भैरवनाथ मन्दिरमा ठड्याइयो सुनको लिंगो

334

आठ दिन नौरातसम्म चल्ने भक्तपुरको प्रसिद्ध बिस्का जात्राको चौथो दिन आइतबार भैरवनाथ मन्दिरमा सुनको लिंगो ठड्याइएको छ।

बिस्का जात्राको मुख्य जात्राअन्तर्गत चौथो दिन मनाइने लिंगो जात्राअन्तर्गत यस वर्ष ५५ हाते काठको लिंगो प्रतीकको रुपमा सुनको लिंगो ठडठ्याइएको भैरव नाइके कृष्णभक्त (माइला) छुकांले जानकारी दिए।

उनका अनुसार आइतबार साँझ ६:२८ बजेको शुभसाइटमा काशीको विश्वनाथ तथा बेतालको अगाडि सुनको लिंगो ठड्याइएको छ।

बिस्का जात्राको विधिविधानअनुसार भक्तपुर नगरपालिका ५ योसिंखेलमा चैत मसान्तको दिन ५५ हातको काठको लिंगो उठाइन्छ तर कोरोना भाइरसको कारण यस वर्ष उक्त लिंगो ठड्याइएन। काठको लिंगोका सट्टा भैरव नाइकेहरुले लिंगो जात्राको प्रतीकको रुपमा सुनको सानो लिंगोमात्रै ठड्याए।

नाइकेहरुले सुरुमा उक्त सुनको लिंगो बिस्का जात्रा सञ्चालन हुने योसिंखेलमै उठाउने तयारी गरेका थिए। योसिंखेलमा सर्वसाधारणको भीड हुनसक्ने सम्भावनालाई मध्यनजर गरी उक्त सुनको लिंगो भक्तपुर नपा ५ टौमढीस्थित भैरवनाथ मन्दिरभित्रै ठड्याइने भैरव नाइके छुकांले स्पष्ट पारे।

बिस्का जात्राको इतिहासमै पहिलोपटक सुनको लिंगो ठड्याइएको हो। त्यस्तै पहिलोपटक भैरवनाथ मन्दिरमा लिंगो ठड्याइएको छ।

‘बिस्का जात्राको विधिविधानअनुसार सुनको सानो लिंगो योसिंखेलमै उठाउने तयारी थियो’, भैरव नाइके छुकांले भने, ‘तर त्यहाँ उठाउँदा सर्वसाधारणको भीड लाग्न सक्ने भएकाले भैरवनाथ मन्दिरभित्रै उक्त लिंगो उठाएका छौं।’

उनका अनुसार अष्टमातृकाको प्रतीकस्वरुप आठवटा कुम्हाँ काः (पवित्र पहेंलो धागो) मार्फत सुनको लिंगो ठड्याइएको हो। ५५ हात लामो काठको लिंगो उठाउन पनि आठवटा मोटा डोरीको प्रयोग हुन्छ। उक्त लिंगोमा ३५ हात लामो दुइटा हलिंपत्त (विश्वध्वजा) फहराइन्छ।

उक्त लिंगो उठाउनुअघि भक्तपुर नपा ५ योसिंखेलस्थित लिंगो उठाइने ठाउँमा भैरव नाइकेहरुले पूजा गरेका थिए। त्यस्तै सुनको लिंगो नयाँ भएकाले उक्त लिंगोलाई देवता मानेर जन्मदेखि मृत्युसम्मको १० कर्म पूरा गरिएको भैरव नाइके छुकांले जानकारी दिए।

उनका अनुसार बिस्का जात्राअन्तर्गत लिंगोको लागि नयाँ काठ प्रयोग भएको प्रत्येकपटक भैरव नाइकेहरुले उक्त लिंगोको पूजा गर्नुपर्छ। त्यस्तै उक्त लिंगोलाई देवता मानेर मानिसको जस्तै जन्मदेखि मृत्युसम्मको दस कर्म पूजा गर्ने प्रचलन रहँदै आएको उनले बताए। अन्नपुर्ण पोष्टले खबर लेखेको छ ।