वैष्णव मन्दिरमा गोदा कल्याण उत्सव मनाईदै

247

चक्रपाणि गौतम

पौष २७ गते नेपालमा रहेका श्रीसम्प्रदायका मन्दिरहरुमा आण्डाल नामले पूजा आराधना गरिने गोदा देबीको विवाह उत्सव मनाईदै छ ।कलियुगमा भगवान नायणप्रति अनन्य प्रेम गरेर नारायणसंगै विवाह बन्धनमा बा“धिएकी आण्डाल र भगवान नारायणको विवाह उत्सवले हामीले भगवानप्रति गरिनुपर्ने आत्मसमर्पणको भावलाई सम्झाउने र हामी केवल भगवानका भोग्य हौ भन्ने शिक्षा यो विवाह उत्सवले दिने कुरा श्री लक्ष्मीनारायण मन्दिर पाञ्चाली बिराटनगरका मडाधीश १०८ स्वामी अच्युत प्रपन्नचार्य बताउनु हुन्छ । वैष्णवग्रन्थ अनुसार भगवानका तीन अनन्य शक्ति मध्ये गोदा देवीलाई भूदेवीको अवतारका रुपमा मानिन्छ । भगवान नारायण रंगनाथका रुपमा दक्षिण भारतमा बिराजमान भएपछि भगवानको प्रसन्नताका लागि नारायणकी अनन्य शक्ति स्वरुपा भू देवीले पनि पृथ्वीमा अवतार लिएर भगवानप्रति अनन्य निष्ठा जगाउदै भगवान नारायणमामात्र पतिभाव राख्पर्छ र संसारमा जन्मनुको अर्थ नारायणको सेवा र नारायण मै समर्पण हो भन्ने शिक्षा दिएकाले गोदा विवाह उत्सव मनाउनु पर्ने कुरा श्री लक्ष्मीनारायण मन्दिर माईधार झापाका महन्त १०८ स्वामी श्री केशवाचार्य बताउनु हुन्छ । दक्षिण भारतमा भगवानको कृपाबाट सिद्धि प्राप्त गरेकालाई आल्वार भनिन्छ र यी आल्वारहरुले देहाभिमानी संसारि मानिसहरुको आफ्ना कर्तब्यको ज्ञान र चेतना जगाएका थिए भने आण्डालले भगवानलाई नै जीवहरुप्रति केन्द्रित हुनका लागि जगाउनु भएको थियो । यसरी भगवानलाई नै आफ्नो कर्तव्यको स्मरण गराउने सन्त आल्वार गोदा देवीले स्वयं भगवानकी पत्नी बनेर पतीलाई कर्तव्यबोध गराउनुले कलियुगमा पतीपत्नी सम्बन्धको महत्व दर्शाएको कुरा धर्मशास्त्रका अध्येता चक्रपाणि गौतम बताउनु हुन्छ । श्री लक्ष्मीनारायण मन्दिर धनगढीका मठाधीश अनन्त श्री विभूषित स्वामी देवराजाचार्य भन्नुहुन्छ वैष्णव परम्परामा सन्तका रुपमा परिचित गोदा देवी स्त्री देहधारी हुनुहुन्छ र अन्य आल्वारहरु पुरुष देहधारी हुनुहुन्थ्यो । स्त्री देहधारणका कारण माता आण्डालको भगवानप्रति पतिभावले अनुराग र अत्मनिवेदन स्वाभाविक हो । पुरुषदेह प्राप्त अन्य आल्वारहरु भन्दा स्त्री देहप्राप्त गरेकी गोदा देवीको भगवत भक्ति अरु भन्दा उत्कृष्ट रहेको स्वामी देवराजाचार्यले बताउनु भयो ।
पिल्लै लोकाचार्यद्वारा रचित श्रीबचनभूषण नामको ग्रन्थ अनुसार गोदादेवी ब्राह्मण कुलमा जन्मिए पनि जन्म र जातीको भेद रहित भएर भगवानमा आफूलाई समर्पण गर्नु पर्ने र भगवान प्रप्त गर्नका लागि भगवदभक्ति नै सबै भन्दा ठूलो जाती भएको बताउनु हुन्छ । ब्राह्मण कुलमा जन्मिएर पनि गोदा देवी आफू बृन्दावनमा गोप स्त्रीका रुपमा जन्मन चाहेको कुरा श्रीबचनभूषणमा उल्लेख गरिएको छ ।
पुस महिनाभरी गोदादेवीले रचना गरेको तिरुपाब्बै प्रबन्धको पाठ र त्यसको कथा सुन्ने सुनाउने गरिन्छ । भगवानको मंगल कमनाका लागि स्तुतीका रुपमा पाठ गरिने यो प्रबन्ध ग्रन्थले भगवान र भक्तलाई आफ्ना कर्तव्यप्रति एकसाथ जागृत गराउने कुरा वैष्णवाचार्यहरु बताउनु हुन्छ ।
धनुर्मासको (पौष )२७ औ दिन भने गोदा देवीले आफूलाई भगवानमा समर्पण गरेर विवाह गरेका कारण धनुर्मासका गोदा विवाह उत्सव मनाउने गरिएको स्वामी घनाश्यामाचार्यले बताउनु भयो ।