दशैमा कुमारीपूजा : बलात्कार बिरुद्धको आध्यात्मिक अभियान

322

सरस्वती प्रज्ञा

आश्विन शुक्ल प्रतिपदादेखि नौ दिनसम्म आयोजना गरिने दुर्गापूजा सनातन सभ्यताको अति उत्कृष्ट पर्व हो , बहुआयामिक उद्देश्य बोकेको यो पर्वलाई हाम्रा क्रान्तदर्शी ऋषिहरुको सभ्य संयमित र समुन्नत समाज निर्माण अभियानको महानतम पर्वका रुपमा स्वीकार गर्न सकिन्छ । हाम्रा पूर्वजहरुमा समयको परिवर्तनसंगै समाजमा आउने भौतिक ब्यवहारिक र मानसिक परिवर्तन सम्बन्धमा अति संवेदनशील ढंगले मनन गर्ने संस्कृति रहेको पाईन्छ । पुराण अथवा कुनै पनि ग्रन्थको उपोद्घातमा ऋषिहरुले विज्ञसंग प्रश्न गर्दै भन्ने गर्दछन आगामी समयमा मानिसहरु मन्दमति अल्पायु रोगी विषय बासनामामात्र मन लगाउने र पापकर्ममा मात्र लागिरहने हुन्छन , उनीहरुमा विचारशून्यता रहन्छ भौतिक विज्ञानमात्र विश्वास गर्न बाध्य हुन्छन यसकारण उनहिरुमा अति दुःख बढदछ यसकारण कलियुगका मनुस्यको विचार व्यवहार र संस्कार परिवर्तन गर्ने सहज उपाय के हुन सक्छ ? यिनै प्रश्नहरुले उब्जाएका समस्याहरुको समाधानरुप सवै पुराण र यसका कथा विधिनिषेध र कर्मनिर्देशनका नियमहरु बनेका हुन । यसैकारण पुराणका सबै कथा पात्र र चरित्र सबैको विशेष प्रयोजन हुन्छ । कथाका माध्यमले मनोसामाजिक परामर्श प्रदान गरिन्छ । पुराणका कथाहरुका ईतिहास पक्ष र दार्शनिक पक्ष हुने गर्दछन
सरल र सामान्य बौद्धिकता भएकाहरुका लागि कथाले आफै विचार निर्माण गर्दछ भने प्रखर बौद्धिकता भएकाहरुका लागि कथाको दार्शनिक पक्षको विवेचना व्याख्या गरिन्छ । यसकारण पुराणका कथाहरुको व्याख्या अथाह भनिन्छ ।
पुराणहरुले मानवता नारी पुरुषसम्बन्ध गृहस्थ जीवनको धर्म कर्म कर्तव्य जस्ता विषयहरुमा गम्भीरतापूर्वक अध्ययन गरेर समाजको सुब्यवस्था कायम गर्न कतिपय विधिहरुको निर्माण गरेका हुन्छन । यस्तै विधिहरुमा आश्विन शुक्लपक्षका नौ दिनहरु दुर्गापूजनका लागि निर्देशन गरिएको छ । देवी भागवत मार्कण्डेय पुराण जस्ता ग्रन्थहरुमा शक्तितत्वको विवेचनापूर्वक यो समयअवधीमा मातृशक्तिको उपासना सहित देवी उपासना गरिन्छ । प्रतिपदा तिथिका दिन घटस्थापना गरि दैनिक देवी स्तोत्र पाठ आरति आदि गरेर श्रद्धा र शक्ति अनुसार निराहार वा फलाहारगरि ब्रत बसेर संयमपूर्वक दुर्गाउपासना गरिन्छ । प्रत्येक दिन वा नवरात्र समापनका दिन घरमा छर छिमेकका कुमारी कन्याहरु निमन्त्रणा गरेर आफ्नु घरका कुमार बालक सहित हजुर बुबा बुबा र नाती समेतले कुमारीहरुको खुट्टा धोएर पानी खाने ढोग्ने र पूजा गर्ने कर्महरु गरिन्छ , यस प्रकारको कर्मले ती बालिकाहरु प्रति मानव मन अति कोमल बन्दछ , नारीहरुलाई सम्मान गर्न मनोबैज्ञानिक प्रभाव पर्दछ । हाम्रा समाजमा हुने बलात्कार र ब्यभिचारहरु प्रायस आफन्त वा छर छिमेकीबाट नै हुने गर्दछन । परन्तु यसरी प्रत्येक सनातनीका घरमा बर्षमा दुईपटक आउने दुर्गापूजाका अवसरमा नियमित आफ्ना छोरानातीहरुका अगाडी कुमारी कन्याहरुको विधिपूर्वक पूजन गर्ने हो भनें यसको मनोबैज्ञानिक प्रभावले युवावस्थामा पुगेको कुनै पनि पुरुषले ती स्त्रीहरुमाथि ब्यभिचारको दृष्टिले हेर्नै सक्दैन । ऋषिमहर्षीहरुले यही सामाजिक सुब्यवस्थाका लक्ष्यकासाथ दुर्गापूजामा कुमारीपूजा गर्ने नियम राखेका हुन ।