श्रम र श्रमिकको पूजा विश्वकर्मा पूजा

774

ध्रुवशरण ढ‌ुंगाना
वैदिक सनातन धर्ममा हरेक व्यक्तिको व्यक्तित्वको सम्मान गर्ने गरिन्छ । व्यक्ति मात्र होईन सम्पूर्ण चराचरका जीव सबैलाई सम्मान स्वरूप पूज्ने र उसले गरेका समाज सुधारका कार्यको प्रशंसा पनि गरिन्छ । वैदिक सनातनधर्म यति विशाल छ की यहाँ सबैको पूजा गर्ने पद्धति रहेको छ । वृक्ष देखि पशुपक्षी सम्मको पूजाको पद्धति आर्य सभ्यतामा रहेको पाईन्छ । वृक्षमा पिपल, पशुमा गाई, पक्षीमा कौवालाई सम्म पूज्ने गरिन्छ । पूजा कुरीति होइन पूजा सम्मान हो, पूजाले आत्मबल, मानसिक शान्ति प्रदान गर्दछ । मनकै कारणले ब्यक्ति दुःखी र बन्धनमा पर्ने हुन्छ “मनएव मनुष्याणां कारणं बन्धमोक्षयो” संसारमा मनुष्यलाई मन द्वारानै मुक्ति प्राप्ती हुन्छ । मन भनेको शरीरलाई चलाउने ड्राइभर हो । अतः पूजालाई मानसिक बिकार निरोध गर्ने साधनको रूपमा पनि लिन सकिन्छ । मनकै कारण मनुष्य धेरै दुःखी भएको देखिन्छ । मानसिक तनावले नसताएका मानिस कमै होलन् संसारमा ।

मन शान्त भए पारिवारिक सुःख समृद्धिको वृद्धि आफै हुन्छ फेरी सुःख शान्ति खोज्न कतै धाउन पर्दैन । समाजमा झै–झगडा स्वतः कम हुन्छ । खोज्दै जाँदा मन शान्तिका लागि हाम्रा पूर्वज ऋषि हरूले पूजा र उपासनाको विकास गरेका हुन् । यीनै पूजन पद्धति अनुसार गरिने मध्येको एक पूजाहो विश्वकर्मा पूजा । यो पूजा हरेक बर्ष आश्विन १ गते गर्ने गरिन्छ । यो दिन कल–कारखाना तथा गाडी, वाहन लाई चिटिकै पारेर ध्वजा पताकाले सजाई चन्दन, अक्षता, फूल, धुप, दीप चढाई विश्कर्मा सहित पूजा गरिन्छ । विश्कर्मा भनेका शिल्पीकलाका मालिक हुन् । विकश्वकर्मा पूजा बैदिक काल देखि नै चलिआएको छ । पौराणिक ग्रन्थ हरूमा बिश्कर्मा वास्तुदेवका पुत्र मानिन्छन् । आदि सृष्टीकालमा विष्णुको नाभिबाट कमलको उत्पति भयो । कमलमा ब्रह्मा उत्पति भए । ब्रह्माका पुत्र धर्म भए धर्मका वसु नामगरेकी पत्नीबाट वास्तुदेव नामका पुत्र उत्पन्न भए र उनि शिल्प शास्त्रका प्रवर्तक पनि कहलाए सोही कारण विश्वकर्माले रचनागरेको गृह निर्माण सिल्पकला विद्यालाई वास्तुशास्त्र भनियो ।

वास्तुदेवकी आंगिरसी नामगरेकी पत्नीबाट विश्वकर्माको उत्पत्ति भएको भन्ने शास्त्रादिमा उल्लेख गरिएको पाईन्छ । विश्वकर्माले सत्ययुगमा स्वर्ग, त्रेतायुगमा सुनै–सुनले सिंगारीएको लङ्का नगर रावणको राजधानी, द्वापरयुगमा द्वारिकापुरी कृष्णको नगर तथा कलियुगमा हस्तिनापुरको निर्माण एवं डिजाइनिङ्ग गरे । विश्वकर्माका पाँच भाइ मनु, मय, त्वष्टा, शिल्पी, दैवज्ञ,नामका छोरा भए । सबै पुत्रहरु वास्तु शिल्प कलामा अलग–अलग पारङ्गत भएका छन् । मनु– फलामका औजार निमार्ण कर्ता भए । मय– काठका सामाग्री कलाका प्रसिद्ध भएका थिए । त्वष्टा–काँस तथा ताँमाका कलाका निपूर्ण भएका थिए । शिल्पी– ईट्टा, ढुङ्गा बाट गरिने निर्माणका बिशेषज्ञ भए । कान्छा छोरा दैवज्ञ– सुन, चाँदीका कलाकर्मी भए । उनीहरू द्वारा नै कलाकौशलताको प्रचार प्रसार हुन थाल्यो । सम्पूर्ण देवताका शिल्पी विश्वकर्मा कै सहाराले कृष्णले कसैले पनि भेदनगर्न नसक्ने त्यो पनि समुद्रको बिचमा द्वारिकापुरीको निर्माणगर्न सफलभए ।
दृश्यते यत्र हि त्वाष्टं« विज्ञानं शिल्पनैपुणम् ।
रथ्याचत्वरवीथीभिर्यथावास्तु विनिर्मितम् ।।
विश्वकर्माको निर्माण विज्ञान सम्मत थियो भन्ने कुरा भागवतले पनि स्पष्ट पारेको छ । कल–कारखानाका अधिष्ठाता बाबाको पूजन वैदिक सनातन काल देखि चल्दैआएकोछ । हिन्दूहरूले गर्ने प्रधान कर्म अग्निस्थापनामा पनि अग्निकुण्ड निर्माण र शुद्धि पश्चात् प्रथम विश्वकर्मणे नमः भनी बाबा विश्वकर्माको आवाहन गर्ने पूजन गरिसके पछि ज्ञान अज्ञानमा भएको खन–जोतको दोष निवारणार्थ प्रार्थना निम्न मन्त्रद्वारा गरिन्छ
अज्ञानाज्ज्ञानतो वापिदोषास्युः खननोद्भवाः ।
नाशयत्वं हि तान्सर्वान् विश्वकर्मन् नमोस्तु ते ।।
धन–धान्य एवं सुख–समृद्धि को अभिलाषा राख्ने व्यक्तिले बाबाको पूजा–आराधना गर्नु आवश्यक देखिन्छ । फलाम तथा ईन्जीनियरिङ्ग कार्य गर्ने हरुका लागि बाबाको पूजाले कार्य कौसलताको बृद्धि, गरेको काम बाट प्रसिद्धि मिल्ने हुन्छ । विश्वकर्माको पूजा भनेको कर्मको पूजा हो । अर्को कुुरा समाजमा रहेको भेदभावको अन्त्य गर्दै मूर्ति मात्र होइन मूर्तिकारको पनि पूजाहो । विश्वकर्मा पूजा भनेको श्रमको र श्रमिक को पूजा हो ।

#विश्वकर्मा