श्रावणमा नवविवाहिताले गर्नैपर्ने मंगलागौरीब्रत

270

 

 

                                                                                                                                                                                                                     सरस्वती प्रज्ञा

श्रावण महिना शिवपूजाको महिना हो । श्रावणमा शिवपूजासंगै लघुरुद्री महारुद्री अतिरुद्री जस्ता विशुद्ध बैदिक कर्महरु सम्पादन गर्न सकिन्छ । शिव प्रशन्नताका लागि श्रावणका सोमबार अति महत्वपूर्ण दिनहरु मानिन्छन । शिव कल्याणकारी तत्व भएकाले शिव पूजनगरेर कल्याण प्राप्ति गर्न सकिन्छ भनें श्रावणका मंगलवार  चाहि मंगलागौरीको पूजा गर्नु पर्दछ । विशेष गरेर नव विवाहिता स्त्रीले यो ब्रत गर्ने नियम छ । यो ब्रत गौरी अर्थात पार्वतीको व्रत हो । विवाह भएको वर्ष वर्षदेखि लगातार पॉच वर्षसम्म गरिने यो ब्रतले नारीमा सौभाग्य र सन्तानलाई सुख प्राप्त हुन्छ भन्नेकुरा शास्त्रमा उल्लेख गरिएको छ । यो व्रत नवविवाहिताले पहिलो वर्ष माताको घरमा ( माईतमा ) गर्नु पर्ने नियम छ । विवाहको दोस्रो वर्षदेखि भनेंआफ्नै घरमा गर्नुपर्ने उल्लेख छ । “प्रथमे वत्सरे मातुर्गेहे कर्तव्यमेव च । ततो भर्तुगृहेकार्यमवश्यं स्त्रीभिरादरात” ।

यो व्रत गर्नेले सोमवार विहानै उठेर नित्यकर्म सकेपछि शुद्ध कपडा लगाउनु पर्छ । सिउदोमा सिन्दुर चन्दनको टीका लगाएर पूर्व वा उत्तर दिशापट्टि फर्किएर पवित्र आसनमा बसी हातमा तील कुश र पानी लिएर यस प्रकारले संकल्प गर्नु पर्दछ । संकल्प ः— मम पुत्रपौत्रसौभाग्यवृद्धये मंगलागौरीप्रीत्यर्थं पञ्चवर्षपर्यन्तं मंगलागौरीव्रतमहं करिष्ये । यसो भन्दै हातमा रहेको पानीलाई शुद्ध भुईमा छोडिदिनु पर्दछ । यसपछि राम्रो काठको पिरा वा सिंहसनमा म◊लागौरीको मूर्ती अथवा फोटो राखेर प्राण प्रतिष्ठा गर्नु पर्दछ । प्रतिष्ठित मूतीका अगाडि १६वटा मुख भएको दीयो वनाएर १६ वटै बाती घिउमा भिजाई बाल्नु पर्दछ । दीयो बालिसकेपछि गणेश कलश र नवग्रहको विधिपूर्वक पूजा गरेर श्रीमंगलागौर्यै नमः यस मन्त्रले मंगलागौरी देवीलाई १६ प्रकारका फूल माला १६ प्रकारका रुखका पत्ता १६ प्रकारका अन्न १६ वटा पान १६ वटा सुपारी अलैची धनिया चढाएर यो मन्त्र जप्दै प्रार्थना गर्नु पर्दछ । प्रार्थना गर्ने मन्त्र कुंकुमागुरुलिप्तागां सर्वाभरणभूषिताम् ।
नीलकण्ठप्रियां गौरीं वन्देहंमंगलाह्वयाम् ।।

यो मन्त्रले प्रार्थना गरिसकेर मंगला लागौरीलाई तामाको थालीमा पानी चन्दन अक्षता फ दक्षिणा नरिवल राखेर “पूजा सम्पूर्णतार्थं तु गन्धपुष्पाक्षतैसह । विशेषार्घ्यं मया दत्तो मम सौभाग्य हेतवे ” भन्दै विशेष अर्घ्य चढाउनु पर्दछ । यसरी पूजा गरि सकेपछि सांझमा आरती गरेर १६वटा लड्डु वा कुनै पनि प्रसाद दान गर्नु पर्दछ । विवाह गरेको वर्षदेखि लगातार पॉचवर्षसम्म यो व्रत श्रावण महिनाका प्रत्येक मंगलवार गर्ने नियम छ । पहिलो वर्ष भनें यो व्रत माईतमा नै गर्नु पर्ने शास्त्रमा उल्लेख गरिएको छ , यस व्रतले स्त्रीलाई सुख शान्ति र सौभाग्य प्राप्त हुन्छ ।