नागपूजाको महत्व र पूजाविधि

298

 

 

सरस्वती प्रज्ञा

                     श्रावण शुक्लपक्ष पंचमी तिथिलाई नागपंचमी भनिन्छ । यस दिनमा नागमाता मनसा सहित अनन्त बासुकी पद्म महापद्म तक्षक कुलीर कर्कोटक शंख नामका आठ नागहरुको पूजा गर्ने र घरका दैलामा ब्राह्मणहरुले नागको फोटो टॉसेर अथवा गाईको गोवरले नागको चित्र बनाएर पूजा गर्ने नियम परम्परा छ । नाग पूजा गर्ने चलन नेपालमा मात्र नभई भारतका विभिन्न स्थानहरुमा पनि रहेको पाईन्छ ।यसरी नागको पूजा गर्दा घरमा दुर्भिक्ष नहुने आगो चट्याङ आदिको डर नहुने साथै सानातिना विषालु किराहरुको पनि डर नहुने विश्वास गरिन्छ । विश्वमा सवै ठॉउमा विभिन्न प्रजातिका नागहरु पाईन्छन , प्रकृति मानव र नागबीचको सम्बन्ध वास्तवमा अति पुरानु रहेको ईतिहासले देखाउछ । आदिमकालमा मानिस वनजंजल र सामान्य वासस्थानमा पशुपक्षि कीट पतंग र सरिसृपहरु विचरण गर्ने स्थानमा नै मानिस पनि रहने गर्दथ्यो , यस्तो अवस्थामा नागप्रति नम्र हुनु पर्ने नै भयो यसकारण पनि मानिसले नागको पूजा गर्ने गरेको हुनसक्छ भनेर केही समाजशास्त्रीहरुले भन्ने गरेको भए पनि नागपूजाको परम्परा र आस्था पौराणिककालदेखि नै चलिआएको बुझ्न सकिन्छ । वेदमा पृथ्वी आकास र अन्तरीक्षमा रहेका सर्पहरुको स्तुति गरिएका ऋचाहरु पाईन्छन भनें पुराणहरुमा पनि अनेकौ नाग र नागका कुलहरुको प्रार्थना पूजा गरेका प्रसंगहरु पाईन्छन ।
पुराणहरुमा नागलोकका विषयमा पनि वर्णन गरेको पाईन्छ । नागलोकको राजधानी भोगवतीपुरी हो भन्ने कुरा अग्निपुराणमा उल्लेख गरिएको छ ।बैदिक पौराणिककालमा कुनै पनि ब्यक्ति वा स्थानको नाम त्यसको विशेषता अनुसार राखिन्थ्यो यसकारण नागदेवताको राजधानी भोगवतीपुरीमा भोगविलास र सुख हुन्थ्यो भन्ने बुझ्न सकिन्छ ।
नागसंग मानिस र प्रकृतिको अनन्य सम्बन्ध रहेकाले पनि नागलाई पूजा गर्ने गरिन्छ । नाग पंचमीका दिन विभिन्न ग्रहहरुको दोष शान्ति गर्न पनि नागपूजा गर्ने प्रचलन छ । ग्रहहरुका अधिष्ठाता र उनीहरुको दोष निदान गर्ने पनि शिवजी नै भएकाले अनि ग्रहदोषहर्ता शिवका गलामामात्र शान्त र नियन्त्रित रहने नाग सधै शिवजीको स्तुतीमा रहन्छ । यसर्थ श्रावणमा शिवपूजा गर्नु भन्दा पहिले नागको पूजा गर्ने नियम छ । पछिल्लो समय ज्योतिषीहरुले नागदोष निदान गर्नका लागि पनि नागपंचमीका दिन नागपूजा गर्ने गरेको पाईन्छ । नागलाई मार्यो भनें ठूलो अनिष्ट हुन्छ भन्ने जनश्रुति र शास्त्रबचन पनि रहेकाले समाजमा नागलाई विशेष किसिमले हेर्ने परम्परा छ ।
कसरी गर्ने नागपूजा
विशेष गरेर सवै देवता अतिथि र मान्यहरुको पूजा पॉच दस वा सोह्र प्रकारका विशेष पदार्थहरुको श्रद्धापूर्वक समर्पण गरेर गरिन्छ ।नागको पूजा पनि शास्त्रोक्त विधिबाट गुरु पुरोहितको निर्देशनमा गरिन्छ भनें घरमा ब्राह्मणले मूल ढोकामथि प्राण प्रतिष्ठा गरेका नागलाई स्थापित गरे पछि दुध अक्षता धूप समर्पण गर्नु पर्दछ । कतै कतै घरदेखि टाढा जंगल अथवा निर्जन स्थानमा नागका लागि दुध दक्षिणा राखिदिने नियम पनि छ । वास्तु शास्त्र अनुसार घरमा नागको मूर्ती वा फोटो राख्दा मानिस घर पस्दा वा निस्कदा उसको अवचेतन मन संभावित आपदाप्रति सचेष्ट हुने गर्दछ । किन भने विषालु र चंचल सर्प र सर्प प्रबृत्तिका दुर्जनबाट बचिरहनका लागि नित्य सर्पदर्शन सहयोगी बन्दछ । साथै घरको ढोकामा रहेको सर्पको चित्र हेरेर पस्दा र निस्कदा सानु त्रुटीले पनि ज्यान जानसक्छ भन्ने कुरामा हामी सचेष्ट हुन सक्छौ । यसकारण भौतिक बैज्ञानिक मनोवैज्ञानिक र आध्यात्मिक रुपले पनि नागपूजा ब्यवहारिक छ ।