सावधान नक्कली ज्योतिषीहरुको फन्दामा पर्नुहोला ….

360

 

 

 

 

 

 

 

 

ॐ वाणि व्युरो

नेपाल ज्योतिष परिषदले कोशी प्रदेशभित्र सर्वसाधारण मानिसहरु नक्कली ज्योतिषीहरुको फन्दामा नपरुन भनेर प्रदेशमा रहेका ज्योतिषीहरुको पहिचान गरि वास्तविक ज्योतिषीहरुलाई काउन्सिलले परिचयपत्र उपलब्ध गराउने भएको छ । विभिन्न ब्यक्तिहरु आफूलाई आफै ज्योतिषी घोषणा गरि विभिन्न प्रकारका मनोगत कुराहरु भन्ने पूजापाठ ग्रहशान्तिका नाममा अशास्त्रीय कार्यहरु गर्ने गराउने ग्रहशान्तिका उपाय र वैकल्पिक उपाय भन्दै रत्न जडीबूटीहरुको बिपरित प्रयोग गर्ने र बिभिन्न प्रकारले ग्रह र परोक्षको डर देखाएर मानशिक तनाव दिने पूजापाठ गर्न बाध्य बनाउने गुनासाहरु काउन्सिलमा आउने गरेकाले काउन्सिलले सो निर्णय गरेको कुरा नेपाल ज्योतिष परिषद कोशि प्रदेशका अध्यक्ष विश्वप्रकाश लामिछानेले बताउनु भयो । ज्योतिष विद्या सिद्धान्त आधारित विद्या रहेको र सैद्धान्तिक रुपले अध्ययन नगरि यो विद्याको ज्ञान नहुने भएकाले ज्योतिषको औपचारिक अध्ययन गर्नै पर्ने नेपाल संस्कृत विश्वविद्यालयका ज्योतिष विभागका सहायक प्राध्यापक अम्बरराज ढकाल बताउनुहुन्छ । नेपाल संस्कृत विश्वविद्यालमा ज्योतिष विज्ञानको औपचारिक पढाई हुने र यथाशक्य सबैले ज्योतिषको औपचारिकरुपमा निर्धारित पाढ्यक्रमका आधारमै अध्ययन गर्नु उचित हुने कुरा सहायक प्राध्यापक ढकाल बताउनु हुन्छ । औपचारिक अध्ययन नगरेका तर चलाखीपूर्ण कुरा गरेर आफूलाई ज्योतिषी भन्दै यस विधालाई दूषित बनाउनेहरुको संख्या बढेका कारण ब्रह्मविद्या मानिएको ज्योतिषविज्ञानको दुरुपयोग भएको पण्डित दीपक पराजुली बताउनुहुन्छ । ज्योतिष विज्ञान बहुआयामिक विधा भएका कारण पुराणवाचक व्यासाचार्य , कर्मकाण्ड गर्ने पुरोहित , आयुर्वेदका वैद्य कविराज सबैले ज्योतिषशास्त्रका आधारभूत कुराहरु अनिवार्य रुपले जान्नै पर्ने र पुराणबाचक व्यासाचार्यहरुले पनि पुराणहरुमा वर्णन गरिएका ज्योतिष सम्बन्धि प्रसंगहरुको व्याख्यान गर्नै पर्ने र केवल भक्तिभावका कुराहरुमात्र सुनाएर ब्रह्म ब्रह्माण्ड र सृष्टिको रहस्यबाट सर्वसाधारणलाई बंचित गराउनु नहुने ज्योतषी चक्रपाणि गौतम बताउनुहुन्छ । तन्त्र मन्त्र धामी झांक्री वैद्य वास्तु सबै विद्या ज्योतिष विद्याकै अंग भए पनि यी विधाहरुको पनि धेरै दुरुपयोग भएका कारण यस विधामा लागेका सबैलाई प्रशिक्षित बनाउनु पर्ने र सामाजिक संजाललाई उपयोग गरेर ज्योतिषबिधालाई पेशा बनाउनेहरुलाई पनि काउन्सिलको दायरामा ल्याउन काउन्सिलले ज्योतिष वास्तु लगायतका सबै बिधामा प्रशिक्षण दिन सुरु गरिसकेको परिषदका कोशि प्रदेश अध्यक्ष विश्वप्रकाश लामिछानेले जानकारी दिनु भयो । नेपाल ज्योतिष परिषदका बरिष्ठ उपाध्यक्ष ज्योतिषी सन्तोष पोख्रेल सिन्धुशास्त्रीलाई प्रशिक्षण प्रमुखमा नियुक्त गरेपछि २०८० असार ८ गतेदेखि प्रशिक्षण सुरु भईसकेको र हालसम्म नियमितरुपमा ५० जनाले प्रशिक्षण लिईरहेको प्रदेश उपाध्यक्ष हरि प्रसाद खतिवडाले जानकारी गराउनु भयो । अव उप्रान्त प्रदेशमा रहेका सबै ज्योतिषीहरुलाई काउन्सिलमा अनिवार्य दर्ता हुन प्रशिक्षण लिन र परिचयपत्र अनिवार्य बनाउनुपर्ने र ज्योतिषीसंग परामर्श लिन आउने सर्वसाधारणले आफूले सेवा सल्लाह लिन गएको ज्योतिषी आधिकारिक अध्ययन भए नभएको जान्नका लागि परिषदले दिएको परिचयपत्र हेरेरमात्र परामर्श लिनु उचित हुने कुरा संचारकर्मी समेत रहेका अर्का उपाध्यक्ष बाबुराम निरौलाले बताउनु भयो । बिभिन्न सामाजिक संजालको प्रयोग गरेर ज्योतिष सम्बन्धी अनावश्यक र अप्रमाणित कुरा गरेर सर्बसाधारणलाई भ्रम सिर्जना गराउनेहरुको पहिचान गरेर उनीहरुलाई कार्बाहीको दयरामा ल्याउनु पर्ने ज्योतिषी नगेन्द्र रोईलाको धारणा रहेको छ ।