ब्यक्ति आनन्दित हुन्छ । शास्त्र सिद्धान्त अनुसार जहा“ द्रविड वास्तु नियम आधारित वैकुण्ठसमान विष्णु मन्दिर छ त्यस आसपासको क्षेत्रलाई दिव्यक्षेत्र वा दिव्यदेश भनिन्छ । दिव्यदेशमा स्वयंप्रकट भगवान वा जलाधार हुनुपर्ने नियम पनि छ यस क्षेत्रमा स्वयंप्रकट कनकाईनदीले भगवान नारायणको सेवा गरिरहेकी छन यसकारण यो कनकाई शताक्षीक्षेत्र दिव्यक्षेत्र वा दिव्यदेश भएको कुरा जगद्गुरु योगिराज स्वामी श्रीकमलनयनाचार्यका प्रमुख शिष्य तथा आश्रमका महन्त अनन्त विभूषित स्वामी श्रीकेशवाचार्यले वताउनु भयो ।

सरस्वती प्रज्ञा समाजसेवा र अध्यात्म पत्रकारिताम सकृय हुनुहुन्छ ।