चक्रपाणि गौतम
सनाततन संस्कृति व्रतपर्व प्रधान संस्कृति पनि हो । व्रतको गुढ अर्थ संयम हो उपवास हो ,यसर्थ संयमपूर्व ईश्वरको आदेश पालन गरेर यम नियमादिमा वस्नु उपवास अर्थात ईश्वरको निकट वास गर्नु हो । हिन्दू सभ्यतामा व्रतको सर्वत्र प्रचार र पालना गरेको पाईन्छ । हाम्रा तत्वदर्शी महात्माहरूले व्रतमा विज्ञानको अनुसन्धान गरे । विभिन्न प्रकारका शारीरिक मानसिक र संसर्ग जनित पाप र रोगहरू निवारण गर्न व्रतको साहारा अति उपयोगी बन्दछ भन्ने कुराको वोध गराए । व्रताचरणले उन्नत जीवन प्रदान गर्दछ । लक्ष्यप्राप्तिका लागि जनजागरण व्रतले नै सिर्जना गर्दछ । व्रतद्वारा शारीरिक शुद्धि , मनको पवित्रता र संकल्पशक्ति बढ्द छ । व्रतद्वारा मानिस दीक्षित हुन्छ, दीक्षाले दक्षता प्रदान गर्दछ, दक्षताले श्रद्धा जागृत हुन्छ, तथा श्रद्धाले सत्य स्वरूप परमात्मा प्राप्ति हुन्छ । ( व्रतेन दीक्षामाप्नोति दीक्षयाप्निोति दक्षिणाम् । दक्षिणा श्रद्धामाप्नोति श्रद्धया सत्यमापयते । यजुर्वेद)
व्रत दुई प्रकारका हुन्छन् प्रथम निराहार रहेर अर्को मिताहार वा संयमित आहार गरेर । भोजन त्यागलाई मात्र पनि व्रत भनिदैन व्रत कायिक, वाचिक, मानसिक गरि तीन प्रकारका हुन्छन् । हिंसारहित जीवनयापन कायिक व्रत हो भने परनिन्दा चुक्ली चापलुसी त्याग गरेर मीठो बोली बोल्नु वाचिक व्रत हो । त्यस्तै काम, क्रोध, लोभ, इष्र्या आदि त्याग गर्नुलाई मानसिक व्रत भनिन्छ । निराहार भएर संयमता अपनाउदै गरिने व्रतहरू नित्य नैमित्तिक र काम्य गरि तीन प्रकार का हुन्छन् । एकादशी , प्रदोषव्रत, पूर्णिमाव्रत, जस्ता व्रतहरूलाई नित्यव्रत भनिन्छ । कुनै पापकर्म र चरित्रहीनता सम्बन्धि नराम्रा कर्मको प्रायश्चित्त स्वरूप गरिने चान्द्रायण जस्ता व्रतलाई नैमित्तिक व्रत र आफूले चाहेको ईच्छा पूरा गर्न का लागि गरिने व्रतलाई कम्यव्रत भनिन्छ ।
आध्यात्मिक दृष्टिकोण अनुसार मनोयोगका साथ निष्ठापूर्वक शुद्ध सरल र सात्विक भावले गरिने आचरण नै व्रत हो । व्यवहारिक जीवनमा मानिस सधै सत्य बोल्ने प्रयास गर्दछ तर पनि लोभ बाध्यता र विभिन्न कारणले मिथ्याभाषण गर्न बाध्य हुनु पर्दछ । त्यस्ता मानिसलाई सत्यवादी भनिँदैन जतिसुकै कठीन परिस्थितिमा पनि सत्य नछोडनु नै वास्तविक व्रत हो । प्रतिकूल परिस्थितिमा पनि खुशी रहेर सत्य आचरण गर्दै जीवनयापन गर्दा आत्मविश्वास दृढ हुनुका साथै अनुशासनको भावना विकशित भएर आत्मज्ञानको महान लक्ष्यप्राप्तितर्फ उन्मुख हुन सकिन्छ ।
आमुस्मिक लाभका लागि र मनुष्य जीवन सफल बनाउन व्रतको ठूलो महत्व रहेको छ । शास्त्र अनुसार व्रत तपस्याको अर्को रूप पनि हो, विजातीय तत्वहरूको शरीरमा संस्थिति नै रोगको मुख्य कारण हो, व्रतले हाम्रा खानपान जनित विजातीय तत्वहरूलाई नाश गर्दछ । नियमित व्रत बस्दा रोग प्रतिरोधी क्षमता बढदछ भने रोग लाग्दैन ।( विषया विनिवर्तन्ते निराहारस्य देहिनः) अर्थात निराहार बस्दा मनमा कुविचारहरू आउन पाउँदैनन् किन कि पेट पर्याप्त भरिएको अवस्थामा ईन्द्रियहरू सक्रिय रहन्छन् मनको चञ्चलता बढेको हुन्छ । मन नै बन्धन वा मोक्षको कारक तत्व हो । शास्त्र विज्ञानलाई मनन गर्ने हो भनें पनि व्रतले मनोनिग्रह गर्दछ । ( मन एव मनुष्याणां कारणं बन्धमोक्षयो ) यसकारण मनलाई सधैँ नियन्त्रणमा राख्न व्रत अनिवार्य कर्म हो ।
मनोनिग्रहका लागि व्रत वा उपवासको नियमलाई पालन गर्न पनि सकिन्छ । व्रतमा शास्त्रले निर्देशन गरेका सात्विक हविष्य भोजन गर्न सकिन्छ भने उपवासमा निराहार रहनु पर्दछ ।
शास्त्रले व्रतमा आहार वा अन्न त्याग गर्नु भनेर अन्न उत्तम वस्तु हैन भन्ने अर्थ लगाउन खोजेको भनें होईन, कलियुगमा अन्न नै मनुष्यको प्राण हो । अन्नलाई निन्दा नगर्नु ,अन्नलाई अवहेलना नगर्नु, धेरै अन्न फलाउनु, घरमा आएका अतिथिलाई अनादर नगर्नु अन्नादिले स्वागत गर्नु पनि व्रत नै हो ।(अन्नं न निन्द्यात । तद् व्रतम । अन्नं न परिचक्षित । तद् व्रतम् । अन्नं वहु कुर्वित । तद् व्रतम् । न कञ्चन वसतौ प्रत्याचक्षीत । तद् व्रतम् । तैतिरियोपनिषद् ।
सनातन हिन्दू संस्कृति संयम प्रधान संस्कृति हो, हाम्रा हिन्दू पूर्वजहरू बर्षौसम्म संयमता पूर्वक तपस्या व्रत उपवास गर्दथे र त्यही ब्रत र तपका प्रभावले कार्य सफल बनाउँदथे । यसर्थ व्रतलाई कार्यसाधनका लागि गरिने संकल्पका रूपमा पनि लिन सकिन्छ । राष्ट्र र संस्कृति रक्षाका लागि नालापानीमा भोक–भोकै लडने नेपाली वीर नेपाली योद्धाहरू धार्मिक भावनाले ओत–प्रोत थिए । उनीहरूको संयमताको कारण व्रताचरण नै थियो । वीपी कोईराला,माहात्मा गान्धी , जस्ता उच्च विचारका राजनेताहरूले सुरु गरेको राष्ट्र जागरण आन्दोलनको सफलताको रहस्य पनि उनीहरूले हडतालका रूपमा गरेको अनशन नै हो । महात्मा गान्धीले पटक–पटक गरेको अनसन देखेर पछिल्लो समय विश्वका बैज्ञानिकहरू पनि चकित भएर अध्ययन नै गर्न बाध्य भए कि मानिस कसरी यति धेरै पटक भोक भोकै बस्न सक्दछ । उन्नतीस दिनसम्म भोक हडताल गरेका वीपी तुरून्त उठेर आफ्नु संकल्पित कार्यमा लागेका थिए । यस कारण पनि व्रत संकल्पित उद्देश्य प्राप्तिको प्रमुख माध्यम हो भन्न सकिन्छ । माथिका उदाहरण प्रतिनिधि उदाहरणमात्र हुन् यस्ता अनेक पात्रहरू छन् जसले जानी वा नजानी व्रत गरेर सफलता प्राप्त गरे । त्यस कारण यो भन्न सकिन्छ कि व्रतले ऊर्जावृद्धि गराउँछ आयु बढाउँछ ।
एकादशी व्रत के हो ?
व्रतहरू बिभिन्न प्रकारका हुन्छन् भन्ने कुरा त हामीले चर्चाका साथै व्रत विज्ञानका विषयमा सामान्य जानकारी पनि हासिल गर्यौ अव एकादशी व्रत के हो ? यस सम्बन्धमा चर्चा गरौंं, एकादशी तिथि भनेको चन्द्रमा क्षितिजको एघारौ कक्षमा आउनु हो । शुक्ल पक्षको एकादशी मा चन्द्रमा पृथ्वीको निकटबाट यात्रा गर्दछ भने कृष्ण पक्षमा पृथ्वीभन्दा टाढाँबाट आफ्नो यात्रा तय गर्दछ । चन्द्रमालाई वेदाङ्गले मनको कारक ग्रहका रूपमा विवेचना गरेको छ । ( चन्द्रमा मनसो जात…..) अनि चन्द्रमा जल तत्वलाई प्रभाव पार्ने ग्रह पनि हो । अण्ड पिण्ड सिद्धान्त अनुसार ब्रह्माण्डमा भएको ऊर्जा स्रोतहरूको शुक्ष्म तत्व मानव शरीरमा विद्यमान छ (यत्पिण्डे तत ब्रह्माण्डे ) अथवा हामीले मानव शरीरलाई ब्रह्माण्डको क्षुद्र रूप हो भनेर बुझ्न सक्दछौं । यसरी विभिन्न ग्रहहरूको ऊर्जाबाट परिपालित शरीरमा सुख दुःखको कारण मन भै सकेपछि मन नियन्त्रण गर्नु आवश्यक छ । विशेष गरेर एकादशी व्रतमा अन्न , जल यौनकर्म , दिवा शयन , परनिन्दा आलस्य जस्ता कुराहरूलाई त्याग गरेर एकाग्रतापूवर्क सत्य अन्वेषण र धर्म चिन्तन गर्नु पर्दछ । अव प्रश्न उठन सकछ अन्न र पानी किन त्याग गर्ने ? हामीले माथि भन्यौं चन्द्रमा जल तत्व प्रधान ग्रह हो र चन्द्रमा जव पृथ्वीका नजिक आउदछ त्यस समयमा पृथ्वीमा रहेको समुद्र समेत उदेवेलित भएर ज्वारभाटा आउदँछ ।
त्यस्तै हामीले अन्नका बारेमा जानकारी लिऔ सामान्य कृषिकर्म गर्नेलाई पनि थाहा हुन्छ कि हामीले खाने अन्न अथवा भनौ धान यसलाई तयार गर्न धानको विऊ राखे देखि पकाउन्जेलसम्म पनि पानीमात्र प्रयोग गरिन्छ । धानलाई महिनौसम्म पानीमा डुवाएन भनें फल्दैन फले पनि गुणवत्तायुक्त दाना लाग्दैन । यसर्थ हामी धान वा यसबाट बनेको चामललाई प्राकृतिक नियमबाट निर्मित जलकणको कठोर रूप हो भन्न सक्दछौं । जव चन्द्रमा पृथ्वीको नजिक आउदा जलनिधि समुद्र उद्वेलित हुनसक्छ भनें जलमात्र प्रयोग भएर बनेको चामलबाट निर्मित भात सेवनले निः संदेह हाम्रो मन उद्वेलित हुन्छ , चित्तमा चञ्चलता बढ्दछ । यसै कारण एकादशीमा पटक–पटक पानी नपिउन, पान ताम्बुल र मद्यपान नगर्न, अन्नत्याग गर्न आदेश दिईएको हो । (असकृत जलपानाच्च सकृत् ताम्बुल भक्षणात्) मन नियन्त्रण र कार्य सिद्धिका लागि । निर्जल व्रतपालन गर्दा शरीरमा रहेको अन्नले सहजै पच्न पाउदछ । जलरहित पेटमा बढ्ने उष्णताले शरीर र रक्त कोषमा रहेका विकारलाई समाप्त परिदिन्छ । यसकारण व्रत शरीर जीवन र मन सबैलाई शुद्ध पार्ने सत्कर्म हो ।