के देवताहरुले पानगर्ने सोमरस मदिरा नै हो त ?

996

केशवप्रसाद गाैतम

बुझेर हो या न बुझेर, या जानेकाले बुझ पचाएर, या भनौं शास्त्रको प्रमाण पत्र देखाएर आफूले पान गरेको मादक पदार्थ रक्सी आदिलाई सुद्धताको र पवित्रताको रंग लगाई आफूलाई ऋषि समान देखाउनको लागि हो ? समाजमा यदा कदा रक्सी आदिलाई सोमरस भनेर ब्याख्या गरेको सुनिन्छ ।

त्यति मात्र नभएर ‘प्रयोगात्मक नेपाली सब्दकोश’ जस्ता सब्दकोशहरूमा पनि सोमरसको ब्याख्या मादक पदार्थ रक्सीको रूपमा गरिएको देखिन्छ । यहाँ कुरा रक्सी आदि मादकपदार्थ खानु या न खानुको हुँदै होइन, त्यो नितान्त व्यक्तिगत कुरा हो ।  यहाँ कुरा सोमरस जस्तो प्राकृतिक र यज्ञसंग सम्बन्धित पबित्र कुरालाई रक्सीसंग दाँजेर वैदिक शास्त्रको अपमान गर्नुको हो । शाब्दिक आधारमा हेर्ने हो भने पनि मद्यपानले उन्मादकता र नशालाई बुझाउँछ भने सोमपानले शितलतालाई बुझाउँछ । ( ऋग्वेद १/२३/१ ) मा सोमरसमा दही या दूध मिसाएर खाने कुरा गरेको छ तर आधुनिक रक्सीमा दुध दहि मिसाएर खाएको सुनिएको छैन ।

ऋग्वेदको नवं सोममण्डल मा यसलाई मादकताको रुपमा मात्र न भएर संजीवनी औषधिसंग दाँजेर हेरिएको छ । भनिएको छ “स्वादुष्किलायं मधुमां उतायम्, तीव्र: किलायं रसवां उतायम। उतोन्वस्य पपिवांसमिन्द्रम, न कश्चन सहत आहवेषु” अर्थात् सोम स्वादिस्ट छ,मधुर छ र रसिलो छ जसलाई सेवन गर्नाले बलशाली र अपराजय भइन्छ । एता ‘अरुणया पिङ्गाक्ष्या एकहायन्या सोमं क्रिणाति ‘भन्ने उक्त्ति मिमाम्स शास्त्रमा उल्लेख छ । अर्थात याग्गिकहरूले यज्ञसम्पादन गर्नको लागि एक वर्षकी खैरा आँखा भएकी सुन्दर गाईको बाच्छी दिएर गाउँका किसानलाई सोमलता खोज्नको लागि जंगलमा पठाउँद थिए  यसरि हेर्दा प्राकृतिक सुद्ध लताको रसनै सोमरस हो ।

जस्तो प्रकारले मादकता भए पनि भांग आदिलाई मदिराको रूपमा ब्याख्या गरिदैन त्यहि किसिमले सोमरसलाई पनि मदिराको रूपमा ब्याख्या गर्नु गलत ठहरिन जान्छ! त्यसैले सोमलतालई शितल र आरामदायक मादकताको रुपमा हेरिएता पनि आधुनीक मदिरा आदि नशालु पदार्थरूपी रसको आधारमा भने हेर्न कदापी मिल्दैन ।