नाग वंश कि सर्प ?

427

 

 

 

चक्रपाणि गौतम

          हिन्दु सभ्यता समतामूलक सभ्यता हो । यो सभ्यताले सबै प्राणीमा समभाव र पूज्यताको निर्देशन गरेको छ । सुरमुनिदेखि भुसुनासम्म सबैका घटमा परमात्मा रहने भएका कारण कुनै न कुनै अवसरमा सृष्टिका सवै जीव पूजित हुन्छन । यसकारण सनातन हिन्दु सभ्यता र यसका प्रतिपादक शास्त्रहरु अति पूजनीय मननीय पनि छन ।
श्रावण शुक्ल पंचमीका दिनलाई हिन्दु संस्कृतिमा नागपंचमीका रुपमा सर्पको प्रतिकृति बनाएर पूजा गर्ने परम्परा रहि आएको छ । सर्पपूजा प्रकृतिका सवै प्राणिहरुमा समभाव राख्ने पर्वका रुपमा आजसम्म मनाई आएको पर्व हो । यसलाई भौतिकवादी र जीवप्रेमीहरु प्रकृतिपूजाका रुपमा मान्दछन भनें अध्यात्ममा विश्वासगर्नेहरु पाप तापमोचन गर्ने शक्तिशाली सर्पको प्रशन्नताका लागि पूजा गरिएको विश्वास गर्छन । सर्पलाई नागका रुपमा किन पूजा गरियो यो संस्कृति अध्ययनको विषय हुनसक्छ यसकारण आज हामी नागपूजाका सन्दर्भमा केही विवेचना गरौं ।
अव प्रश्न गरौ के हामीले पंचमीका दिन पूजा गर्ने नाग हाम्रा प्रकृतिमा रहेका सरिसृपहरु नै हुन त ? प्राचीनकालमा मनुष्यको वास प्रकृति पशुपक्षि र कुनै न कुनै प्राणीहरुका छेउछाउ नै रहेको पाईछ यसकारण मानिसले पनि आफ्नो नाम आफूले रचनागरेका ग्रन्थ उपकरण यन्त्र सबैका नाम प्रकृतिका प्राणीहरुकै नामबाट राखेको पाईन्छ । ऋषिहरुमा कच्छप शव्दबाट कश्यप , गौ शव्दबाट गौतम ,शुक शव्दवाट पिप्पलाद बनेको पाइन्छ । यसबाट के प्रमाणित हुन्छ भने मानिसले पशु पक्षि ग्रह नक्षत्र आदिबाट नै आफ्नो नाम राख्ने गर्दथे । त्यस्तै ऋषिमहर्षिहरुले आफ्ना ग्रन्थ उपनिषदहरु पनि यसरी नै रचना गरेको पाईन्छ माण्डुक्योपनिषद मण्डुक अर्थात भ्यागुत्ताका नामबाट राखिएको पाईन्छ भने आश्वलायन तैतिरिय वराह श्वेताश्वतर क्रमसः घोडाबॉध्ने तवेला , तित्रा , बंदेल र सेतो खच्चडका नामबाट राखिएको पाईन्छ । प्रायस सबै उपनिषद प्राणी वा प्रकृतिका जीव वा वस्तुबाटै राखिएको देखिन्छ । अझ उपनिषदलाई अरण्य पनि भनिन्छ जसको अर्थ जंगल हो । यसबाट के सिद्ध हुन्छ भनें प्रकृतिसंग सामिप्यताका कारण नै मनुष्यले आफ्नु र आफ्ना आविष्कारको नाम प्रकृतिका जीवसंग मिल्ने प्रकारका राख्ने प्रचलन थियो ।
प्रकृतिमा धेरैमानिसहरुको मुख कुनै न कुनै प्राणीसंग मिल्दो जुल्दो पनि हुन्छ । यस कारण प्राचीनकालमा जुन मानिसको अनुहार जुन प्राणीसंग मिल्दो जुल्दो हुन्थ्यो उसको नाम पनि त्यही प्राणीसंग मिल्दो जुल्दो गरि राखिन्थ्यो । मानिसका विभिन्न प्राणीसंगका मिल्दो जुल्दो स्वरुपका बारेमा सामुद्रिक शासत्रमा सर्वत्र बर्णन गरेको पाईन्छ ।
प्रकृतिको विज्ञान विशेष प्रकारको छ । भौगोलिक भिन्नताका कारण मानिसको रुप पनि भिन्न भिन्न हुने गर्दछ जसलाई वेदान्तदर्शनमा देश बैचित्र्यवाद भनिन्छ । प्राचीनकालमा जुन समाज वा समुदायको प्राणीसंग समान स्वरुप देखियो त्यो समुदायलाई त्यही प्राणीको नामका आधारमा नामाकरण गरियो । जव समाज केही सभ्य बन्दै गयो उसको नाम पशु पक्षि प्रकृतिदेखि भिन्न व्यक्तिको ज्ञान सीप र कलाका आधारमा राखिन सुरु भयो । प्रसिद्ध संस्कृत साहित्य कथासरित्सागरमा नागलोकको विशेष वर्णन पाईन्छ । गरुडपुराण लगायतका विभिन्न पुराणहरुमा पनि नाग र नागलोकका सम्बन्धमा विशेष विवेचना गरिएको पाईन्छ । यसरी मानव सभ्यता र चेतनास्तरको अभिबृद्धिसंगै नाममा विशेषता र आधुनिकता झल्काउने परम्परा चलि आएको पाइन्छ । प्रचीनकालमा समाज आफ्नो स्थान परिवेश पशु पक्षि र प्रकृतिको नाम आफै राख्ने गर्दथ्यो किन भने त्यही परिवेशबाट उसको जीवन चलेको हुन्थ्यो ।
वास्तवमा प्राचीन आदिवासी जनजातीय समुदायमा आफ्नो प्रतीक चिन्ह ध्वजामा स्थानीय पशुपंक्षिको चित्र अंकित हुन्थ्यो र त्यो प्रतीकमा अंकित प्राणीसंग समुदायको विशेष सम्बन्ध रहन्थ्यो । यसकारण कुनै समुदायले आफ्नु समुदायको प्रतीक सर्पका नाममा आफ्नो समुदायको नाम राख्यो भनें त्यस समाजलाई सरिसृप भन्नु हुदैन । प्रारम्भमा जव पृथ्वीलाई भौगोलिक रुपमा विभाजन गरेर जम्बु आदि सात द्विपमा विभाजन गरियो यसको आधार ती द्विपहरुको प्रकृति थियो । जम्बुबृक्षले भरिभराउ भएका कारण सबै द्विपहरुका बीचमा रहेको यस द्विपलाई जम्बुद्पि भनेर नामाकरण गरियो । विश्वका सवै देशहरुमा नागको पूजा हुन्छ र भारतवर्षमा यसको विशेष पूजा हुने गरेको छ किनकि यो प्राणी रहस्यमयी प्राणी हो । नागमा अनेक शक्ति हुन्छ प्रकृति पर्यावरणमा यसको महत्वपूर्ण भुमिका रहन्छ यसकारण अधिकांश जनजातीय समुदायले आफ्नो समुदायको नाम नागका नाममा राखेका हुन ।
भारतवर्षमा कश्यप ऋषिका विभिन्न पत्नीमध्ये कद्रू नाम गरेकी पत्नी नागवंशमा जन्मिएकी थिईन र उनीबाट अनन्त बासुकी पद्म महापद्म आदि नाम भएका आठ सन्तानहरु जन्मिए । कश्यप कद्रुका यिनै आठ सन्तानहरुलाई नागवंशका अष्टकुल मानिए र कालान्तरमा यिनै नागकुलका वंशजहरुका विभिन्न वंशधरहरुले सर्वत्र वंशविस्तार गरेर पूजित भए । आफूलाई नागवंशका वंशधर मान्ने समुदायहरु संसार भरि रहेका छन , जापानको राज घराना पनि आफूलाई नागकुलका वंशधर भएको बतादै आएको छ भनें । तिब्बतीहरु र यसका आसपासका क्षेत्रका बासिन्दाहरु आफ्नु भाषालाई नागभाषा मान्दछन । भारतको नागालेण्डका नागाहरुको साम्राज्यको ईतिहास पनि पाकिस्तानदेखि बंगलादेशसम्म रहेको पाईन्छ ।
भारतवर्षको ईतिहासमा तक्षक तुनत तुस्त आदि नागवंशी नागा राजाहरुको विश्वविजयको ईतिहास पढन सकिन्छ । भारतवर्षका नागवंशी नागाहरु साम्राज्य विस्तार गर्दै विश्वका जुन जुन स्थानमा गए त्यस स्थानमा पूजित भए भन्ने ईतिहास पाईन्छ । यसर्थ पौराणिक कालदेखि पूजिएका नागहरु नागवंशी पराक्रमी राजाहरु थिए भन्न सकिन्छ । महाभारतकालमा नागवंशी राजाहरु हिमालपारीबाट आएको पाईन्छ यसपछि उनीहरुको उत्कर्षको थलो भारतको कश्मिर प्रान्त र यसको आसपासका क्षेत्र भएको मानिन्छ । विशेष गरेर कश्मिरको अनन्तनाग नागवंश विस्तारको थलो मानिन्छ । यसरि नागहरु जहा जहा प्रभुत्व जमाउन पुगे त्यस ठॉउको नाम नागसंग सम्बन्धित रहन पुग्यो । कश्मिरको अनन्तनागमा आज पनि नाग उपाधि धारण गरेका ब्राह्मणको समुदाय छ । नागहरुमा सर्वश्रेष्ठ शेषनाग मानिन्छन यिनै शेषनागलाई अनन्तनाग भनेर भनिएको हो भन्ने ईतिहासविदहरु बताउछन ।
नागसंग सम्बन्धित कतिपय मिथ र किम्बन्तिहरु आज पनि प्रचलित छन । जव नागवंश विश्वका प्रत्येक गॉउ शहरमा पस्यो उनीहरुको पूज्य प्रतीक नागको पूजाको संस्कृतिले निरन्तरता पाईरह्यो । नागपूजाको परम्परा पौराणिककालको प्रकृति र मानव सभ्यताको परिचायक परम्परा हो ।