आज नाग पञ्चमी घरघरमा नाग टाँस्ने दिन

596

ओम वाणी
बुटवल, ९ साउन ।
श्रावणशुक्ल पञ्चमीलाई नाग पञ्चमी भनिन्छ । नागपंचमीको दिन हिन्दू सनातन धर्मावलम्बीहरुले नागको पूजगर्ने परम्परा परापूर्वकालदेखि चल्दै आएको पाईन्छ । यस दिन घरको ढोकामाथि नागको तस्बीर टाँसेर पूजागर्ने गरिन्छ । घरको ढोकामा नागको फोटो टाँसी पूजागर्नाले सर्पको भयबाट मुक्त हुने जनविश्वास रहेको छ । हिन्दू पौराणिक ग्रन्थहरुमा नागलाई देवता मानिएको छ । लावा, रुई,  श्रीखण्ड आदि चढाउने तथा गाईको गोवरको सानो कुण्ड बनाई त्यसमा गाईकै दूधको धार दिने प्रचलन नेपाली समाजमा रहेको छ ।
बर्षा कालमा अधिक पानी पर्ने भएका कारण धर्ति जलमग्न हुने गर्दछ । जमिन मुनी प्वालमा बस्ने सर्पहरु सुरक्षित वासस्थान खोज्न प्वालबाट वाहिर निस्कने गर्दछन् । त्यस वखतमा सर्पले कसैलाई नटोकुन र बिषको असर नगरोस भन्नको लागि नागको पूजा गर्ने परम्परा रहेको बालाजीपूजन भण्डारका संचालक तथा कर्मकाण्डी आचार्य डिलाराम चालिसे बताउनु हुन्छ । उहाँका अनुसार पञ्चमी नागका लागि प्रिय भएका कारणले पनि पञ्चमीको दिन नै पूजा गर्ने गरिन्छ । यस दिन शिवको पूजाले पनि नाग खुशी हुन्छन् ।

नागको वास शिव भगवानको गलामा हुन्छ । कालिनाग माथि नाच्दै गरेको भगवान कृष्णको तथा शेषनागमा शयन गरेको विष्णुको चित्र मूल ढोकामा पूजागरि टाँसीयो भने बर्ष दिनसम्म चोट पटक तथा दुर्घटना बिष भयबाट बँचीने र चट्याङ्ग आदि कष्ट टरेर जाने धार्मिक विश्वास रहेको छ ।‘पौराणिक काल देखि नै सर्पहरु देवता तथा मानवका सहयोगी रहेका छन् भनिन्छ । भगवान बिष्णु शेषनागमा सुत्नुहुन्छ । शिवजीको गलामा सर्पको मालानै रहेको छ । देव–दानवको समुद्र मन्थन हुदा वाशुकीनागले नै नेती बनी अमृत मन्थनको लगि सहयोग गरेका थिय र कृष्णलाई वसुदेवले गोकुल लैजाँदा पनि वाशुकी नागले सहयोग गरेका थिए ।’
पौराणिक कथन अनुसार शेष नागले पृथ्वीलाई धारण गरेको कारणले नै नागको विशेष प्रकारले पूजन गर्ने गरिएको हो । नाग पञ्चमीदेखि बिभिन्न चाँड पर्वहरू सुरुहुने प्रचलन पनि रहेको छ ।