मलमास भनेकाे के हाे ? मलमासमा के गर्ने ? के नगर्ने ?

448

ध्रुवशरण ढुंगाना

२०८० साल श्रावण महिनाको २ गतेबाट अधिकमास अथवा मलमास सुरुहुँदैछ यो मलमास एकमहिना तथा श्रावण ३१ गते सम्म रहन्छ । मलमास भनेको सूर्य मास र चन्द्रमासकाे अन्तरको मास पूर्ति हाे । सौरमास र चन्द्रमास गरी विशेषतः दुइ महिनाहरु प्रचलनमा छन् । १२ सौरमासको एकवर्ष हुन्छ, भने १२ चन्द्रमासको पनि एक वर्ष हुने गर्छ तर सौरवर्ष ३६५ दिन १५ घडी ३१ पला ३० विपलाको हुन्छ भने चन्द्रवर्ष ३५४ दिन २२ घडी १ पला र २३ विपलाको हुन्छ । यसरी सूर्य तथा चन्द्रमानले एक वर्षमा १० दिन ५३ घडी ३० पला ७ विपला फरक हुने गर्दछ । यसै अन्तरलाई समायोजित गर्नलाई हरेक ३२ महिना १६ दिन ४ घडीकाे अन्तरमा मलमास पर्दछ ।
द्वात्रिंशद्भिर्गतैर्मासैर्दिनैः षोडशभिस्तथा ।
घटिकानां चतुष्केण पतति ह्यधिमासक ।।

असंक्रान्तिमासोऽधिमासः स्फुटः स्यात् ।
द्विसंक्रान्तिमासः क्षयाख्यः कदाचित् ।।
जुन चन्द्रमासमा एउटा पनि संक्रान्ति हुँदैन त्यस्तो मास वा महिनालाई मलमास, अधिकमास, पुरुषोत्तम मास भनिन्छ । जुन चन्द्रमासमा दुइवटा संक्रान्ति हुन्छ त्यस्तो मासलाई क्षयमास भनिन्छ ।
जसलाई अधिकमास, मलमास, मलिम्लुच मास र पुरुषोत्तम मास पनि भन्ने गरिन्छ ।

मलमासलाई किन पुरुषाेत्तम मास भनियो ?
ज्योतिष शास्त्रमा हरेक नक्षत्र, करण, योग, मास का आ–आफ्नै स्वामीहरु हुन्छन् तर मलमास (अधिकमास) को कुनै पनि स्वामी थिएन । मासको कुनैपनि स्वामी नहुँदा मलमासमा शुभकार्य गर्न नमिल्ने हुँदा सबैले यसमासलाइ हेयदृष्टिले हेर्नथाले । त्यसो हुँदा सौ मास अत्यन्त दुःखीत भइ भगवान विष्णुको शरणमा पुगेर जब आफ्नो सम्पूर्ण दुःखका बृत्तान्तहरु सुनायो तब भगवानले उसलाई आफ्नो शरणमा लिँदै भन्नुभयो हे बाबु अबदेखि तिम्रो स्वामी म हुनेछु र तिम्रो नाम पनि पुरुषोत्तम मास रहनेछ । यो पुरुषोत्तम मासमा जुन भक्तले श्रद्धा भक्तिपूर्वक पुरुषोत्तम भगवानको तुलसी,तिल,मालपुवा अर्पण गरी मेरो सुवर्णमय प्रतिमामा पूजा गर्छ र महिनाभरी पुरुषोत्तम माहात्म्यको कथा श्रवण गर्छ भने त्यस्ता भक्तहरुलाइ संसारमा रहँदासम्म सबै प्रकारका भोग तथा मृत्यु पश्चात्त् वैकुण्ठलोक प्रदान गर्नेछु भनेर भगवान पुरुषोत्तमले मलमासलाई आशीर्वाद दिनुभयो । तत्पश्चात् मलमास पनि अत्यन्त प्रसन्न हुँदै भगवानको चरणबन्दन गर्दै त्यहाँबाट प्रस्थान ग¥यो । त्यससमय देखि मलमासको नाम पुरुषोत्तम मास पनि रहनपुग्यौ ।

मलमासमा के गर्ने ? के नगर्ने ?
सामान्य रुपमा हामीले गर्ने कर्महरु तीन प्रकारका हुन्छन् – १ नित्यकर्म २ नैमित्तिक कर्म ३ काम्यकर्म
नित्यकर्म  जुनकर्म हामीले प्रत्येक दिन गरिन्छ । जस्तै स्नान, ध्यान, सन्ध्यावन्धन, देवपूजन, इत्यादि कर्महरुलाई नित्यकर्म भनिन्छ ।
नैमित्तिक कर्म  जो कर्म निमित्त आउँदा मात्र गरिन्छ त्यसलाइ नैमित्तिक कर्म भनिन्छ जस्तै– श्राद्ध, न्वारन, अन्नप्रासन, ग्रहण स्नान, इत्यादि कर्महरु ।
काम्य कर्मः काम्यकर्म दुइ प्रकारका हुन्छन् –
अनन्यगतिक काम्यकर्म र गतिक काम्यकर्म । अनन्यगतिक काम्यकर्म जो कर्म तात्कालिक समयमा नै गर्नुपर्ने कर्म त्यस्तो कर्मलाइ अनन्यगतिक काम्यकर्म भनिन्छ । जस्तै– कोहि व्यक्ति बिरामी भयो उसको तत्काल स्वास्थ्य लाभको लागि गरिने महामृत्युञ्जयजप, ग्रहशान्ति पुत्रजनकृत्य, यस्तै प्रकृतिका कर्म अनन्यगतिक काम्यकर्म हुन् । यी नित्य, नैमिक्ति र अनन्यगतिक काम्यकर्महरु मलमास एवं गुरुशूक्रअस्तमा पनि गर्न सकिन्छ ।
गतिक काम्यकर्म – जुन काम्यकर्मलाइ तत्कालै नगरी अन्य समयमा सार्न सकिनै कर्मलाई गतिक काम्यकर्म भनिन्छ । जस्तै –सप्ताह, मन्दिर निर्माण, विवाह व्रतबन्ध, गृहनिर्माण, गृहप्रवेश, मूर्ति प्राण प्रतिष्ठा, नूतन ब्रतारम्भ , नूतन तीर्थयात्रा, नूतन तीर्थश्राद्ध, चुडोपनयन , वेदारम्भ इत्यादि कर्महरु मलमास एवं गुरुशुक्रास्तको समयमा गर्न शास्त्रमा निषैध गरिएकाे छ ।

नवविवाहित दम्पतिले मलमास किन बार्ने ?
मलमासको समयमा मैथुनकर्म एवं गर्भाधान कर्म गर्न शास्त्रमा निषेध गरिएको छ । मलमासको समयमा नवदम्पतिहरु संगै रहँदा मैथुनकर्म हुन सक्ने र गर्भाधान पनि हुन सक्ने हुँदा मलमासमा पति पत्नि संगै नरहनू भनेर निषेध गरिएको हो । समाजमा यो केवल नवदम्पतिको लागी मात्र बार्नुपर्ने भनिएता पनि यो नियम सम्पूर्ण पति पत्निले पालन गर्नु आवश्यक छ । मलमासमा रहेको गर्भको बच्चा अस्वस्थ रहने, कम आयु, मन्द बुद्धि, अपाङ्ग आदि हुन सक्ने कुरा धर्म शास्त्रहरुमा उल्लेख गरेको पाइन्छ ।
अधकिमासमा के गर्ने त?
अधकिमासमा निष्काम भावनाले भगवान् नारायणको उपासना गर्ने भगवान्काे कथा श्रवणगर्ने घिउमा वनेको पदार्थ भगवान्लाई अर्पण गर्ने गहुँकाेपिठाेमा गुँड मिसाएर वनाएकाे ३३ वटा मालपूवा काँसको थालीमा राखेर अन्तमा दान गर्ने ।