विवाह र यसको महत्व

303

विवाहपंचमी विशेष

चक्रपाणि गौतम
विश्वमा सभ्यता र संस्कृतिको उदयसंगै जब मानवले सामाजिक जीवनको सूत्रपात गर्यो त्यसवेला देखि विवाह प्रणाली प्रारम्भ भयो । जुन राष्ट्रमा यो प्रणाली जति सु संस्कृत रुपले मनाईयो त्यो देश त्यति नै विकशित भो । विवाह परम्परा नहुनु हो भने मानव पशु भन्दा नीच हुने थियो ।न उसकी पत्नी न आमा न दिदी बहिनी । केवल मानव भोग विलासमा लिप्त भएर सर्वत्र बलात्कार र ब्यभिचारमा लिप्त रहने थियो । न सभ्यता न संस्कृति न परिवार न शिक्षा । विज्ञान शून्य मानव । विवाह संस्थाले सन्तानमात्र हैन अनेक प्रकारका पेशा र रोजगार जन्माउछ । विवाह सुब्यवस्थित सामाजिक जीवनको अंगमात्र हैन ईश्वरको सृष्टिविन्यासको निरन्तरता हो । देव पितृ ऋणमोचनको पवित्र कार्य हो विश्व बन्धुत्वको अभ्यास र त्यागपूर्ण जीवन औ मुक्तिको माध्यम हो । माता सीता र भगवान रामको आदर्श विवाह र वैवाहिक जीवन राष्ट्र उन्नतीको आधार हो । यस्तो आदर्श वैवाहिक जीवन जवसम्म अपनाईदैन जीवन नरक बन्दछ ।
वास्तवमा विवाह मानिसका लागि अति आवस्यक संस्कार कर्म हो ।विवाहका समयमा गरिने कर्म कर्तव्यहरु पनि लौकिक र आध्यात्मिक दुवै दृष्टिले अति वैज्ञानिक छन । यसकारण हिन्दु विवाहलाई मानवजीवनका १६ प्रमुख संस्कारहरुमध्ये एक संस्कारका रुपमा लिईएको हो । पाश्चात्य जगतमा विवाहलाई एक संmझौताका रुपमा स्वीकार गरिन्छ परन्तु हिन्दु संस्कारमा यो विवाहलाई जन्मजन्मान्तरको कर्मफलका रुपमा सम्मान गरिएको छ । पाश्चात्य जगतमा वैवाहिक सम्बन्ध टुटनु अमर्यादित कर्म मानिदैन तर सनातन हिन्दु सभ्यता विवाहकर्मलाई मृत्युपर्यन्त अविच्न्नि राख्न निर्देशन गर्दछ । एक पतिब्रता र एकपत्नीब्रत मर्यादालाई जीवनमा अक्षुण्ण राख्नु नै मोक्षको मूल साधन हो भनेर सनातन शास्त्रले दाम्पत्यधर्म निर्वहन गर्न निर्देशन गरेको छ । सामाजिक र मानवीय स्वभाव मूल्यमान्यतालाई आधार मानेर विवाहसंस्थाको परम्परालाई हेर्ने हो भने विवाह आठ प्रकारका हुन्छन । यद्यपि यी आठ प्रकारका विवाहहरुमध्ये ब्रह्म दैव र मानुष विवाह उत्तम मानिन्छन । ब्रह्म विवाहको प्रधान उद्देश्य भनेको विवाह गरेर दाम्पत्य जीवनबाटै ब्रह्मप्राप्ति हो । अर्थात गृहस्थधर्म पालन गर्दै गर्दै मोक्षप्राप्ति ब्रह्म विवाहको मूल उद्देश्य हो ।
ब्रह्म विवाहमा योग्य कन्यालाई पितामाताले योग्य पुरुषसंग बाग्दानपूर्वक कन्यादान गरिन्छ । कन्या पनि योग्यतापूर्व योग्य पति प्राप्तगर्न संयम र तपस्या गरेर बस्दछिन तपस्या गरेर आफू अनुकूल शिवलाई प्रप्त गरेको विवाह ब्रह्म विवाह हो । ब्रह्म विवाहलाई गृहस्थ जीवनमा भौतिक र बौद्धिक दुबै धनको समान मित्रताको आधार पनि मानिन्छ । दैव विवाह योग्य व्यक्ति जो शिक्षादीक्षा प्रदान गर्दछ ,यज्ञयाग आदि समाजलाई आर्थिक लाभ हुने कार्य गर्दछ त्यस्ता पुरुषलाई सहयात्राका लागि सहजता प्रदान गर्ने उद्देश्यले माता पिताले योग्य कन्या प्रदान गर्दछन । तेस्रो विवाह आर्ष विवाह हो र चौथो मानुस विवाह हो जसलाई प्राजापत्य विवाह भनिन्छ । प्राजापत्यको अर्थ प्रजा अर्थात सन्तान उत्पन्न गर्ने विवाहका रुपमा व्याख्यान गरिन्छ । पुत्रार्थे क्रियते भार्या पुत्र पिण्ड प्रयोजकः । पुत्र पुत्री उत्पादन र उनीहरुवाट नित्यतर्पण प्राप्त होस भन्ने मानुस विवाहको उद्देश्य हो ।
विवाहका मूख्य पॉच उद्देश्य रहेका छन । प्रथम उद्देश्य सृष्टिविस्तार का लागि स्त्रीत्व र पुरुषत्वको धारा सम्मीलन हो । प्रकृतिका प्रत्येक अणुमा यी दुई शक्तिहरु विद्यमान छन र शक्तिको सम्मीलनका लापग प्राकृतिक प्रेरणको आवश्यकता पर्दछ । यी दुई शक्ति नै सृष्टिको निरन्तरताको कारण हो । यी स्त्रीत्व शक्ति र पुरुषत्व शक्तिले सृष्टि अनन्तकालसम्म चलिरहन्छ । विवाहको अर्को उद्देश्य मानिसको यौन बासना निबृत्ति हो । प्राकृतिक रुपमा आउने यौन बारना निवारण गरेर विवाहले मानिसलाई एकपत्नीब्रती बनाउने अनुसाशन सिर्जना गर्दछ र यसै अनुसँशित गृहस्थ यौन जीवनले मानिसलाई मोक्ष प्रदान गर्दछ । “क इदं कस्मा अदात् कामः कामाय अदात कामो दाताः कामः प्रतिग्रहीता कामः समुद्रमाविशत , कामेन त्वा प्रतिगृह्णामि कामैतत्ते ।” जस्ता मन्त्रले निर्देशन गरे अनुसार शास्त्रोचित र मानवोचित काम नियन्त्रण नै विवाहको अर्को उद्देश्य हो ।
विवाहको तेस्रो उद्देश्य देव ऋषि र पितृऋणबाट मुक्त हुनु हो ।विवाहको अर्को एकाकी र स्वाथी मानिसलाई सामाजिक बन्धनमा अनुबन्ध गराएर सबैको कल्याण कामना गर्ने ब्यक्ति बनाउनु हो । विवाहको पॉचौ उद्देश्य भनेको अभाव र समपन्नतामा पनि सन्तोष त्याग धैर्य र धर्मप्रति निष्ठाबान रहिरहन सिकाउनु हो जसका माध्यमले मानिस मोक्षमार्गमा जान सक्छ त्यो त्याग र उत्सर्गशिक्षा नै विवाहको आध्यात्मिक श्रेयमार्ग हो ।
यसरी विवाहले मानवलाई सर्वदा धर्ममार्गमा हिडन प्रेरित गरिरहन्छ । विवाह कर्ममा विभिन्न प्रतिज्ञा गरेर पति पत्नीले अत्मीय एकत्व स्थापना गरे पछि कन्यादानका माध्यमले भौतिक एकाकारको नैतिक अधिकार प्राप्त गर्दछ यसकारण विवाह जीवनको एक पवित्र संस्कार हो ।