प्रदेश ५ काे भयाे न्वारन, नाम लुम्बिनी, राजधानी दाङकाे भालुवाङ

590

बुटवल असाेज २०

प्रदेश नं. ५ ले मंगलवारदेखि राजधानी तथा नाम पाएकाे छ । प्रदेशसभाले प्रदेशको नाम लुम्बिनी र स्थायी राजधानी दाङ देउखुरी क्षेत्र भालुवाङ कायम गरेकाे छ । प्रदेश सभाको मंगलवारको बैठकमा भएको मतदानमा सरकारले सभामा प्रस्तुत गरेको प्रस्ताव पारित भएको थियाे ।

अब प्रदेशको ५ को राजधानी दाङ देउखुरीकाे भालुवाङ हुनेछ । दाङको राप्ती गाउँपालिका र गढवा गाउँपालिका तथा अर्घाखाँचीको सितगंगा नगरपालिकाले ओगटेको राप्ती नदीले चर्चेको किनारको भाग राप्ती उपत्यका देउखुरीलाई प्रदेशको स्थायी राजधानी बनाउन प्रस्ताव गरिएको थियो ।

प्रदेश ५ को राजधानी देउखुरी राख्ने प्रस्तावमा ६९ मत परेको थियो। विपक्षमा १३ मत परेको थियो।  प्रदेश ५ का ८७ सांसदमध्ये ८२ जना मतदानमा सहभागी थिए।

शान्तिका अग्रदूत गौतमबुद्ध जन्मस्थल लुम्बिनीको महत्त्वलाई ध्यानमा राखी साझा चिनारीका रुपमा प्रदेशको नाम लुम्बिनी प्रदेश नामकरण गरियोस् भन्ने प्रस्ताव सदनसमक्ष प्रस्तुत भएकाे थियो । प्रदेशको नाम लुम्बिनी राख्ने प्रस्तावमा ७९ मत परेको थियो भने विपक्षमा ४ मत परेको थियाे ।  मतदानमा ८३ जना उपस्थित थिए । २०७४ सालमा गठन भएको प्रदेश सभाले अढाइ वर्षपछि नाम र स्थायी राजधानी तोक्न सकेको हो ।

तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको  नेपाल सरकारले प्रदेश ५ को अस्थायी राजधानी बुटवललाई बनाएको थियो । संविधानको प्रदत्त अधिकार अनुसार  संविधानको धारा २८८ (२) मा प्रदेशको राजधानी प्रदेश सभाले तोक्ने व्यवस्था गरिएको छ । त्यस्तै, धारा २९५ (२) मा प्रदेशको नामाकरण सम्बन्धित प्रदेश सभाको सम्पूर्ण सदस्य संख्याको दुई तिहाइ बहुमतबाट हुने व्यवस्था गरिएको छ।

#लुम्बिनी प्रदेश