सरस्वती प्रज्ञा
बोली संसारका सबै व्यवहारको नियामक शक्ति हो । सांख्य शास्त्र अनुसार बोलीको सर्जक आकाश हो । आकाशलाई माध्यम बनाएर आवाज निस्कने ईन्द्रिय (जिब्रो)बाट ध्वनित शब्दतरंगहरु मस्तिष्कमा प्रवाहित भएर आफ्नो प्रभाव छोडछन । जिब्रोबाट तरंगित शब्दहरु मीठा र कठोर गरि दुई प्रकारका हुने गर्दछन । मस्तिष्कमा तरंगित यी शब्दहरुमा मनको भित्रि संकल्पका शूक्ष्म तत्वहरुको समावेस हुन्छ । यस कारण मीठा शब्दका तरंगहरुले मनलाई खुसि र कठोर शब्दतरंगले नकारात्मक उद्विग्नता सिर्जना गराउदछ । कठोर शब्द उच्चारणले चित्तमा विषाद र नकारात्मकता उत्पन्न हुन्छ । यस कारण बोलिमा संयमको नियम पालना गर्न धर्मशास्त्रहरुले निर्देशन दिएका हुन । हामीले गर्ने ब्रत पर्व उत्सवहरु पनि बोलिमा संयमताको निर्देशन दिईन्छ । हाम्रो एउटा मीठो बोलीले कसैमा बसन्त झै बहार ल्याउन मदत गर्दछ । बोलिमा मीठास र पवित्रता ल्याउन श्रीमद्भगवद्गीतामा भगवान श्रीकृष्ण भन्नुहुन्छ
मनः प्रसाद सौम्यत्वं मौनमात्मविनिग्रहः ।
भावसंशुद्धिरित्येतत्तयो मानस मुच्यते ।। Gita
अर्थात मनको प्रसन्नता नै अरुप्रतिको भेदरहित चिन्तन हो । मौनता ब्यक्तिलाई आत्मनियन्त्रण गर्ने र आत्म शुद्धिकरण गर्ने माध्यम हो । यसकारण बोलीको संयम र मौनतालाई तपस्या तपस्या भनिन्छ । कसैलाई उत्तेजित नपार्ने दुःखी नबनाउने बेद शास्त्र र नीतिसम्मत बाणीको अनुशीलन तपस्या हो ।
प्रसिद्ध नीतिकार चाणक्य भन्नुहुन्छ “प्रियवाक्य प्रदानेन सर्वे तुष्यन्ति जन्तवः । तस्मत्तदेव वक्तव्यं वचने का दरिद्रता ”।। यसको अर्थ हो पइारो लाग्ने बचन बोल्दा सबै प्राणि खुसी हुन्छन त्यसकारण सधै सबैलाई प्यारो बोल्नु पर्छ धन सम्पत्तीले गरीव रहे पनि बोलिमा किन दरिद्रता देखाउने ? । मर्यादा पुरुषोत्तम श्रीराम भन्नुहुन्छ देवास्ते प्रियवक्तारः पशवः क्रूरवादिनः। अर्थात मीठो र प्यारो बोल्ने देवता हो अनि क्रूर र नमीठो बोल्ने राक्षस हो । धर्मशास्त्रका यी कुराहरु मनन गर्दा पनि बाणीमा संयम गर्नुपर्ने हुन्छ ।
भनिन्छ शब्दमा अमोघ शक्ति हुन्छ, ठूला हतियारले गर्न नसक्ने काम शब्दले पूरा गर्दछ । मानिसले बाणीमा संयम राखेर जति कम बोल्दछ त्यति नै उबाट सत्य निस्कन्छ भन्दै महाराज युधिष्ठिरको भनाई छ “ हितं मनोहारी च दुर्लभं बचः” अर्थात सत्य र सबैको कल्याण गर्ने हितकारी बचन अति दुर्लभ हुन्छ जसले अति कम बोल्दछ उबाट सयमात्र निस्कन्छ र त्यस्ता ब्यक्तिको अभिव्यक्तिले कसैलाई धोका हुदैन । बाणीको उपयोग धेरै सोचेर गर्नु पर्दछ । किन भनें एकपल्ट पनि निस्किएको असंगत बोलीको शब्दले व्यक्तिको मनमा फूट विवाद र घृणा जस्ता विषक्त दुर्गुणहरु जन्माउछ । व्यक्ति सधै स्वतन्त्रता खोज्दछ यसकारण उ बोलीमा पनि स्वतन्त्रता चाहन्छ तर स्वतन्त्रताका आडमा व्यक्तिको अभिव्यक्ति मीठो हितकारी र मार्मिक भएन भनें यसले प्रतिकूल परिणाम ल्याउदछ । हामीलाई वाणीको स्वतन्त्रता दिने लोकतन्त्रको मन्दिर संसद होस वा यसका सांसद हुन अथवा सांसद बनाउने नागरिक जो कोहीले पनि अभिव्यक्तिको स्वतन्त्रतालाई उपयोग गर्दा वाणीमा संयमता अपनाउने हो भनें विवादरहित लोकतन्त्र र वाक स्वतन्त्रताको रक्षा हुन्छ । मीठो बोलीले सबैलाई बसमा पार्छ भन्दै सन्त कबीर भन्नुहुन्छ । कोयल काको देत है, कागा का सो लेय।मीठे बचन सुने के, सबका मन हर लेय। काग र कोईली दुबै काला छन कोईलीले कसैलाई केही दिदैन र कागले पनि कसैको खोस्दैन तर पनि कागलाई कसैले माया गर्दैनन कोईली सबैलाई प्यारो लाग्दछ । ब्यक्ति रुप धन गुणमा जे जस्तो भए पनि उसको संयमित मीठो र सत्य अभिव्यक्ति नै कर्ममा निखार ल्याउने साधन हो । बाणीको संयम तपस्या हो ।