चक्रपाणि गौतम
ज्योतिष शास्त्र वेदको आ“खा हो । आ“खाको काम हेर्ने हो दृष्टि गोचर गर्नु हो । ज्योतिष यो शब्द ज्योतिबाट निस्पन्न हुन्छ । शब्दकोष अनुसार ज्योतिको अर्थ प्रकाश ,द्युति अग्निशिखा अग्नि सूर्य चन्द्रमा नक्षत्र आ“खाको नानी भनिन्छ । माथिका सबै वस्तुहरुको कार्य देखाउनु प्रकाशित गर्नु हो । सरल भाषामा मिमांशा गर्दा ज्योतिष शास्त्र आकाशमा रहेका ग्रह नक्षत्र ताराहरुका माध्यमले व्यक्तिको वर्तमान भूत र भविष्य हेर्ने दृष्टिगोचर गर्ने विद्या नै ज्योतिषविद्या हो । आजको आस्तिक समाजले पनि यो विद्या वा विधाका बारेमा यत्तिमात्र बुझेको छ । यो विद्यालाई आस्तिकमात्र हैन नास्तिक र भौतिकवादी द्वन्द्वात्मक भौतिकवादीले समेतले विश्वास गरेका छन । आधुनिक भनिने मानिसहरु पनि यो विधालाई मान्दछन यसलाई विज्ञान हो भन्दछन । र ज्योतिष विज्ञान नै हो पनि तर यो इलेक्ट्रोन र प्रोटोनको सिद्धान्त आधारित विज्ञान भने हैन । यो विज्ञान वेदको विज्ञान हो , ज्योतिष वेदान्तदर्शन हो । वेदान्तले प्रतिपादन गरेको विषय ईश्वर , आत्मा र प्रकृतिबीचको सम्बन्ध हो । वेदान्तको ब्याख्यान गर्ने पुराण उपनिषदहरुका अनुसार प्राणिको जन्म, जन्मान्तर र प्राणि प्राणिबीचको जन्मान्तरिय सम्बन्ध अकारण हुदैन संयोगवस हुदैन यसमा कर्मरहस्य कारण हुन्छ । शास्त्र अनुसार चौरासीलाख योनीको व्यवस्था मानवले गरेका कुकर्मको फल भोग्नका लागि गरिएको हो । मानव जीवन बाहेक अरु जति पनि जीवन छन ती सबैलाई भोगायतन शरिर भनेर वेद वेदान्त र पुराणहरुले विवेचना गरेका छन । तर भौतिकवाद र अतिभौतिकवाद एक आपसमा द्वन्द्वात्मक भौतिकवादसंग सम्बन्ध राख्दछन । द्वन्द्वात्मक भौतिकवाद भनें डर्विनको विकाशवादसंग मित लगाएर स्थापित भएको दर्शन हो । यो द्वन्द्वात्मक भौतिकवादले जीवविज्ञान र जीवनबिज्ञानको रहस्य प्राकृतिक र सामयिक हो भनेर मीमांशा गर्दछ । आत्मा परमात्माको सत्ता र रहस्यप्रति द्न्द्वात्मक भौतिकवाद कुनै सम्बन्ध र विश्वास राख्दैन ।सृष्टिरहस्य र जीव जीवन विज्ञान समय अनुसार स्वतः परिवर्तन हुने कुरा हो भनेर अडान राख्दछ ।
यता आधुनिक खगोलविज्ञान भने अनुत्तरित अध्ययनमा मात्र सिमित छ, आकाशका ग्रहपिण्ड तारानक्षत्र आदि गुरुत्वाकर्षणका माध्यमले एक आपसमा भ्रमण गर्दछन यो खगोलको नियमित प्रकृया हो भन्ने धारणा राख्दछन । तर ग्रहहरुले एकआपसमा किन आकर्षित हुनुपर्ने वा यो आकर्षणीय व्यवस्था कसले गर्यो भन्ने प्रश्नको उत्तर सहज रुपले दिनै सक्दैनन । ग्रहगति उदय अस्त ग्रहण गण्डात आदिबाट हुने शुभ अशुभ फलसंग त आधुनिक खगोलशास्त्रको रुचि र सम्बन्ध नै छैन । अपवादका रुपमा केही भारतीय आधुनिक खगोलशास्त्रीहरु भने यस विषयमा केही रुचि राख्दछन जो उनीहरुको संस्कार हो ।
प्राचीन खगोलशास्त्र भनें आस्तिक दर्शन आधारित शास्त्र हो । प्रचीन खगोलशास्त्रले पनि आकाशमा भएका ग्रहपिण्ड तारा नक्षत्रसमूहहरु एक आपसमा गुरुत्वाकर्षणकै आधारमा टिकेका छन भन्ने कुराको समर्थन गर्दछन । सनातन हिन्दु शास्त्रको व्याख्यान अनुसार ग्रह नक्षत्र तारासमूह आगो समुन्द्र हावा पानी सबै ईश्वरले स्थापित गरेको स्थायी व्यवस्थापकीय अनुशासनमा रहेर आ आफ्नो कार्य गरिरहन्छन ।
मद्भयात वाति वातोयं सूर्यस्तपति मद्भयात ।
वर्षतिन्द्रो दहत्यग्नि मृत्युश्चरति मद्भयात ।। भागवतमहापुराण ।। यसको भावार्थ के हो भनें सारा प्रकृतिमा देखिएका सबै कुराहारु ईश्वरकै नियममा रहेर चलेका छन । कल्पना गरौ समुद्रले आफ्नु मर्यादा बिर्सेर आफ्नु परिधि भन्दा बाहिर आउने हो भनें के होला ? हावाले आफ्नु अनुशासन त्याग्ने हो भने. ? यसरी प्रकृतिमा भएका पंचतत्व सबै आ आफ्नु अनुशासनमा रहेकै कारण प्रकृति प्राणि र मानवसत्ता कायम छ । यसकारण प्राचीन हिन्दु खगोलशास्त्रीहरुले वेद पुराणको मर्यादालाई आधार मानेर आस्तिकतापूर्ण ढंगले ज्योतिषविज्ञानको अनुसन्धान गरे । खगोलको गोल परिचय गराउने प्रथम व्यक्ति वेदव्यास हुन । यसपछि मध्यकालमा बराहमिहिर जस्ता अध्येताले यसलाई मलजल गरे , आकाश पृथ्वी र भूगर्भका विषयमा विशेष रुपले अध्ययन भएको छ ।
अव प्रसंग तर्फ लागौं , हामीले ज्योतिषविद्याको भौतिक र आध्यात्मिक धरातलको सामान्य विवेचना गरिसक्यौ । आजभोली यो विद्याको खुव प्रयोग उपयोग भएको पाईन्छ । यसलाई भौतिकवादी नास्तिकले पनि विज्ञान भनिदिएपछि त यसका व्याख्याताहरुप्रति सर्वसाधारणको आकर्षण नहुने कुरै भएन । मानिस सधै भोलिको बारेमा जान्ने चेष्टा गर्दछ यो मानवको प्रबृत्ति नै हो ।समाजशास्त्रीय भाषामा भन्दा भोलिको भय र आजको भ्रमले मानिसलाई जिज्ञासु बनायो र ज्योतिषीसंग पुर्यायो । ज्योतिष शास्त्र कर्मवाद र कर्मविपाकको दार्शनिक शास्त्र हो भन्ने कुरा ज्योतिषीसंग सम्पर्क गर्ने सबैले बुझ्नु पर्दछ । खराव परिस्थितिलाई पुरुषार्थ गरेर सहज बनाउनु पर्दछ भन्ने उपनिषदको व्याख्यानलाई पनि ज्योतिषीहरुले बुझ्नु पर्दछ । मानव जीवन शतप्रतिशत भाग्यमामात्र आधारित हुदैन प्रारब्ध चै भोग्नै पर्दछ । हाम्रा कठीनाईहरुको कारण पूर्वजन्मको कर्मफल हो भन्ने कुरा नबुझेसम्म दुःखले हामीलाई दुःखी बनाईरहन्छ ।
अव कुरा गरौ ज्योतिष व्याख्यानको । व्यक्तिको ग्रहस्थिति अनुसार परिस्थिति अनुकूल प्रतिकूल भईरहन्छ सुख दुःख आई गई रहन्छन र प्रतिकूलतामा धैर्यधारण ईश्वर स्मरण ग्रहका मन्त्रजप , दान त्याग उत्सर्ग जस्ता कर्महरु गर्नै पर्दछ । यसको सामाजिक लौकिक र पारलौकिक सबै प्रकारका फाईदा हुन्छन । ज्योतिषका फलकथन गर्ने मान्य ग्रन्थहरुले आदेश गरेकामात्र कर्महरु गर्नु पर्दछ । दिनैपिच्छे गायत्री जप धर्माचरण नगरि हुदैन । साथै फल भनिदिने ज्योतिषीले त अझ बढी धर्माचरण गर्नु पर्दछ । नियमित विधिपूर्वक सन्ध्याबन्दन , गायत्री जप देवपूजा नगर्ने ज्योतिषीको फल कथन मिथ्या ठहर्छ ।
आजभोलि समाजमा समस्याका कारण ज्योतिषीहरु पनि रहेका छन । अलग अलग ज्योतिषीकोमा गएर हेराउदा प्रत्येकले अलग अलग कुरा बताएको गुनासो जातकहरुले गर्दछन । यसको कारण साधना अध्यवसाय र अध्ययनरहित ज्योतिषी नै हुन । अति साधना अध्ययन र संयमलेमात्र सिद्ध हुने ज्योतिषविद्या बजारमा यति सस्तो र बिकाउ देखिएको छ जसले ज्योतिषको विश्वसनीयतामा शंका गर्न सकिन्छ । ज्योतिष विद्या गुप्तविद्या हो । कुपात्रका हातमा परेको ज्योतिष विद्याले मानिसको जीवन बर्बाद बनाउदछ भन्दै यस विद्याका प्रणेता भगवान शिव पार्वतीलाई भन्नु हुन्छ कुपात्रले यो विद्या ग्रहण गर्यो भनें जातक र ज्योतिषी दुबै नरक जान्छन । यसर्थ यो विज्ञानको प्रयोग गर्दा सचेत बनौ सावधानी अपनाऔं ।