विक्रम सम्वत् नेपालीको गौरव

225

 

चक्रपाणी डुम्रे
प्रत्येक वैशाख १ गते विक्रम सम्वत् को नयाँ साल प्रारम्भ हुन्छ । नेपालको राष्ट्रिय संवत विक्रम
संवत हो ।  सौर्य गणनानुसार एक संवतत्सरमा ३ सय ६५ दिन हुन्छन् । यसअनुसार सूर्य मेष संक्रान्तिबाटआरम्भ भई पुनः सोही राशिमा पुग्ने बेलासम्मको अर्थात् सम्पूर्ण ऋतुको पूरै एक चक्रलाई संवतत्सर भनिन्छ । यसरी, वैशाख १ देखि हुने र यस दिनलाई नव वर्ष शुभारम्भको दिन एवं राष्ट्रिय पर्वका रूपमा मनाइने गरिन्छ । वैशाखमा नयाँ वर्ष मनाउने परम्परा हाम्रो आफ्नो परम्परा हो। यो आफ्नो हो त्यसैले प्यारो छ नै संगै यो वैज्ञानिक पनि छ।त्यसैले अकाट्य छ।

चन्द्रमानको हिसाबले समेत चैत शुक्ल प्रतिपदालाई संवतत्सर प्रारम्भ हुने दिन मानिन्छ । यसैले राजा विक्रमादित्यले थालनी गरेको यो पात्रो अंग्रेजी क्यालेन्डरभन्दा ५७ वर्षअघि छ । यसको मतलव जिसस क्राइस्टको जन्मभन्दा ५७ वर्षअगाडि नै विक्रमादित्यले आफ्नो संवत प्रयोगमा ल्याइसकेका थिए । परम्परागत प्रचलनमा विक्रम संवत् चन्द्रमानक संवत् हो । विसं १९६० अघि विक्रम संवत् चन्द्रमानक मात्र थियो । यद्यपि अहिले पनि चाड पर्व, संस्कृति, संस्कार, रीतिथिति लगायतका धार्मिक एवं सांस्कृतिक गतिविधिका लागि चन्द्रमानक पात्रोकै प्रयोग गरिन्छ । भारतमा विक्रम संवत् नव वर्ष चैत्र शुक्ल प्रतिपदा तिथिका दिन मनाइने गरिन्छ ।
१२ महिना १२ वटा राशिअनुसार चल्ने सूर्य र चन्द्रको गति अनुसार प्रत्येक तिथि मिति ,सूर्योदय,सूर्यास्तको सटीक गणनासंगै हाम्रा आध्यात्मिक साधना र चाडपर्वसंग जोडिएको हुनाले विक्रम सम्बत् र तदनुसारको हाम्रो नयाँ वर्ष हाम्रो गौरव हो,हाम्रो आत्मसम्मान हो अनि हाम्रो वैज्ञानिक ऋषिपरम्पराको प्रमाण पनि हो।
विक्रम सम्बत हिन्दु पञ्चाङ्गमा आधारित नेपालको राष्ट्रिय पात्रो हो । विक्रम संवत् भारतका विभिन्न राज्यहरूमा पनि प्रचलनमा रहेको छ । यो प्राचीन हिन्दु परम्परा र वैदिक समयाङ्कनमा आधारित शौर्य पात्रो हो । यो इस्वी सम्वत् (अङ्ग्रेजी पात्रो) भन्दा ५६ वर्ष ८ महिना १५ दिन अगाडि छ ।
यस पात्रोमा वर्षको सुरूवात वैशाखको पहिलो दिनबाट हुन्छ । नयाँ वर्षको सुरूवात सामान्यतया ग्रेगोरी पात्रोको अप्रिल महिनाको १३ वा १४ तारिकमा पर्दछ । विक्रम सम्बत सूर्यसँग सम्बन्धित भएकाले विक्रम सम्बतमा ग्रह नक्षत्रका नाम पनि महिनाहरूसँग सम्बन्धित छन् ।  विक्रम सम्बत नेपालको आदि सम्वत समेत हो ।
त्यसबाहेक पनि विश्वका थुप्रै मुलुकमा आफ्नै रीति, संस्कृति र परम्पराअनुसारका क्यालेन्डर प्रयोगमा रहेकाछन् । सेकन्ड, मिनेट, घण्टा, दिन, रात, बार आदि गरी नै समय उपलब्धिलाई नै नयाँ मानिन्छ । जसमा १५ तिथिबाट एक पक्ष भयो र यस्ता दुई पक्षबाट एक महिना हुन्छ । दुई महिनाको एक ऋतु हुन्छ । तीन ऋतुको ६ महिना वा एक अयन हुन्छ । दुई अयन अर्थात् ६ ऋतुको १२ महिना वा एक संवतत्सर हुन्छ । ६० संवतत्सरको ६० नै वर्ष हुन्छ । ज्योतिषशास्त्रअनुसार हिन्दू संस्कृतिमा ६० संवतत्सर रहेका छन् । यिनीहरूको नाम हरेक वर्ष बदलिने गर्दछ र ६० वर्ष पूरा भएपछि पुनः सोही नाम दोहोरिने गर्दछ । यस वर्ष पिङ्गल नामक संवत्सर परेको छ ।
हाम्रो देशमा सर्वप्रथम राजा विक्रमादित्य प्रथमको शासन कालदेखि नै नववर्ष आरम्भ भएको ऐतिहासिक तथा धार्मिक ग्रन्थहरूमा उल्लेख छ । यसकारणले गर्दा वैशाख १ देखि सुरुवात हुने नवआगन्तुक समयलाई नेपालीहरूले हर्षकासाथ उल्लासमय वातावरण साथ राष्ट्रिय चाडका रूपमा मनाउने गरिन्छ  । यस दिनमा सार्वजनिक बिदा पनि दिइन्छ  ।
यसरी प्रत्येक वर्ष नयाँ वर्ष मनाउदै गर्दा हामीमा पनि नयाँ सोच , नयाँ उमंग जगाउनु पर्छ ।  नयाँ वर्ष सधैं वसन्त ऋतुको आगमन सँगै आउने हुँदा प्रकृतिमा पनि  एउटा नौलो आभाष र  अनुभव बनाइरहेको हुन्छ। बोट बिरुवाहरूमा वसन्त ऋतु आगमनसँगै हरियालीले छाउनाले प्रकृतिको मनोरम सुन्दर दृश्यावलोकन मनलाई पनि आनन्दित तुल्याएको हुन्छ ।
नव वर्ष वैशाखमा मनाउनु नेपाल परम्परा र गौरव पनि हो ।
नव वर्षको आरम्भ सङ्गै विचार र सोचमापनी नविनता जगाउनुग हिजोका दिनको समष्टि रूपमा मूल्यांकन गरी भावी उदेश्य पूर्तिको  यात्रा आजैदेखि आरम्भ  गरौं । विगतमा जे जस्ता घटनाहरू भए पनि मानव जाति जहिले पनि आशा, विश्वास र भरोसा लिएर हिड्नु पर्दछ । हाम्रो जीवनको आधार सुखद भविष्यको आशा नै हो । यही सुखद भविष्यको आशाले अभिव्यक्तिको माध्यम दिने गर्दछ र हामीले पनि नव वर्षमा नयाँजोस, जाँगर र उमंग जगाउनु पर्छ । त्यसैले नव वर्षलाई सुखद भविष्यको आशालाई संकल्पमा बदलेर अघि बढौं ।