ज्योतिष विद्या महत्व र उपयोगिता

451

 


सन्तोष पोख्रेल सिन्धुशास्त्री

ज्योतिषले धर्मको बाटो देखाउछ , धर्मको बाटोमा हिडाउनु र मनको दुस्प्रबृत्ति नियन्त्रण गर्न निर्देशन दिनु ज्योतिष शास्त्रको मूल उद्देश्य हो । ज्योतिषीले ग्रह हेरेर शास्त्र अनुसार उचित मार्गनिर्देशन गर्नु पर्दछ । व्यक्तिको मनोभाव बुझेर चातुर्यता प्रकट गरि भ्रम सिर्जना गर्नु उचित हुदैन । आज भोलि औपचारिक अध्ययन नभएका र आफूलाई आफै ज्योतिषी हु म मा अलौकिक क्षमता छ भन्ने भ्रममा रहेका मानिसहरु ज्योतिषी भएका पाईन्छन । आफै दिग्भ्रमितहरुले अरुलाई दिशानिर्देश गर्न सक्दैनन यसकारण सर्वसाधारणले ज्योतिषी पहिचान गर्दा धेरै नै बिचार पुर्याउनु पर्दछ ।
ज्योतिष शास्त्रलाई विज्ञान भनिन्छ र यो शास्त्र यसकारण विज्ञान हो यो विद्याले प्रतिपादन गरेका सबै कुराहरुमा तर्कगर्न र प्रमाणित गर्न सक्दछ । आफ्नो कुरा तर्कबाट स्थापित गर्न सकेमात्र मान्य हुन्छ भन्ने आधुनिक बिज्ञानवादीको मत रहेको छ । तर कतिपया कुराहरु परोक्ष र आस्था निष्ठा र विश्वाससंग सम्बन्धित पनि हुन्छन । ज्योतिष विज्ञान आस्था निष्ठा र विश्वासको शास्त्र पनि हो । यसका प्राविधिक र भौतिक पक्षहरु तर्कबाट स्थापित गर्न सकिएपनि परोक्ष र अदृष्ट पक्षहरु विश्वास निर्देशित छन । जीवनकालमा आईपर्ने घटना परिघटनासंग ग्रहको सम्बनध हुन्छ र हाम्रो शरिर मन र चेतनालाई आकाशीय ग्रहपिण्डहरुले नियन्त्रण र नियमन गरेका हुन्छन । वेदान्त दर्शनले हाम्रो शरिरलाई खगोलको समष्टि मान्दछ । शरिरान्तर्वर्ति दश ईन्द्रिय सबै ग्रहका नियन्त्रणमा हुन्छन र ग्रहहरुको हलचलमा शरिर मन चिन्तनमा प्रभाव पर्दछ । गर्भाधान वा जन्मका समयमा शरिरमा ग्रहहरुबाट ईन्द्रियचैतन्य प्रवाह हुन्छ र प्रवाहित चैतन्यले कर्मका कारणले सुख दुख आदि प्राप्त गर्दछ । यसैलाई शास्त्रमा कर्मविपाक भनिन्छ । मानिसले पाउने सुख दुखको कारण उसको पूर्वजन्मको फल हो । पूर्वजन्मको फल भोग्नै पर्छ । कर्मक्षय नभई मृत्यु हुदैन । मृत्यु पछि मोक्ष प्राप्त गर्न स्पृहारहित हुनुपर्छ र स्पृहारहित हुनका लागि प्रबृत्ति त्याग गर्नु पर्दछ । सरल भाषमा भन्नु पर्दा प्रबृत्ति भनेको आदत हो । चेतनाको त्यो आदत जुन अनेक जन्मदेखि आएको छ । त्यही आदतलाई पबिर्तन गर्नु नै ग्रहशान्ति हो । ग्रहशान्ति भनेको उपचार हो । सर्बप्रथम आत्मनियन्त्रण हुनु आवश्यक छ । दुष्प्रबृत्तिबाट छुटकारा पाएर ग्रहशान्ति गर्ने माध्यमहरु धेरै छन । ग्रहको मन्त्रजप , ग्रहका ईष्टदेवताहरुको उपासना , ग्रहका दान पदार्थहरुको दान र उत्सर्ग , हवनबाट ग्रहको प्रशन्नता । रत्न धारण जस्ता कर्म ग्रहशान्तिका प्रारम्भीक आधारहरु हुन । समग्रमा भननु पर्दा ग्रहशन्ति भनेको मानवले आफू र आफ्ना प्रबृत्तिबिरुद्ध गर्ने बिद्रोह हो ।
व्यक्तिको प्रबृत्ति के र कस्तो छ, यस किसिमको कर्म भाग्य र सुख दुख प्राप्त गर्ने कारण के हो भन्ने कुराको शूक्ष्म अध्ययन । साधना अनुभव र मान्य शास्त्रको अध्ययनबाट पारंगत ज्योतिषीलेमात्र जानेको हुन्छ । यसकारण ज्योतिष साधनाको विषय हो । अणुको अध्ययनबाट महतको ज्ञान र प्राप्तिको उपायसंगै जीवन जिउने कला सिकाउने विज्ञान हो ज्योतिष विज्ञान यसर्थ यो विज्ञानको व्याख्या उपदेश लामु साधना त्याग र विश्वासलेमात्र गर्न सकिन्छ ।
मानिसको मनोभाव चन्चल हुन्छ । उ चमत्कार चाहन्छ र कसैका मीठा बचन सुनेर मन शान्त पार्न पनि चाहन्छ । आजभोली आफूलाइृ ज्योतिषी भन्नेहरुले सर्बसाधारणको यही मनोभावनालाई बुझेर चमत्कारिक परिवर्तन र दुखनिबृत्तिको भरोसा दिलाएर यो वेदान्तप्रतिको श्रद्धादोहन गरिरहेका छन । ज्योतिषीहरुले यस्ता पापकर्महरु गर्नु हुदैन । ईश्वरद्वारा मानव कल्याणका लागि निर्माण गरेको वेदको यो दिव्य विद्याको सदुपयोग र उचित प्रयोग गर्नु आवश्यक छ ।