हामीभित्रै संभावना छ, हामी खोज्नुपर्छ मुख्यमन्त्री शंकर पोखरेल

336
ॐ वाणी  बुटवल जेठ १६ । 
मुख्यमन्त्री शंकर पोखरेलले शुक्रबार प्रदेशसभामा वेल्दै कोभिड—१९ महामारी नियन्त्रण र त्यसपछि श्रृजना हुने अवस्थाको व्यवस्थापन गर्ने गरी सरकारले काम अघि बढाएको बताउनुभएको छ । उहाँले प्रदेश सरकारको आगामी वर्षको बजेट यही विषयमा केन्द्रित हुने गरी आउने बताउनुभयो । प्रदेश सरकारको नीति तथा कार्यक्रममाथि प्रदेशसभा सदस्यहरुले उठाएका प्रश्नहरुको जवाफ दिदै मुख्यमन्त्री पोखरेलले प्रदेशको नीति अनुसार केन्द्रको बजेट आएको बताउनुभयो । हाम्रो नीति अनुसार केन्द्रको बजेट आएकोछ ,तसर्थ हामी ठीक ठाउँमा छौं—उहाँले भन्नुभयो । कोभिड—१९ को नियन्त्रण र उपचारका लागि अहिले सरकारको ध्यान केन्द्रीत भएको छ ।
 सरकारले प्रयाप्त काम र तयारी गर्दागर्दै भारतीय सुरक्षा निकायको कमजोर व्यवस्थापनले ठूलो संख्यामा सीमापारीबाट नागरिक आएकाले व्यवस्थापनमा अप्ठारो परेको बताउनुभयो । “यो परिस्थितिजन्य जटिलता हो,केही दिन समस्या भएपनि अहिले व्यवस्थापन मिलाइएको छ—उहाँले भन्नुभयो । प्रदेशसभा वाेल्दै वहाँले कोभिड—१९ ले प्रदेश सरकारको औचित्य स्थापित गरेको बताउनुभयो ।
“अहिले हामी जे गरिरहेका छौं,त्यो प्रयाप्त नहुनसक्छ, तर जति भएको छ, सक्रिय भूमिकाले भएको छ, अझै धेरै काम हुनुपर्छ भन्ने अपेक्षा राख्नु स्वाभाविकै हो—उहाँले भन्नुभयो ।  उहाँले लुम्बिनी र राप्ती प्रादेशिक अस्पताललाई विशेषज्ञ सेवा सहितको अस्पताल बनाउने गरी काम भइहरेको र जिल्ला अस्पतालको सेवा प्रदेश सरकार स्थापना पछि सुधार भएको जानकारी समेत दिनुभयो ।
 जिल्ला अस्पताललाई कम्तिमा ५० शैयाको हुने गरी विस्तार गर्न लागेको बताउनुभयो । छोटो समयमै दाङ, बाँके, बुटवल र भैरहवामा कोरोना विशेष अस्पताल स्थापना गरेर कोरोनाको उपचार गर्ने व्यवस्था मिलाएको र जिल्ला जिल्लामा आइसोलेसन केन्द्र बन्दै गरेको वहाँकाे भनाइ थियाे । प्रदेशमा अहिले तीन वटा प्रयोगशालामा सञ्चालन भएको र ती प्रयोगशालाको क्षमता विस्तार गर्न लागेको उहाँले जानकारी दिनुभयो । अहिलेसम्म संक्रमित अधिकांश भारतबाट आएकामा भएको र केही व्यवस्थापनमा खटेकाहरूलाइ भएको बताउँदै  अझै समुदायमा फैलिइनसकेको स्पष्ट पार्नुभयो । कोभिड—१९ को नियन्त्रणका लागि प्रदेश सरकार र स्थानीय पालिकाले मात्रै गर्ने नभई सबै मिलेर लाग्नुपर्ने बताउनुभयो । उहाँले संक्रमणको पहिलो चक्रलाई रोक्न सक्दा अहिले बनाइएको प्रणालीले यसलाई व्यवस्थित गर्न सकिने बताउनुभयो । “ अहिले नै बढ्दो क्रममा रहेकोले कोभिड र जीवनलाई सगैं लैजान सकिदैन् । स्थिर बनाएपछि कोभिड र जीवन सगैं लैजान सकिन्छ —उहाँले स्पष्ट पार्नुभयो । किसानको उत्पादनलाई बजार पु¥याउन कृषि एम्बुलेन्स चलाएर प्रदेश सरकारले अग्रसरता लिएको उहाँले बताउनुभयो । भविष्यमा खाद्य संकटको चुनौती सामना गर्ने गरी तयारीगर्नुपर्ने उहाँले बताउनुभयो ।
“उत्पादनको सुरक्षित भण्डारण र उत्पादनको विस्तार हुनुपर्छ । केन्द्र, प्रदेश र स्थानीय तह मिलेर गर्नुपर्छ—उहाँले भन्नुभयो । भारतबाट प्राप्त हुने रेमिट्यान्समा नेपाल छैठौं स्थानमा रहेकोले अब हामीभित्रै संभावना खोजेर समस्याको समाधान गर्नुपर्ने उहाँकाे भनाइ थियाे । हामीभित्रै संभावना छ, हामी खोज्नुपर्छ । हाम्रो इट्टाभट्टामा भारतीय नागरिक कार्यरत छन् । अब विदेश जानुको साटो यही काम गर्ने  बानी विकास गर्नुपर्छ । सिमेण्ट उद्योगमा काम गर्ने झण्डै ७० प्रतिशत भारतीय छन् । उद्योगीलाई चाहिने जनशक्तिलाई हामी तालिम दिन्छौं, तपाईहरु रोजगारी दिनुस् भन्छौं—उहाँले भन्नुयभो । रोजगारी दुई तरीकाले श्रृजना गर्न सकिन्छ एउटा स्वरोजगार श्रृजना गर्ने हिसाबले अर्को यहाँका उद्योगहरुमा, दुवै किसिमका राेजगर प्रदान तल्लिन रहने वहाँकाे भनाइ छ  । प्रदेश सरकारको नीति तथा कार्यक्रम आजै प्रदेशसभाबाट पारित पनि भएको छ ।