असारको नौरथा, गुप्त साधनाको रहस्यमय ब्रत

478

 

चक्रपाणि गौतम

यस वर्षको असार ४ गतेदेखि १२ गतेसम्म गुप्त नवरात्र अर्थात आषाढी नौरथा सुरु हुदैछ । तन्त्र साधना र सबै प्रकारका मनोकमना पूरा गर्न का लागि देवी र देवीका दशमहाविद्याहरुको एकैपटक अथवा मनोकामना अनुसार अलग अलग गरेर देवीको कठीन ब्रत गर्ने यी नौ दिनलाई गुप्त नवरात्र भनेर तन्त्रशास्त्रमा बर्णन गरिएको छ । आम सर्वसाधारणको जानकारीमा रहेका दुईवटा नौरथा छन । चैते दशै र बडादशैका अवसरमा देवी स्थापना गरेर मनाईने र्नौरथाहरु । चैत महिना र असौजका नौरथालाई हामी प्रकट नवरात्र भन्दछौं । यस्तै अरु दुई नवरात्रहरु पनि हुन्छन । माघ शुक्ल प्रतिपदादेखि नवमीसम्म र आषाढ शुक्ल प्रतिपदादेखि नवमी सम्म पनि नौरथा मनाईन्छ । यी दुई नौरथालाई शास्त्रले गुप्त नवरात्रका रुपमा वर्णन गरेको छ । घर र सार्वजनिक स्थलमा देवी स्थापना गरेर नौरथा भरि भगवती दुर्गाका नौवटा स्वरुपको आवाहन गरेर घटस्थापना गरि नौ दिनरात देवीको पूजा स्तुति र देवीका स्तोत्रहरुको पाठ गरेर दशै मनाउने नौरथालाई प्रकट वा दृष्ट नवरात्र भनिन्छ । माघ महिना र असारमा मनाईने नवरात्रलाई भनें गुप्त नवरात्र भनेर भनिन्छ । असौज र चैत्र महिनामा माता भगवतीका नौ स्वरुपको विशेष पूजा गरिन्छ भनें माघ र असारका गुप्त नवरात्रहरुमा मात भगवतीका दस महाविद्याको स्थापना गरि पूजन गरिन्छ । गुप्त नवरात्रमा गरिने दस महाविद्याको पूजन भक्तले घरभित्र अति गोपनीय रुपमा आयोजना गर्ने नियम छ । असौजको प्रकट नवरात्रमा देवीको पूजा वैदिक विधि अनुसार गरिन्छ भनें गुप्त नवरात्रमा दस महाविद्याको पूजन विशेष तान्त्रिक विधिबाट गरिन्छ । विशेष गरेर गुप्त नवरात्रमा शत्रुनास मनोकामना पूर्ण गर्न र कठीन संकटबाट छुटकारा पाउन तन्त्रबिधिबाट दस महाविद्याको उपासना विशेष विधिसंग गर्नु पर्दछ ।साधना र पूजा उपासना अनि नियम पालनका दृष्टिले असौज र चैत्रका नवरात्र भन्दा गुप्त नवरात्रका नियमहरु केही कठिन हुन्छन त्यसैले साधकले अति निष्ठा र विधि पुर्याएरमात्र गुप्त नवरात्रको ब्रत उपासना गर्नु पर्दछ । साथै आफूले यो ब्रत गरेको कुरा घर परिवार बाहेक कसैलाई पनि थाहा हुनुहुदैन भनेर महाकाल संहितामा उल्लेख गरिएको छ । अति संकट परेका व्यक्तिले यो नवरात्रको अनुष्ठान र ब्रत गर्नु पर्दछ । गुप्त नवरात्रको ब्रत र पूजा जति गोप्य राख्न सकिन्छ त्यसको फल पनि त्यत्रि नै विशेष रुपले पाईने कुरा शाक्त ग्रन्थहरुमा उल्लेख गरेको पाईन्छ ।यो गुप्न नवरात्रब्रतलाई खासै प्रचार प्रसार गरिदैन केवल आफ्नु साधना र संकट निवारणका लागि यो ब्रतलाई अति गोप्य राखिन्छ ।
गुप्त नवरात्रमा मानसपूजाको पनि अति महत्व रहन्छ । दुर्गास्थापन र घटस्थापन गरेर पूजा मन्त्र जप सवै कार्यहरु मानशिक रुपले गर्नु अझ उत्तम मानिएको छ । वाचन अर्थात मन्त्र जप पनि गुप्त रुपले गर्न सकियो भनें यसले अति उत्तम फल पार्ईने कुरा धर्मग्रन्थहरुमा उल्लेख गरेको पाईन्छ । संभव भएसम्म अति आवश्यक व्यवहार बाहेक नौरथा भरि अति कम बोल्नु पर्दछ ।

काली तारा महाविद्या षोडशी भुवनेश्वरी।
भैरवी छिन्नमस्ता च विद्या धूमावती तथा।
बगला सिद्ध विद्या च मातंगी कमलात्मिका
एता दशमहाविद्याः सिद्धविद्या प्रकीर्तिताः॥

काली तारा त्रिपुरसुन्दरी ,भुवनेश्वरी भैरवी छिन्नमस्ता धूमावती , बगलामुखी मातंगी कमला । यी शक्ति बुद्धि विद्या धन प्रदान गर्ने र तत्काल संकट हटाउने दसमहाविद्याारुपी देवीका शक्तिहरु हुन । दशमहाविद्या माता सतीदेवीका शरीरबाट बनेका सिद्धपीठ र त्यहा स्थापित देवीहरु हुन । यी दशमहाविद्यारुपी देवीको गुप्त नवरात्रमा एकसाथ पूज ागर्न सकिन्छ भनें आ आफ्नु मनोकामना अनुसार देवीका भिन्न भिन्न रुपको पनि पूजा गर्न सकिन्छ ।
सरल पूजाविधि
सर्वप्रथम घरमा एउटा काठको चौकी वा पिरामा रातो कपडा ओच्छ्याउनु पर्दछ त्यसमाथि कलश राखेर कलशमा कलश पूजाविधिले बरुण देवताको पूजा गर्नु पर्दछ र कलशमाथि दुर्गा भगवतीको फोटो मूर्ती वा सुनको प्रतिमा राखेर प्राण प्रतिष्ठा गरि पहिला गणेश कलश दीपक को पूजा ग्रहपूजा गरेर दुर्गा भगवतीको पूजा गर्नु पर्दछ र त्यसै कलशमा दशमहाविद्याको आवाहन गरेर विधिपूर्वक पूजा गर्नुृ गर्दछ । दुर्गाशप्तशती( चण्डी) को कामना अनुसार संकल्प गरेर पाठ गर्नु पर्दछ । यस पछि विशेष पुरोहितको निर्देशनमा दशमहाविद्याको पूजा गर्नु पर्दछ । यस पूजामा देवीलाई रातो चन्दन राता अक्षता रातो फूल आदि समर्पण गर्नु पर्दछ भनें देवीका दश विशेष स्वरुपको पूजा गर्दा चाही देवीको स्वरुप अनुसार अलग अलग फूल प्रसाद र चन्दन चढाउनु पर्दछ ।
महाकाल संहिता अनुसार भिन्न भिन्न मनोकामना पूरा गर्नका लागि चण्डी पाठ गरेर यस प्रकारले माला मन्त्र जप गर्नु पर्दछ ।

१)लामु आयु ,ग्रहशान्ति मांगलिक दोष शान्ति अकालमृत्यु नाश आदिका लागि हकीकको मालाले ॐक्रीं ह्री ह्रुं दक्षिणे कालिके स्वाहा यो मन्त्र प्रतिदिन नौ माला कालीको जप गर्नु पर्दछ ।

२) तीब्र बुद्धि रचनात्मकता उच्चशिक्षा प्राप्त गर्नका लागि नीलो कांचको मालाले ॐह्रीं स्त्रीं हुम फट यो मन्त्र प्रतिदिन १२ माला ताराको जप गर्नु पर्दछ ।

३)व्यक्तित्व विकाश पूर्णस्वास्थ्य र सुन्दर शरीरका लागि रुदाक्षको मालाले ॐ ऐ ह्री श्रीं त्रिपुरसुन्दर्यै नमः यो मन्त्रको प्रतिदिन १० माला जप गर्नुपर्दछ ।

४)आफ्नो घर गाडी र भौतिक सम्पत्ती प्राप्त गर्न का लागि ॐ ह्रीं भुवनेश्र्यै ह्रीं नमः यो मन्त्रको जपस्फटिकका मालाले दैनिक ११ माला भुवनेश्वरीको जप गर्नु पर्दछ ।

५)रोजगारीमा सफलता पदोन्नती पाउनका लागि रुद्राक्षको मालाले ॐ श्रीं ह्रीं ऐं वज्रवैरोचन्यै ह्रीं फट् स्वाहा यो मन्त्रको दैनिक १० माला छिन्नमस्ताको जप गर्नु पर्दछ ।

६) सुन्दर जीवनसाथी प्राप्त गर्न ,शीघ्र विवाह प्रेममा सफलता का लागि रक्तप्रबालको मालाले त्रिपुरभैरवीको ॐह्रीं भैरवी क्लौं ह्रीं स्वाहा यो मन्त्र दैनिक १५ माला जप गर्नु पर्दछ ।
७) तन्त्र मन्त्र मानशिक समस्या आदि दोष निवारण गर्नका लागि मोतीको मालाले धूमावती देवीको ॐ धूं धूं धूमावती देव्यै स्वाहा यो मन्त्र दैनिक ११ माला जप गर्नु पर्दछ ।

८) शत्रुनाश मुद्दामा विजय प्रतियोगितामा सफलता प्राप्त गर्न बेसारको माला वा पहेलो कांचको मालाले बगलामुखी देवीको मन्त्र ह्लीं बगलामुखी देव्यै ह्लीं ॐ नमः यो मन्त्रको दैनिक ८ माला जप गर्नु पर्दछ ।उ

९) उत्तम सन्तानप्राप्तिका लागि मातंगी देवीको उपासना गर्नु पर्दछ । स्फटिकको मालाले ॐ ह्रीं ऐं भगवती मातंगेश्वरी श्रीं स्वाहा यो मन्त्र दैनिक १२ माला जप गर्नु पर्दछ ।

१०) अखण्ड धनधान्य प्राप्ति ऋणनाश र लक्ष्मीकृपा प्राप्त गर्न माता कमलाको साधना र पूजा गरि कमलगट्टाको मालाले ॐश्रीं ह्रीं श्रीं कमले कमलालये प्रसीद प्रसीद श्री कमलायै नमः यो मन्त्रको दैनिक १० माला जप गर्नु पर्दछ ।

पौराणिक कथा
यी दशमहाविद्या माता सतीदेवीका दश शक्तिहरु हुन । दक्ष प्रजापतिको यज्ञमा जानका लागि माता सतीदेवीले अति जिद्दी गर्नु भयो परन्तु भगवान भूतभावन शिवजीले मान्नु भएन यसपछि सतीदेवीले आफ्ना अद्भुत दश शक्तिहरु प्रकट गर्नु भयो । यस्ता बिभिन्न रुप रंग भएका शक्तिहरु देखेर शिवजीले माता सतीदेवीलाई सोध्नु भो प्रिये यी अद्भुत नारीहरु को हुन ? माता सतीदेवीले भन्नु भो भगवन यी मेरा शक्ति हुन । भगवान माता सतीदेवीका दशशक्तिको दर्शन गरेर प्रशन्न हुनु भो कालान्तरमा यीनै दशमहाविद्याका शक्तिले शुम्भ निसुम्भ चण्ड मुण्डलाई माता दुर्गारुपले दमन गर्नु भयो ।
विस्तृत जानकारीका लागि
सीधा सम्पर्क ९८४२६९४१२१