हरिशयनी एकादशी आषाढ शुक्ल एकादशीको दिन पर्दछ । यो एकादशीको दिनदेखि भगवान् विष्णु क्षीरसागरको शेष(शय्यामा शयन गर्ने हुनाले यसलाई देवशयनी एकादशी पनि भनिन्छ । यहि दिनदेखि भगवानको चतुर्मासव्रत पनि आरम्भ हुन्छ । यश दिन उपवास बसेर सुन, चाँदी, ताँबा अथवा पीतलको विष्णुको मूर्ति बनायी पीताम्बर बस्त्र एवं च्यादरले विभुषित गरेर पूजन आदि गरि गद्दा(तकियावाला पलङ्गमा शयन गराउनु पर्दछ ।
यश अवसरको चतुर्मास महिनाका लागि साधकले आफ्नो रुचि एवं कामना पूर्तिका लागि निम्नलिखित विभिन्न कुराहरुको त्याग एवं ग्रहण गर्नुपर्दछ ।
चतुर्मासमा त्याग्ने चीजहरु
१. मधुर स्वरका लागि गुणको त्याग ।
२. दीर्धायु एवं पुत्र(पौत्रादिका लागि तेलको त्याग ।
३. शत्रुनाश आदिका लागि तोरीको तेलको त्याग ।
४. स्वर्गप्राप्तिका लागि पुष्प आदि भोग्य विषयको त्याग ।
चतुर्मासमा ग्रहणयोग्य चीजहरु
१. देहशुद्धि एवं सुन्दरताका लागि पञ्चगव्य सेवन गर्ने ।
२. वंश बृद्धिका लागि नियमित रुपमा दूधको सेवन गर्ने ।
३. कुरुक्षेत्रादि समान फल प्राप्तिका लागि थालको सट्टा पातमा भोजन ग्रहण गर्ने ।
४. सर्वपापक्षयपूर्वक सकल पुण्यफल प्राप्तिका लागि एकभुक्त (एकपटक मात्र भोजन ग्रहण) , नक्तव्रत अथवा सर्वथा उपवास गर्ने ।
यदि यी चार महिनामा अरूले दिएको अन्न अथवा अन्य कुनैपनि चीज ग्रहण नगरीकन माथि उल्लेखित चार ग्रहणयोग्य चीजमा एउटा मात्रको ब्रत गर्न सके महाफल प्राप्त हुने कुरा शास्त्रहरूले बताउँछन् ।
देवशयनको चतुर्मासीय व्रतकालिन समयमा पलङ्गमा सुत्ने, श्रीमतीसंग सहवास गर्ने, झुढो बोल्ने, मासु , दही अथवा अरुले दिएको भोजन ग्रहण गर्ने र मुला, भाण्टा सागको पात आदि कुराहरूको त्याग गर्नुपर्दछ ।
तुलसी रोप्ने दिन
आजकै दिन निर्जला एकादशीको दिन छरेको तुलसीका बेर्नालाई तुलसीको मठमा विधिपूर्वक रोपिन्छ । तुलसीलाई भगवान विष्णुको प्रतीकको रुपमा मानिन्छ । साधकले विहानै स्नान नित्यक्रिया सकि भगवान विष्णुको प्रतिमामा विधिपूर्वक पूजा गरेर तुलसीको बेर्ना नजिक गई मन्त्रोच्चारण सहित तुलसी उखेली मठमा रोप्नु पर्दछ । तुलसीलाई मठमा प्रतिष्ठा गरिसकेपछि तुलसीलाई जल दिई प्रार्थना गरेर प्रणाम गर्नुपर्दछ । सायंकालमा भगवान विष्णुको भजन किर्तन गरि आरती गरेर हरिशयनी एकादशी मनाउँदै चतुर्मास व्रतको आरम्भ गर्नु पर्दछ ।