बजारिया पूजासामग्री र पुरोहितहरु

656

 

सरस्वती प्रज्ञा

 

महंगीको समय छ । जता पनि महंगी नै महंगी । पैसाले थेग्न कठिन छ । सामान्य आम्दानी भएकाहरुले चर्को खर्च गरेर केही धान्न सक्दैनन । परिवारको खानपान, सन्तानको अध्ययन बृद्ध बा आमाको औषधि उपचार त छदै छ पाहुनापासाको सत्कार छिमेकीका नानीहरुको जन्मदिन , नियमित आउने चाडवाड र मसलन्द खर्च । अहिले सामान्य अवस्था भएका व्यक्तिले घर धान्नु निक्कै कठीन कुरा हो । अनि फेरी आस्तिक हामीहरु कहिले पूजापाठ ग्रहशान्ति आमा बुबाको चौरासी गर्ने ईच्छा यी सव कुराले सताउछदा त अझै मन विरक्त बनाउदछ । तर पनि गर्नै पर्ने धान्नै पर्ने ।
आमा हजुरको बर्थ डे भोली , मैले भने हो त अनि ? छोराले भन्यो
पशुपति जान्छु पूजा गरेर आउछु मैले भनें , हैन घरमै पूजा गरौ न त , बाजे बोलाएर । ठूलो छोराले ईच्छा जाहेर गर्यो । मैले गुरुजीलाई फोन गरें गुरुजीले पूजामा लाग्ने सामानको लिस्ट पठाईदिन्छु फलानु दोकानबाट किनेर ल्याउनु भनेर आज्ञा गर्नु भो । बजार गयें गुरुजीको लिस्ट दियें सामान बोकेर घर आयें मनमा खुल्दुली भो । आफ्नै हातले बाती कातने दुना टपरा बनाउने र पूजा सरजाम तयारगर्ने जा“गर त कसैमा छैन कमर्सियल कर्ता र कमर्सियल पूजा भै सकेको आभास पहिलोपल्ट मलाई भयो , कमर्सियल त के कामचलाउ धर्मकर्म र कर्मकाण्डले धर्मको धज्जी उडाएको बेलामा म के भनौं आफ्नै पुरोहितबाट के अपेक्षा राख्ने ग्रहशान्तिको कस्तो आशा गर्ने । भोलिको पूजा मनमा खुल्दुली भो झापातिरका आत्मीय मित्रलाई बजारबाट ल्याएका सर्जाम देखायें । साना साना बट्टामा के के जाती धूलो केही प्लास्टिकका दाना , प्लास्टिकका सानासाना मूर्तिहरु रहेछन मैले सोधें यो के हो ? वहाले भन्नु भो यो सप्तमृत्तिका रे यसमा हात्तीसार , तबेला, धमिराको ढिस्को , नदीसंगम , राजदरवार , सेनाको परेडस्थल, तलाउ आदि सात ठाउ“को पवित्रमाटो मृदाहरण मूहुर्तका दिन संग्रह गरेर ल्याउनु पर्छ । अनि अर्को बट्टाको बारेमा सोधें त्यो बट्टा पंचरत्नको रे त्यहा“ सुन माणिक्य , नीलमणि , मरकत मणि, मोती हुनु पर्ने रे । अनि मैले प्रत्येक सर्जामका प्याकेट खोल्दै सोधिरहे वहाले उत्तर दिईरहनु भयो । अन्तमा मैले भनें यी चिजहरुले के गरिन्छ छ त ? अनि सुन चादी माणिक्य जस्ता बस्तुहरु २५ रुपिया“को पाकेटमा किन्न सकिने जमाना अझै रहेछ नि गुरुजी ?
अध्यात्मको अति गहन अध्ययन भएका व्यक्ति भएका कारण वहाले मलाई उपासना पूजा र पूजामा लाग्ने हरेक पदार्थका बारेमा अति चित्तबुझ्ने जवाफ दिनु भो । फूल किन चढाउनेदेखि कुनै कुरामा तुस नै रहेन ।पूजाको विज्ञान मनोविज्ञान समाजविज्ञान शास्त्रविज्ञान कुनै पक्षमा पनि मलाई तुस र शंका नरहेपछि मैले फेरी उही प्रश्न गरें के यी पूजासामग्रीले हाम्रो कर्म सफल हुन्छ त ? जुन सामग्री नक्कलीमात्र हैन अति अपवित्र छन , मैले पूजा गर्नुपर्ने अष्टचिरंजीवि यिनै सस्ता सामानबाट खुसी हुन्छन त ? वहाले मुस्कुराउदै भन्नु भो सरस्वती π हिन्दु धर्म पर्याप्त बिकल्प भएको धर्म हो । हिन्दु धर्मले प्रतिपादन गरेका पूजापाठ यज्ञयाग श्राद्धतर्पण सबै कुरामा पवित्र चिजको प्रयोग गर्नु पर्छ , आफ्नै हातले पूजा सामग्री संकलन गर्नु पर्छ । वास्तविक र शुद्ध सामग्रीका लागि पर्याप्त धन खर्च गर्नु पर्छ । घरको गमलामै सही कम से कम फूल लगाएको भए अहिले कलकत्ताको विष मिसिएको फूल किनेर ल्याउनु पर्ने त थिएन नि ।
मलाई पनि लाग्छ पूजापाठका हरेक चिज आफैले तुल्याउनु पर्छ । ब्यस्तता छ अथवा थाहा छैन भनेर पैसाकै बलमा पूजा उपासना र प्रार्थना हुदै हुदैन । पूजाका हरेक सर्जाम आफ्नै हातले बनाउनु राम्रो हो । पैसा कमाउन श्रम लाग्छ र भ्रष्टाचाररहित भएर कमाएको पैसामात्र पवित्र हुन्छ । धनको प्रयोगसंगै मनको उपयोग पनि हुनुपर्छ । इश्वरले हामीबाट पूजा चाहेको हैन , हामीभित्रै रहेको ईश्वरीय शक्ति सक्रिय बनाउनु पूजाको उद्देश्य हो । पूजामा पूजासामग्री जति पवित्र चाहिन्छन मन पनि तेति नै पवित्र र समर्पित हुनुपर्दछ । भावना नभए यज्ञ हुदैन । यो धर्मसंस्कार पर्याप्त विकल्प भएको धर्म हो । सुन चडाउ नभए चा“दी ,छैन चनें तामा त्यो पनि नभए माटो नै सही चढाउन चै चढाउनु तर पवित्र मनले चढाउनु । फेरीभगवानलाई सुन भनेर पित्तल चढाउनु मनासिव कि पूजा नै नगर्नु मनासिव ? पूजाका सामान बेच्ने पसलमा पाईने सामानका कुरा गर्ने हो भने त्यहा त हरिबिजोग रहेछ । मान्छे मर्दा नारायणवली गरिन्छ त्यसमा सुन चांदी तामा फलाम आदिका देव प्रतिमा चाहिन्छन ती सबै प्लास्टिकले बनेका हुन्छन । सत्यनारायणपूजामा प्रयोग हुने लक्ष्मीनारायण प्रतीमा समेत प्लास्टिकको हुन्छ , यसमा हाम्रो पनि दोष होला किन कि हामी सस्तोमा ईश्वरको प्रसन्नता खोज्दछौ । नवजात शिशुको न्वारन लगायत सबै कर्ममा खानपान आदि कुरामा थुप्रै खर्च गर्दछौ तर पूजापाठका सामग्री चै हामीलाई अति सस्तो नै चाहिन्छ । अनि दान गर्न सस्तो कुरा नै खोज्दछौ । सस्तो कुरा शुद्ध हुन्छ भन्ने नै हुदैन “श्रमपूर्वक धन आर्जन र त्यागपूर्वक उपभोग” सनातन हिन्दुधर्मको नियम हो । धन आर्जन गर्न श्रम गर्नु पर्छ श्रमरहित दलाली वा भ्रष्टाचारबाट आर्जित धनले पूजा उपासना र पितृकार्य हुदैनन । तर धन नभए पनि मन हुनु पर्छ पबित्र मनले पूजा गर्नु पर्दछ । कलशपूजाका पवित्र सामग्रीहरु प्लास्टिकका हुन्छन, बहुमूल्यवान सर्बोषधि भनेर अखाद्य बस्तुहरु राखिन्छन । कलशपीठमा समुचित ताप सृजन गर्ने सात प्रकारका देवधान्यहरु सडेको धान ,यज्ञीयकाठ किरा परेका दाउरा , बाल्ने तीलको तेलमा पेट्रो प्रोडक्टको मिश्रण । हवनीय तील चामलका कनिकामा कालो रंगको मिश्रण । अझ यस्ता अपवित्र र घटिया बस्तुमा भारत निर्भर भएर नेपाली धन भारत पुर्याउनु कति लज्जास्पद कुरा होला ? बजारमा पूजाका लागि सस्ता र घटिया मिठाई देवताका कपडा सबै भन्दा सस्ता चाहिने । पूजा पाठ गरिदिने ब्राह्मणका मुख गुटकाले भरिपूर्ण , न आसनसिद्धि न धैर्यता न सही मन्त्रोच्चारण । कसरि गर्ने पूजा उपासना ? जव हामीले पूजापाठ अध्यात्मसाधनालाई पैसाका बलमा प्रयोग गर्न थाल्यौ अनि ब्रह्मकर्म गर्ने ब्राह्मणहरुले पैसाका लागि पुरोहित्याई गर्न सुरु गरे संगसंगै पूजासामग्रीमा अपवित्रता प्रारम्भ भएको रहेछ । जव अध्यात्म ब्यवसायिक भयो यसको शक्ति र प्रभाव समाप्त भयो । हो संस्कारकर्म पूजा उपासना गर्ने गराउने गुरु पुरोहितहरुलाई पर्याप्त र प्रसन्न हुनेगरि दक्षिणा दिनै पर्छ किन भनें ब्राह्मणको बृत्ति नै यज्ञ गर्ने गराउने हो । अमुक पूजा पसलमा गएर सामान ल्याउनु भनेर निर्देशन दिने र ग्राहक पठाएबापत पसलबाट कमिसन माग्ने ब्राह्मणलाई शास्त्रले भने झै “ब्रत जप नियम तप स्वाध्याय क्रतु शम दम दया दान” जस्ता विशिष्ट गुणले युक्त ब्राह्मण मानेर पूजा गर्ने त ? एउटा हवनसामग्री नामको प्याकेट खोल्दा त्यभित्र किरा झार पात र काम नलाग्ने चिजहरु भेटिन्छन अव हामीले त्यस्ता अपवित्र चिजहरु वेदमन्त्र उच्चारण गर्दै हवन गरेर आहुति दिने त ? काल्पनिक उपासना र सुन्दर मण्डलरचना गरेर यजमानलाई देखाएर नै प्रभाव पार्नु र अमुक गुरु असाध्यै योग्य भन्ने प्रचार कमउन कमाउ पुरोहितहरु र जवसम्म समाजमा हावी र प्रभावी हुन्छन हिन्दु अध्यात्म जगतको उन्नति संभव नै छैन । नियम निष्ठा र बिधिपूर्वक कर्म गर्ने गराउने ब्राह्मण पुरोहितहरु अहिले पनि हुनुहुन्छ तर फङ्सनल पुरोहितको चिरिच्याट्ट प्रभावमा असलि विद्वानहरु जवसम्म ओझेलमा परिरहन्छन तवसम्म कर्मकाण्डको अ“ध्यारोमा हाम्रा संस्कार मर्माहत बनेर रहिरहन्छन ।
लेखक आध्यात्मिक पत्रकार समाज कोशि प्रदेशको सदस्य हुनुहुन्छ