उपेक्षमा आध्यात्म

207

 


चक्रपाणि गौतम
सामाजिक संजाल फेसबुकको एउटा प्रतिष्ठित पेजमा एकजना विद्वानले स्टाटस राख्नु भो “विवाह गराईदिन ब्राह्मण
जादै नजानु” स्टाटसको आसय थियो विवाह एक अति विशिष्ट संस्कार हो यस संस्कारमा ब्राह्मण पुरोहितले वेदका पवित्र मन्त्र र विभिन्न प्रयोग गरेर बेहुला बेहुलीलाई आत्मिक र भौतिक रुपमा एकाकार बनाईदिनु पर्दछ तर विवाह उत्सवमा हुनुपर्ने संस्कारकर्म र विधिविधान गर्न दिईदैन । अन्य अनुपयोगी कार्यमा समय खर्चेर वास्तव मै गर्नै पर्ने पर्ने अध्यात्मकर्महरु गर्न दिइदैन । हाहा होहो फोटोसेसन अन्य तमासा आदि गरेर स्थापना गरेको जग्गेको (यज्ञस्थल र आवाहित देवताको) पूरा पूरा अपमान गरेको देखिन्छ । जन्ती तेसै पनि ढिला आउने आउनासाथ बाहुनलाई खुसुक्क अलिकति पैसा हालिदिनुपर्छ दुईघण्टा मै सकिदिन्छन जस्ता तुच्छ शब्दहरु पनि विवाहस्थल वरिपरि सुनिन्छन यो सत्य हो । विवाहमा केही विनोद मनोविनोद आदि नेपाली विवाह संस्कृतिको परम्परा हो पनि । कसारमा सुर्खानी राखेर जन्तीलाई खुवाउने , मान्द्रा मुनी तोरी राखेर त्यसमा जन्ती बसाएर चिप्ल्याउने जस्ता रमाईलो गर्ने कुराहरु उहिले पनि थिए । जन्ती तर्फका र घर गाउले आपसमा सिलोक भनेर ज्ञान र रमाईलो दुबैकुरा एकसाथ बढाउने जस्ता कार्यहरु विवाहका रमाईलो पक्षका परम्परा थिए पनि । यस्ता रमाईला कार्यले विवाहमा सामाजिक सौहार्दता बढने र विवाहमा आध्यात्मिक कर्महरु गर्दा पुरोहित र बेहुला बेहुलीलाई जग्गेमा लाग्ने लामु समयमा धर गाउले र जन्ती सबैलाई समय काटन सजिलो हुने गर्दथ्यो । विवाहमा गरिने धार्मिक पक्षका कर्महरु लामा हुने गर्दछन । विविध कर्म कर्तब्यमा अति लामु साय लाग्दछ । अझ जग्गेमा गरिने सबै कर्महरुको कारण र मन्त्रहरुको उल्था समेत गरिदिने हो भने त विवाहपछि दम्पतिको जीवन अति सुखद हुन्छ । यसै कारण विवाह गराउन पुरोहितलाई लामो समय लाग्दछ । जग्गेमा बेहुला बेहुली र उनीहरुका मातापिताकोमात्र मूख्य भूमिका रहने भएका कारण अरु जन्ती घरगाउलेलाई पट्यार नलाग्ने र विवाहकै मौकामा दुबै पक्षका मानिसहरुमा रचनात्मकता सौहार्दता आदि बढने भएकाले हास परिहास राम्रो नै मान्नु पर्दछ । वास्तवमा विवाह हिन्दु संस्कार अनुसार अति पवित्र संस्कार कर्म हो । आधुनिक युगमा पाश्चात्य जगतले व्याख्या गरेजस्तो विवाह संझौता हैन । विवाह त जन्म जन्मान्तरको सम्बन्धको दृढता हो जीवनयापनका लागि दम्पतिको सत्संकल्प हो । एक अर्काप्रतिको समर्पण विश्वास र निष्ठा हो । यो निष्ठा विश्वास समर्पण र आत्मियतालाई विवाह गराउने पुरोहितले मन्त्र र कर्मका माध्यमले सम्झाउने र दृढ बनाउने भूमिका निर्वाह गरेको हुन्छ । विधिपूर्वक विवाहकर्ममा गरिने इतिकर्तव्यतालाई सम्पन्न गरिदिने हो भनें आफ्ना छोराछोरीको सफल दाम्पत्य जीवन सवै आमाबाबुले देख्न पाउदछन । विवाहको उद्देश्य भनेको स्त्री पुरुष एकाकार भएर यौन संसर्गकालागि तयार हुनु हो भन्ने सतही विश्लेषण पनि विवाह र वैवाहिक सम्बन्धको हैन । कुनै पनि स्त्री वा पुरुषले कामोपभोग त अरु नै धर्मविहीन विधिबाट पूरा गर्न सकिहाल्छन । विवाह धर्माचरणपूर्वक कामोपभोग संगै मृत्युपछिको सहज गतिका लागि गरिन्छ ।
मानिसले सुख सुविधा उत्सव र उल्लासका लागि धेरै खर्च गर्दछ र विवाहका लागि जीवनमा आर्जित धनको अधिकांश भाग खर्च गर्ने प्रयास गर्दछ । कोखबाट निकालेर अरुलाई दान गर्ने कन्याको भावी जीवन सुखद रहोस भनेर आमा बाबुले पनि केही उपहार पुरस्कार आदि दिन्छन संस्कार संगै छोरी ज्वाईका लागि प्रदान गरिने यथासक्य उपहारको प्रचलन पनि असामान्य नहुन सक्छ ।


यो आलेखको सुरुमा उठान गरिएको विषय थियो “विवाह गराईदिन ब्राह्मण जादै नजानु ”भन्ने सामाजिक संजालको स्टाटसको । लेखकलाई पनि यो स्टाटसले मन विझाएकै हो । हुन त आजभोली अध्यात्मकर्मका कुनै पनि पक्ष बिकृतिरहित छैनन । पुराणमा , ब्रतबन्ध, न्वारन, पास्नी क्षौरकर्म सबै बिकृत भैसकेकाछन । योग्य र नैष्ठिक ब्राह्मण बिकृतिले गॉजेका कर्महरु गराउन नपरे हुन्थ्यो भन्ने मनसाय राख्दछन । हुन त धार्मिक कार्यहरु देश काल परिस्थिति अनुसार गराउनु पर्ने पनि हुन्छ । सनातन हिन्दु धर्मका संस्कार र नित्य नैमित्तिक कर्महरु परिस्थितिको जटिलतालाई हेरेर विकल्पका साथ गर्न सकिन्छ नै । परन्तु आज भोलि जटिलताहरु पनि कृत्रिम प्रकारका सिर्जना गरिन्छन । सुतक लागेर श्राद्ध रोकियो त्यसकारण सात दिनमै न्वारन गरेर टिका लगाउने निर्णय गरिएकाले सात दिन मै न्वारन गराउन ब्राह्मणलाई निम्ता गरिन्छ । यो कृत्रिम जटिलता हो । एघार दिनमै चोखिने सुत्केरी सातै दिनमा चोखिन्छ भन्नु अशास्त्रीय कुरा हो शास्त्र र अध्यात्मको उपेक्षा हो । यस्तो कामले दशै पनि अपवित्र र नामकारण संस्कार पनि अति अपवित्र हुन्छ । कतिपय समाजमा त श्राद्ध रोकिने भएका कारण सातै दिनमा न्वारन गरेर श्राद्ध गर्ने निर्णय पनि गरिन्छ यो त झन अशास्त्रीय र पितृहरुको अपमान हो । घरमा फेरी प्रशव होला नहोला दशै त अर्को बर्ष आईहल्छ नि भन्ने भावना राख्यो भनें वा सुतक पातक आदिमा सुतक सकिनासाथ श्राद्ध गर्न मिलिहाल्छ नि भन्ने शास्त्रको आज्ञालाई मान्ने हो भनें शास्त्र र श्राद्ध दुबैको सम्मान भैहाल्छ । सारांशमा भन्दा अध्यात्ममा विश्वास राखेर गरिने सबै कर्महरु जटित परिस्थिति बाहेक कृत्रिम जटिलता सिर्जना गरेर शास्त्रको बचन उल्लंघन गर्नु अध्यात्मको उपेक्षा गर्नु हो कर्मबाट च्युत हुनु हो ।

विज्ञ गुरु पुरोहितहरुलाई विधि मिचेर कर्म गराउन मन लाग्दैन नै ।कुनै पनि कर्म गर्ने वा गराउनेबीचको आपसी समझदारीमा गरिनु हुदैन शास्त्र बिधि अनुसार गरिनु पर्छ । कतै कतै कसैकसैका लोकाचार कुलाचार आदि छन भनें तीनिहरुलाई कर्म गराउने पुरोहितले मानिदिए फर पर्दैन तर त्यस्ता कुलाचारहरु खासै शास्त्रसम्मत चै हुदैनन नै ।
अध्यात्मकर्म गराउने कर्ताहरुको पनि गुनासो ब्यापक रुपको हुने गर्दछ , श्रद्धालुहरुको गुनासो उनीहरुकै भाषामा भन्ने हो भनें वास्तवमै गुरु पुरोहितले पनि आत्मसमिक्षा गर्नै पर्ने हुन्छ । जति जना गुरु पुरोहितलाई सोधे एउटै विषयको समाधानमा अलग अलग कुरा भनेर हामीलाई दोधारमा गुरुहरुले नै पारिदिनु हुन्छ हामी के गर्ने ? यो कर्ता यजमानको गुनासो हो । यस गुनासोलाई मनन गर्ने हो भनें सत्यता पनि छ । यसको उदाहरण भिन्न भिन्न समूहमा गुरुहरुले गराउने तीर्थश्राद्ध , प्रचलित कालसर्पयोग शान्ति लगायतका विभिन्न कर्महरु पर्दछन ।
कर्म गराउन चाहिने अर्को महत्वपूर्ण कुरा हो तयारी । तयारीको अर्थ हुन्छ कर्ता र पुरोहित दुबैको स्थिर चित्तबृति संकल्पना र आत्मिक पवित्रता । कर्ता र पुरोहित दुबैले कर्म गर्नका लागि मन स्थिर बनाउनु पर्दछ । सोचेको र थालेको काममा दत्तचित्त हुनु पर्दछ र मनमा निष्ठा अनि विश्वास कायम गर्नु पर्दछ । यी तीन कुरा नभए कर्म गर्नु र गराउनुको कुनै औचित्य नै रहदैन । यी तीन प्रकारका आत्मिक शुद्धि पछि पूजा उपयोगी सामग्रीहरुको पवित्रता अनिबार्य हुनु पर्दछ । पछिलो समय हामीमा ब्यस्त र अर्थमुखी समाजिक जीवनसैलि बढेकाले पैसाका प्रभावले पूजाका सामग्रीहरु बजारबाट उपयोग गर्न थलेका छौ परन्तु त्यसको पवित्रताको ग्यारेन्टि कतै कसैले लिदैन र बजारिया पूजनसामग्री वास्तवमै पवित्र र शास्त्रसम्मत छन वा छैनन बुझ्न अनिवार्य छ । दशगात्रकर्म पछि गरिने नारायणबली कर्ममा प्रयोग हुने सुन चॉदी तामा पित्तल फलामका देवप्रतिमाहरु प्लास्टिकमा रुपान्तरित भएका छन । दान आदिका वस्तुहरुमा सामथ्र्य हुदा हुदै सस्ता सामग्री किन्न खोज्ने अपेक्षालाई सम्बोधन गर्न उत्पादक र ब्यापारिहरुले गुणस्तरहीन बस्तु उत्पादन गर्न सुरु गरेका छन । बजार मागअनुसार चल्ने भएका कारण उत्पादकले बजार र उपभोक्तालाई सम्बोधन गर्नु स्वाभाविक कुरा हो तर यसकुरामा श्रद्धालुहरुको विश्वास निष्ठा र श्रद्धाको पनि मूल्यांकन हुन्छ । आलेखको सुरुमा उठान गरिएको कुरालाई नै मनन गरौं विवाहमा पुरोहितको सामान्यतया तीन दिनको समय खर्च हुन्छ तर दुलाहा दुलहीका लागि हज्जारौका कपडा किन्न सक्ने कर्ताले ब्रह्मणले लेखिदिएको विवाहसामग्री लिस्टमाउल्लेख गरिने ब्राह्मणबरण बस्त्रमा सबै भन्दा सस्तो गन्जी टोपी रुमाल खोजिन्छ । त्यतिमै चित्त बुझाउने ब्राह्मणलाई ब्रह्मकर्म पनि विधिवत रुपमा गर्न दिईदैन । यसकारण उपेक्षामा आध्यात्म छ र ब्राह्मणको प्रकट असन्तोष धर्म मिचिएकोमा हो । अध्यात्मको उपेक्षामा हो । यसतर्फ सबै सम्बेदनशील हुनै पर्छ ।