धैर्य धर्मको सारथी

237

 

सरस्वती प्रज्ञा

धैर्यवान हुनु साधारण काम होईन । आजको युगमा धैर्यवान हुनु सबै भन्दा कठीन काम हो । धैर्यवान हुनु ब्यक्तिको विशेषता हो र यो निरन्तर विकशित भईरहनु पर्दछ । महर्षी मनुको भनाई अनुसार धैर्यता धर्मको रुप हो । धैर्यता, क्षमाशीलता ,चोरी नगर्नु , मनोद्वेगलाई नियन्त्रण गर्नु आदि दस प्रकारका गुणहरु धर्मका लक्षण हुन र यी लक्षणहरु मध्ये सबैभन्दा प्रथम गुण धैर्यता अर्थात शहनशीलता हो । कार्यमा धैर्यवान बन्न अभ्यास गर्नु पर्दछ र अभ्यस्त बन्नु पनि सरल कार्य भनें होईन । लक्षप्राप्तिका लागि अभ्यस्त हुनु पर्दछ । किनकि अभ्यासबाट नै गन्तब्यमा पुग्न सकिन्छ तर बिचारणीय कुरा के छ भनें कुनै पनि कार्यको उद्गमबाट गन्तब्यमा पुग्नु सरल हुदैन । निश्चय पनि लक्षप्राप्तिको लामु बाटोमा अनेक अवरोध र कठिनाईहरु आउछन ,जसकारण मनुस्यको लक्षप्राप्तिको गति रोकिन पनि सक्छ । कार्यमा मानिसलाई पूर्ण अनुभव नहुदा पनि अवरोध आउछ र ती अवरोधहरुले हतास र निरास पनि बनाउदछ । तर अवरोधकै कारण जसले आफ्नो लक्षप्राप्तिको कदमलाई रोक्दछ उ निश्चय नै असफल बन्दछ तर व्यक्तिसंग पर्याप्त अनुभव छ र कार्य प्रगतिको साधन पहिचान गर्न सक्छ भने उ सधै सफल बन्दछ । शास्त्र अनुसार धैर्यको अर्थ शान्तिपूर्ण कदम उठाउनु र परिणामको प्रतीक्षा गर्नु भन्ने हुन्छ । अधैर्य भनेको कुनै पनि कार्यको तुरुन्त परिणाम प्राप्त गर्ने चाहना राख्नु भन्ने हुन्छ । अधैर्यता नै मानिसको असफलताको कारक मानिन्छ ।यसर्थ अधैर्यतालाई मानिसको सबै भन्दा ठूलो कमजोरी मानिन्छ । शब्दकोष अनुसार धैर्यको अर्थ स्वयंलाई रोक्नु भन्ने हुन्छ । धैर्यको वास्तविक अर्थ लक्षप्राप्तिमा पुग्न विलम्ब हुने वा अधिक अवरोध हुने कार्यलाई रोकेर समुचित विचारपूर्वक अघि बढनु नै धर्मको नैतिक परिभाषा हो । धैर्यको आध्यात्मिक परिभाषा अनुसार मर्यादित जीवन यापन गर्दै ईश्वरको परिपूर्णतासम्म पुग्नु हो । जीवनमा सफलताको शिखरमा पुग्न धैर्यता नै सांचो सारथी हो । जव जव जीवनमा आशाका किरणमा ग्रहण लागेको महसुस हुन्छ त्यसबेला धैर्यता नै उज्यालो किरण ल्याउने माध्यम बन्दछ । यस कारण जीवनमा लक्षसम्म पुग्न मानवले धैर्यरुपी सदाचारलाई आफ्नु साथी र सारथी बनाउनु पर्दछ ।