सुसंस्कृत परिवार हिन्दु समाजको आधार

193

 

 


सुभद्रा अधिकारी

बिगत केही दिनदेखि झापाको बुधबारेक्षेत्रमा एउटा बिबादित धार्मिक कार्य संचालित छ । झापा बुधबारेक्षेत्रका एक बृद्धको निधन भयो । दिवङ्घत व्यक्तिका तीन छोराहरु मध्ये दुई छोराले बाबुको मृत्यु भएकै घरमा १३ दिनसम्मको कृयाकर्म सुरु गरे भने जेठा छोराले भाईहरु भन्दा भिन्न बसेर आफ्नै घरमा कृया गर्न सुरु गरे । नियम अनुसार दिवङ्घत आत्माले परलोकको बाटो जान र पितृपंतिमा समावेस हुन का लागि १२ दिनसम्म पिण्डदान गर्ने नियम छ । मृत्यु भएको व्यक्तिको आत्माशान्तिका लागि श्रद्धापूर्वक गरिने पिण्ड जल अन्नदान र ब्राह्मणभोजनलाई श्राद्ध भनिन्छ । श्रद्धापूर्वक गरिने भएकै कारण यो कर्मलाई श्राद्ध भनिएको पनि हो । यद्यपि पितृकर्मको वैज्ञानिक पक्ष अति महत्वपूर्ण स्पृहणीय छ । सनातन हिन्दुधर्मदर्शनका काजकृया जस्ता कर्मले परिवार र समाजमा सौहार्दता सहिष्णुता र एकता कायम राख्दछ । कुल कुटुम्ब नाता गोता आदिका आधारमा स्थापना गरिएको मर्यादाक्रमले सधै व्यक्तिलाई पारिवारिक एकतामा अनुबन्धित गराईरहेको हुन्छ । आफूभन्दा ठूलाको कुरा सुन्ने मान्ने मर्यादाले गर्दा मानिसलाई व्यक्तिगत जीवनमा कम कठिनाईहरु आउदछन । अभिभावक र मान्यजनसंग सल्लाह लिएर गरिएको कामको परिणाम सुखद आयो भनें व्यक्तिले आफै सुख भोग्ने र परिणाम दुखद भएर आईहाल्यो भनें पनि परिवार र मान्यजनको सल्लाह लिएर गरिएको कामको परिणाम परिवारका आफन्तले पनि स्वीकार गर्ने चलन छ । समाजलाई समस्या पर्दा स्वतः एक अर्काको सहयोगी बनेर कठिनाईबाट एक अर्कालाई मुक्त गराईन्छ ।
यो शास्त्रले निर्देशन गरेको परिवारको ज्येष्ठश्रेष्ठ सिद्धान्तको आधारमा निर्देशित छ । आफू परिवार र आफन्तलाई जसरी पनि सुरक्षित राख्नु धर्मपूर्वक धन आर्जन गर्नु र त्यो धन सन्तानका लागि संचय गर्नु गृहस्थका लागि अनिवार्य शास्त्रीय नियम हो । हिन्दु समाजशास्त्र अनुसार सबै सन्तानलाई बराबर सम्पति दिनु ऋण नलगाईदिनु सबै दरसन्तानलाई समानरुपले माया स्नेह र लालनपालन गर्नु बुबा हजुरबुबाको परम कर्तब्य हो । कुल वंश अनुवंशका आधारमा सन्तान दरसन्तानलाई मर्यादित विवाहवारीमा प्रेरित गर्नु अभिभावकको कर्तव्य हो । विवाह मर्यादित र उचित कुलमा भयो भनें यसको परिणाम उचित आउदछ आगामी कुल वंश पनि उत्तम र प्रतिष्ठित बनिरहन प्रेरित हुन्छ । पितापुर्खाले गरेका गौरवगाथा सत्कर्म का कुराहरु र उनीहरुका कीर्तिका कथाहरु सन्तानलाई सुनाएर उनीहरुलाई सधै सत्कर्ममा प्रेरित गराउने प्रचलनले परिवारका सदस्य सभ्य र एक अर्कालाई सम्मान गर्ने स्वाभावका बन्दछन ।
यसरी अभिभावकले नै छोरा छोरी नाती नातिनीहरुलाई स्नेह र संस्कार दिएर पितापुर्खाप्रति स्वतः कृतज्ञ हुने बनाउदछन भनें पिता पुर्खा पनि सन्तान दरसन्तानलाई सुसंस्कृत बनाउन सकेकोमा कृतार्थ हुन्छन । परिस्थिति वा प्रारब्धवस सन्तानको घर गृहस्थी विग्रियो भनें पनि संस्कारपूर्वक विवाह गरेर ल्याएकी बुहारी नातीनातिनी आदिलाई रक्षा न्याय र सम्पत्तीको अधिकारबाट कुनै प्रकारले बञ्चित गर्नु पाप सम्झिन्छन । संक्षेपमा यो नै सनातन हिन्दु सभ्यताको परिवारवादको सिद्धान्त हो । सुसंस्कृत सभ्य र कृतज्ञ सन्तान भएपछि पितामाताको बोझ समाप्त हुन्छ । बोझरहित पितामाता प्रति सन्तानले सधै सम्मान सेवा र सत्कार गरिरहनु पर्दछ । पितामातालाई जीवित रहुन्जेल राम्रो बोली सेवा सत्कार र मृत्युपछि श्रद्धापूर्वक श्राद्ध पिण्डदान आदि सन्तानका कर्तव्यभित्र पर्ने कुरा शास्त्रले निर्देशन गरेको छ । श्राद्धहरुका पनि अनेक प्रकार रहेका छन । आफन्त कुल कुटुम्ब मावली लगायतका परिवार निर्माणको बृहत्तर क्षेत्रलाई सदा सम्मान गर्न महालय आदि श्राद्धहरु गर्ने गरिन्छ । महालयश्राद्धको समाजशास्त्रीय विज्ञान भनेको आफूले यो अनमोल जीवन पाउनकालागि मावलीको पनि महत्वपूर्ण स्थान रहेको छ र सो सम्बन्धप्रति व्यक्तिले सधै कृतज्ञ बनिरहनु आवश्यक छ । यस कारण महालयमा मावलका ३ पुस्तालाई पिण्डदान गरिन्छ । सनातन जीवविज्ञान र जीवनविज्ञान अनुसार अनुवंशको क्षरण हुनु र कुलधर्मको विनाश हुनु हामीलाई पितृहरुले प्रदान गरेको परिवर्धनशील चेतना समाप्त गरेर आफूलाई र आफ्ना पितृहरुलाई नारकीय अवस्थामा पुर्याउनु हो भन्ने सनातन हिन्दुशास्त्रको ठम्याई छ । यसकारण हिन्दु सनातन धर्मको समाजविज्ञामात्र संसारलाई बसुधैव कुटुम्बकम को शिक्षा दिन सफल र सबल छ । यसर्थ हाम्रो संस्कार शास्त्र अनुसार अपनाउने प्रयास गरौं ।