करक चतुर्थी : नवदम्पतिको नवप्रणय पर्व

264

सरस्वती प्रज्ञा

सनातन संस्कृतिमा प्रत्येक दिन कुनै न कुनै प्रकारका ब्रत पर्व र उत्सवहरु हुने गर्दछन । ईश्वरको उपासना गरेर परिवारमा खुशी सुख शान्ति र समृद्धि प्राप्त हुने मान्यता सनातन धर्मानुयायीहरुको निष्ठा हो । यस्तै निष्ठाका पर्वहरुमध्ये वामनपुराण अनुसार कार्तिक कृष्ण चतुर्थी तिथिमा पर्ने स्त्री द्वारा शिव पार्वती गणेश कुमार र चन्द्रमाको पूजा गरेर सम्पन्न गर्ने व्रतलाई करकचतुर्थी व्रत भनिन्छ । चिनी पगालेर कांचो माटोको ढलोटमा बनाईएको करुवा र चिनिबाटै निर्माण गरिएका लड्डु शिव पार्वती कुमार र गणेशलाई चढाएर विवाहिता स्त्रीले विवाहको पहिलो वर्ष आफ्ना सासु ससुरालाई प्रसादका रुपमा दिने गर्दछन । परिवारिक सम्बन्धमा मीठासको प्रतीकका रुपमा चिनिकै लोटामा चिनिबाटै बनेको प्रसाद समर्पण गरिने विशेष नियम छ ।
ब्रतको नियम
ब्रत बस्ने स्त्रीले बिहान नुहाएर शुद्ध आसनमा बसी हातमा तील कुश र पानी राखेर “ मम सुख सौभाग्यपुत्रपौत्रादिसुस्थिरश्रीप्राप्तये करक चतुर्थीव्रतमहं करिष्ये ” भनेर संकल्प गर्नु पर्दछ । यसपछि कालो माटाको चारकुने बेदी निर्माण गरेर बेदीमा पीपलको रुखको चित्र अंकित गरि चित्रको फेदमा शिव पार्वती गणेश कुमार स्थापना गरेर “नमः शिवायै शर्वाण्यैसौभाग्यं संततिं शुभाम् । प्रयच्छ भक्तियुक्तानां नारीणां हरबल्लभे ।।” भन्ने मन्त्रले पार्वतीको पूजा गर्नु पर्दछ । यस्तै नमः शिवाय यो मन्त्रले शिवजी र षण्मुखाय नमः यो मन्त्रले कार्तिकेय आदिकाृे पूजा गरेर चिनिकाट बनेको करुवा र दक्षिणा ब्राह्मणलाई दान थर्नु पर्दछ ।
दिनभरी निराहार ब्रत बसेर सांझमा चन्द्र उदय भएपछि चन्द्रमालाई अघ्र्य प्रदान गरेर पतिका हातबाट जल अन्न ग्रहण गर्ने शास्त्रीय परम्परा रहिआएको छ । करक र चतुर्थी यी दुई शब्दबाट बनेको यो पर्व करक अर्थात करुवा ( चिनिलाई पगालेर बनाईएको करुवा ) र चतुर्थी अर्थात कृष्णपक्षको चतुर्थी तिथि भन्ने बुझिन्छ । चन्द्रमा मन, एकाग्रता र प्रेम प्रकट गर्ने ग्रह हुन ब्रह्माण्ड विज्ञान अनुसार चन्द्रमाबाट अनुभवगम्य र अदृष्ट दुई प्रकारका किरणहरु निस्कन्छन । सूर्यबाट अति तातो किरण ग्रहण गरेर चन्द्रमाले शितल र मन स्पन्दनलाई प्रभाव पार्ने रश्मीहरु प्रवाह गर्दछन । ज्योतिष विज्ञानमा चन्द्रमालाई प्रेमको ग्रह पनि भनिन्छ । चन्द्रमाले मानव मन मस्तिष्क र वनस्पतिको स्पन्दनमा विशेष प्रभाव पार्दछ । र चन्द्रमाको औषधीय गुण विशेष गरेर उखु पलास कॉक्रा जस्ता बनस्पतिमा पर्ने भएका कारण उखुको रसबाट निर्मित चिनिको प्रसाद करुवा जस्ता चिजहरु भगवानलाई समर्पण गरिएको हो । यो पर्वले नव विवाहिता स्त्री पुरुषमा नवप्रणय निवेदन , अपार प्रेम समर्पण र उत्सर्गको चेतना साक्षत्कार गराउदछ । स्त्रीहरु सुन्दर श्रृंगारमा सजिएर पूर्णतातर्फ गमन गर्दै गरेका रजनीशको दर्शन गरेर अखण्ड सौभाग्य प्राप्तिका लागि प्रार्थना गर्दे सर्बदा पतिको अनुकूल रहन प्रार्थना गरेर यो व्रतप्रति अपार श्रद्धा समर्पण गर्दछन । दाम्पत्य सुख र स्त्रीको अखण्ड सौभाग्य प्राप्तिको यो ब्रतले आधुनिक युगमा दम्पतीबीचको मतभेद समाप्त गर्न अति ठूलो भूमिका निर्वाह गर्न सक्दछ ।