ॐ वाणी बुटवल
भाद्र शुक्ल पञ्चमीको दिनलाई ऋषिपञ्चमी भनिन्छ । याे पर्वकाे दिन महिला विशेषले विधिपूर्वक स्नान गरी अरुन्धती सहित सप्तर्षिको पूजा यस दिन गर्ने विधान रहेको छ । सप्तर्षिको विशेष पूजा आराधना गरिने पञ्चमी तिथिको दिन भएकाले यस दिनलाई ऋषिपञ्चमी भनिएको हो । शारीरिक एवं आत्मिक रूपमा पवित्र रही आयु आरोग्य र ऐश्वर्यको कामना यस पर्वको मुख्य विशेषता हुन् । यसैगरीे वर्ष दिनसम्म भए गरेका ज्ञात अज्ञात स्पर्श, भक्ष्य, आदि दोषबाट निवृत्त हुन पञ्चमीको स्नान एवं अरुन्धतीसहित सप्तर्षिको पूजा अर्चना गर्ने गरिन्छ ।
स्नान पश्चात् पूजास्थानमा गई पञ्चगव्य प्राशन पूर्वक दीप, कलश, गणेश स्थापना गरी अरुन्धती सहित कश्यादि सप्तर्षि (कश्यप, अत्रि, भरद्वाज, विश्वामित्र, गौतम, जमदग्नि, वशिष्ठ) को षोडशोचारले पूजा हुने गर्दछ । सप्तर्षिको स्थापना गर्दा कुशका ऋषि प्रतिमा बनाइन्छन् । तिल, जौ, अक्षता, पुष्प, दीप सहितका गनौटा अर्पण गरिन्छ । गनौटा अर्पण पश्चात् भूमिमा पाउ घिसार्दै सप्तर्षिको प्रदक्षिणा गर्नुे गरिन्छ । प्रदक्षिणा पश्चात् पूर्णपात्र दान सहित विसर्जन गर्ने विधान शास्त्रमा उल्लेख रहेको छ ।
पूजा पश्चात् भजन कीर्तन सिलोक आदि गाउने प्रचलन पनि विद्यमान रहेको पाइन्छ । पञ्चमी पूजा गर्नाले वर्ष दिनसम्म भएका ज्ञात अज्ञात, स्पृश्यास्पृश्य, भोज्याभोज्य आदि दोषबाट निवृत्ति मिल्ने कुरा धर्मशास्त्रमा उल्लेख पाइन्छ । आजको दिनबाट तीजकाे समाप्ति पनि हुने गर्दछ ।
#ऋषिपञ्चमी