गर्भाधान संस्कारको महत्व

527

 

 

 

 

चक्रपाणि गौतम

मानव  जीवनमा प्राप्त गर्नै पर्ने चारवाट बस्तुहरु छन । यीनै चार वस्तुको प्राप्तिले मानव जीवन सफल बनाउदछ । धर्म अर्थ काम मोक्ष यी चार वस्तुहरु मानिसले क्रमस प्राप्त गर्नु पर्दछ । यी चार वस्तुहरु प्राप्त गराउने शास्त्रहरु पनि चार प्रकार का नै छन । मनु अत्रि परासर याज्ञबल्क्य आदि ऋषिहरुले उपदेश गरेका शास्त्र धर्मशास्त्र हुन । त्यस्तै चाणक्य बृहस्पति , शुक्र आदिले तयार पारेका शास्त्र अर्थशास्त्र हुन अनि गीता उपनिषद रामायण श्रीमद्भागवत आदि मोक्षशास्त्र हुन भनें बात्स्यायन आदिले लेखेका शास्त्रहरु कामशास्त्र हुन । प्राचिनकालको शिक्षा परम्परामा कुनै पनि व्यक्तिले गुरुकुलमा २५ बर्षसम्म अध्ययन गरेर अनिवार्य रुपमा श्नातक हुनु पर्दथ्यो । पच्चीस वर्ष पछि गुरुहरुले नै अरु विद्या झै यौनशिक्षा प्रदान गर्ने गर्दथे । गुरुकुलमा प्राप्त सो काम विद्याले व्यक्तिलाई असल र चरित्रवान गृहस्थी बनाउदथ्यो । गृहस्थ जीवनका मूल्य मान्यता र मर्यादाका विषयमा श्नातकले गुरुहरुकै मुखबाट यौन जीवन यौन मनोविज्ञानको पूरा पूरा जानकारी पाउदथे । कालान्तरमा क्रमस आश्रम प्रणाली समाप्त हुदै गयो । राज्य व्यवस्था परिवर्तन हुनथाल्यो । सार्बभौम राज्य गणराज्य आदिमा रुपान्तरण हुदै जान थाले । राज्यका शासक र अमात्यहरुले नारीलाई उपभोग्य वस्तुका रुपमा हेर्न थाले । उनीहरु सधैभरि सुरा र सुन्दरीको मोहमा लठ्ठीएर यौनलाई धर्मबिरुद्ध उपयोग गर्न थाले । यसरी राज्य व्यवस्था र ऋषिकुल परम्परा पूर्ण रुपले दुईधारमा विभाजित भयो । जो जो मानिसहरुमा नारीलाई उपभोग्य वस्तु नभई प्रकृतिको पूज्य वस्तु हो भन्ने धारणा जीवन्त रह्यो उनीहरुले पनि यौनलाई अश्लिल र घृणाका रुपमा लिन थाले । यसरी चतुवर्गको विशेष अङ्ग प्रजननशास्त्रको विशेष ज्ञान समाप्त भयो ।
यसरी प्रजननशास्त्र समाप्त भईसकेपछि पुरुषमा गर्भाधान आदिको यथार्थ ज्ञान समाप्त भयो र आजसम्म पनि हाम्रो ऋषिकुल ज्ञानपरम्पराको स्थिति यही छ । रतिशास्त्र यौन विज्ञानको वास्तविक जानकारी गराउने कुनै पनि मान्य ग्रन्थहरु अभाव छ । आजको समाज स्त्री पुरुषका नग्न फोटा चलचित्र सम्बाद र विज्ञापनलाई आधार मानेर यौन जीवन अगाडि बढाईरहेका छन ।
पच्चीस वर्षसम्म कठोर ब्रह्मचर्यब्रतमा बसेर श्नातक बनेपछि गुरुकुलमा शिक्षक आचार्यहरुले नै व्यक्तिलाई विवाह गरेर गृहस्थजीवनमा प्रवेश गर्न उपदेश दिन्थे । विवाहपछि यौनलाई धर्मपूर्वक उपयोग गर्न शिक्षा दिने गर्दथे । गर्भाधान कर्मलाई गुरु पुरोहितको प्रत्यक्ष निर्देशनमा संस्कारपूर्वक सम्पन्न सम्पन्न गरिन्थ्यो । सन्तान प्राप्त गर्न विवाहित स्त्री र पुरुष पूर्णरुपले तयार हुनुपर्ने शास्त्रीय नियम छ । गर्भाधान गर्नका लागि शुभ मुहुर्त आदि हेरेर गर्भाधान गर्नका लागि केही समय पहिले नै साईत निर्धारण गरिन्छ । यसरी गर्भाधान कर्मलाई धार्मिक कर्मका रुपमा स्वीकार गर्दा भावी सन्तानमा पनि धार्मिक भावना र संस्कारको जागरण हुन्छ । असल सन्तान प्राप्त हुन्छन । यसकारण सन्तान प्राप्त गर्न पूर्वतयारी गर्न शास्त्रले नै निर्देशन गरेको छ । गर्भधान का लागि पुरुष वा परिवारका सदस्यहरुको ईच्छामात्र मान्य हुदैन शास्त्र अनुसार स्त्रीको अनुमति पनि अनिवार्य हुन्छ । नारी यौन उपभोगकी पात्र हुदै होईनन नारी त सृष्टि सौन्दर्यकी पवित्रतम प्रतिमा हुन ।सृष्टिका सम्पूर्ण सुकुमार भावनाहरुकी समष्टि हुन । यसकारण स्त्रीको शरिर स्वस्थ होस वा अस्वस्थ, मन शान्त होस वा अशान्त जुनसुकै परिस्थितिमा यौनमा लिप्त हुनुको परिणाम स्त्रीमा अनिच्छित गर्भाधारण जनसंख्याको अनुचित बृद्धि नारीको स्वास्थ्य र जीवनको खतरा अनि पुरुषलाई परिवारको भरणपोषणका लागि व्यर्थको संघर्ष र आयुक्षीणता साथै अनेक रोगहरुको आक्रमण । यौनको उचित उपयोग नगर्दा हुने दुस्परिणाम र हानी अनगिन्ति छन । गर्भपतन , गर्भनिरोधकरुपी विषादिको उपयोगले त अझ नारीको जीवन नारकीय बनाउने खतरा छ । यसरी गृहस्थ जीवन अपनाएर यौनका लागि बैधता प्राप्त भएको परिभाषा दिएपनि यस कर्म पुरुषले नारीमाथि गरेको दलन नै हो । अव गर्भाधान संस्कारपूर्वक गरिनु पर्छ भनियो । र गर्भधारणलाई पनि धार्मिक कृत्यसंग जोडने हो भनें पशु पंक्षि सबैले यौनकृया र गर्भधारण गर्छन नै उनीहरुले चै संस्कारपूर्वक गर्भाधान गर्नु पर्दैन र भन्ने प्रश्न उठनु स्वाभाविक हो र प्रश्न उठनु पर्छ पनि ।
पशु र मानवबीचको भिन्नता हेर्ने हो भनें आकाश पातालको फरक छ । मानव चेतनाशक्तिले युक्त छ भनें पशु सर्वथा प्रकृतिप्रति आश्रित छ । प्रकृतिले निर्माण गरेको अनुशासनमा रहेर नै पशुपक्षीले यौनकृया गर्ने गर्दछन । उनीहरु प्रकृतिको नियम अनुशासन पूर्ण रुपले मान्दछन । यौन कृयाका लागि तत्पर पशु स्त्रीको शरिर सुघेर स्त्री यौनका लागि तयार भए नभएको निश्चित गर्दछ र स्त्री यौनकृयाका ालगि तयार नभए प प्रकृतिले दिएको संयमको प्रयोग गर्दछ । परन्तु प्रकृतिको विज्ञानलाई प्रयोग नगरि समय कुसमय जतिबेला पनि मावन आफ्नो बासनाको भोक मेटाउन तयार रहन्छ । मानिसले गर्नु पर्ने गर्भाधान संस्कारले नारी पुरुषको सम्बन्धको पवित्रता र संयमको महत्वलाई पनि प्रदर्शन गर्दछ । विवाहको महत्व पुरुष र स्त्री बीच संभोगलाई बैधानिकता दिनु हैन यसको महत्व त विशेष उद्देश्य प्राप्ति हो ।
घर परिवार समाजको अनुमतिमा मन्त्र अनुष्ठान गरेर गरिने यौनकृयामात्र वैधानिक यौनकर्म मानिन्छ अन्यथा यसलाई व्यभिचार ने भनिन्छ । शास्त्र अनुसार यौन व्यभिचार परस्त्री वा परपुरुषबीको अवैध यौनकृयामात्र हैन विवाहिता स्त्रीसंग पनि अशास्त्रीय संभोग व्यभिचार नै हो । प्राचीन शिक्षा पद्द्धति समाप्त भएपछि आजभोली स्त्री पुरुषवीचको यौन सम्बन्धलाई गोप्य काम मान्न थालियो लाजको विषय मान्न थालियो । तर शास्त्र अनुसार यज्ञ जप हवन आदि गरेर गुरु पुरोहितसंग परामर्श लिएर उनीहरुको निर्देशनमा गर्भाधान कर्म गरिनु पर्दछ । गर्भाधान कर्म वैदिककर्म भएकाले यो कर्म गोपनीय वा लाजको विषय हुदै होईन । श्रीमद्भगवद्गीताका अनुसार यौन ईश्वर कै रुप हो । गीतामा भगवान श्रीकृष्ण भन्नुहुन्छ “धर्माविरुद्धो भूतेषु कामोस्मि भरतर्षभ” अर्थात हे अर्जुन म धर्मले युक्त भएको काम वासना हु । यसर्थ आजको समाजले गर्भाधान कर्मलाई जीवन वनाउने महत्वपूर्ण संस्कारका रुपमा ग्रहण गरेर सन्तान जन्माउने हो भनें आगामी केही वर्षमा नै सभ्य समाज निर्माण गर्नसक्ने योग्य दक्ष अनुशासित र मनस्वी नागरिक तयार हुनेछन । यस कारण गर्भाधानलाई घटना दुर्घटना भन्ने परिस्थिति सिर्जना नगरौं । संस्कारपूर्वक गर्भाधान गरौं ।