आईतवार खण्डग्रास सूर्यग्रहण लाग्दै, कुनराशिलाई कस्तो छ त ?

899

ध्रुवशरण ढुंगाना

असार ७ गते औशीका दिन सूर्य ग्रहण लाग्दैछ, आईतवार खण्डग्रास सूर्य ग्रहण लाग्ने पञ्चाङ्गहरूले उल्लेख गरेका छन् । नेपाली समय अनुसार बिहान १० वजेर ५० मिनेटमा सूर्य ग्रहण लाग्नेछ । ग्रहण कालको अन्त्य भने दिनको २ वजेर २३ मिनेटमा हुनेछ । ग्रहणकालको मध्य समय मध्यान्न १२ वजेर २३ मिनेटमा हुनेछ । भने जम्मा ३ घण्टा ३३ मिनेटको ग्रहणकालको समयाअवधि रहनेछ । ज्योतिषी केशवप्रसाद गौतमका अनुसार वैदिक सनातन ग्रन्थहरूमा सूर्य ग्रहणको सूतक १२ घण्टा पूर्व लाग्ने भएका कारण शनिवार राति १० वजेर ५० मिनेट देखि वृद्ध, बालक, बिमारी बाहेकका लागि भोजन निषेध गरिएकोछ । भोजन गरेमा ग्रहणको नकारात्मक किरणले गर्दा अनेकौ दुख कष्ट हरु आई लाग्ने हुन्छ ।
गौतम का अनुसार अहिलेको ग्रहण मृगशिरामासुरू हुनेछ भने आर्द्रामा समाप्त हुँदैछ ।

मृगशिरा नक्षत्र मिथुनराशि हुनेहरूको लागि कष्ट दायक रहेको छ , उहाँ भन्नुहुन्छ – ग्रहणको वेला चन्द्रमा जुन राशि नक्षत्रमा रहेको छ भने दुखदायक हुन्छ त्यसैले मृगशिरा र आर्द्रा तथा यसले प्रतिनिधित्व गर्ने मिथुन राशि हुने हरूले ग्रहण हेर्नु राम्रो हुँदैन । हाम्रो समाजमा ग्रहणको वेला भजन पाठपूजा गरेर समय बिताउने चलन छ । सूर्य ग्रहण लाग्दा मन्त्र जप तथा पाठ गर्ने, ग्रहण सुरुहुँदा स्नान गर्ने र ग्रहणले छोडीसके पछि पनि स्नान गर्ने, अति कष्ट हुनेहरूका लागि ग्रहणको दान गर्ने प्रचलन छ । खाने पदार्थमा तुलसीदल अथवा कुश राख्नाले ग्रहणको नकारात्मक किरण देखि बच्न सकिने विश्वास रहेको छ ।
कसरी लाग्छ सूर्य ग्रहण ?
पृथ्वीले सूर्यलाई घुम्ने गति र चन्द्रमाले पृथ्वीलाई घुम्ने गति कहिल्यै समान छैन । यही असमानता नै ग्रहणको उत्पत्तिको कारण मानिन्छ । गतिको असमानताले गर्दा घुम्दै गरेका पिण्डहरू कहिले काँही संयोगले एउटै सीधा रेखामा पर्छन् ।
फलतः कहिले पृथ्वीको छायाँ चन्द्रमामा तथा कहिले चन्द्रमाको छायाँ पृथ्वीमा पर्छ । सूर्यग्रहण भनेको जब चन्द्रमा, पृथ्वी र सूर्यको बीचबाट जान्छ अनि पृथ्वीबाट हेर्दा सूर्य पूर्ण अथवा आंशिक रूपमा चन्द्रमाद्वारा छेकिन्छ । भौतिक विज्ञानको दृष्टिले हेर्दा सूर्य र पृथ्वीको बीचमा चन्द्रमा आउँछ भने चन्द्रमाको पछाडि सूर्यका किरणहरू केही समयका लागि छेकिन्छन् , त्यसै अवस्थालाई सूर्यग्रहण भनिन्छ ।

सूर्यग्रहणको घटना सदा सर्वदा औशी तिथिमा नै पर्दछ ।
ज्योतिष बिज्ञानका अनुसार औशी या पूर्णिमा तिथिका दिन राहु या केतु एकग्रह चन्द्रमाको साथमा एकै राशिमा पर्न आउँछ त्यसै दिन ग्रहण पर्ने वताईन्छ, पूर्णिमाका दिन चन्द्रग्रहण लाग्छ भने औशीका दिन सूर्यग्रहण लाग्ने गर्दछ । जब चन्द्रमा क्षीण हुन्छ र सूर्य पूर्ण क्षमता सम्पन्न तथा दीप्त हुन्छ साथै चन्द्र र राहू या केतुको रेखांश निकै निकट हुन्छ, चन्द्रमाको अक्षांश लगभग शून्य डिग्री हुन्छ भने तब सूर्यग्रहण पर्ने गरेको हुन्छ । चन्द्रमा र राहु रविमार्गमा सगै भएको अवस्थामा सूर्य ग्रहण लाग्ने नेपाल संस्कृत विश्वविद्यालय वेलझुण्डी दाङका सहप्रध्यापक डॉ. अर्जुन प्रसाद भट्टराई बताउनु हुन्छ , आईतवार परेको ग्रहणमा राहु र चन्द्रमा सूर्य एकै राशिमा पुगेका छन् ।

ग्रहणको प्रकार
ग्रहण दुई प्रकारको हुने गर्दछ पुरै भाग छेकिएको या छायाँ परेको अवस्थलाई खग्रास ग्रहण तथा आधा वा केही भाग मात्र ढाकेको अवस्थालाई खण्डग्रास ग्रहण भनिन्छ । चन्द्रमालाई पृथ्वीले छेक्दा चन्द्रग्रहण सूर्यलाई चन्द्रमाले छेक्दा सूर्य ग्रहण भनिन्छ आइवार लाग्ने ग्रहण पूर्ण नछेकिने भएकाकारण खण्डग्रास सूर्य ग्रहण हो ।

कुनराशिलाई कस्तो छ ?
आज लाग्ने ग्रहण मेष राशिलाई श्रीप्राप्ति (राम्रो) , वृषराशिलाई क्षति (संचित धनको क्षति) , मिथुनराशिलाई घात –हानि) , कर्कट राशिलाई (व्यय खर्च बढेर जाने), सिंह राशिलाई लाभ (राम्रो) , कन्या राशिलाई सुख प्राप्ति , तुला राशिलाई माननाश, वृश्चिकलाई कष्ट , धनुलाई स्त्रीपीडा, मकरलाई सुख, कुम्भलाई चिन्ता, मीनलाई व्यथा रहेको देखिन्छ ।