चक्रपाणि गाैतम
हिन्दूहरूका अनेक पर्वहरू मध्ये जेठ महिनामा गंगादशहरा र निर्जला एकादशी व्रत प्रमुख पर्वहरू मानिन्छन् । पापमोचनका लागि गंगादशहरा यो महिनाको प्रमुख स्नान पर्व हो भनें निर्जला एकादशी व्रत पर्व हो । चन्द्रमास गणना विधि अनुसार ज्येष्ठ शुक्लपक्ष दशमी तिथिका दिन पर्ने यो महापर्व गंगा अवतरण भएको दिन हो । यो पर्वले अथक प्रयास र लक्ष्यप्राप्तिका लागि संघर्ष गर्न सिकाउने पनि गर्दछ । पौराणिक आख्यान अनुसार रघुवंशी राजपरम्पराका राजा सगरका साठीहजार छोराहरू सांख्याचार्य कपिल मुनिको तेजद्वारा भष्म भएका थिए । आफ्ना छोराको खोजीमा राजा सगरले नाती अंशुमानलाई नियुक्त गरे ।
काकाहरू र उनीहरूले लगेको घोडा खोज्दै सांख्याचार्य कपिलका आश्रम पुगेका अंशुमानले स्वर्गवाट गंगा अवतरण गराएर गंगाजलले स्नान नगराएसम्म ऋष्यापराधले भष्म सगरपुत्रहरूको मुक्ति असंभव रहेको थाहा पाएपछि अंशुमान गंगा अवतरण गराउन तपस्या गर्न थाले । लामु समयसम्म तपश्चर्या गर्दागर्दै अंशुमानले देहत्याग गरे तर गंगालाई ल्याउन सकेनन् । यसपछि अंशुमान पुत्र दीलिपले पनि त्यसरी तपस्या गरे तर उनीबाट पनि गंगावतार संभव भएन, अन्ततोगत्वा दीलिपका छोरा भगिरथले आफ्ना तपस्याका बलले पृथ्वीमा गंगा अवतरण गराएर आफ्ना हजुरबुबाहरूलाई मुक्ति दिलाए ।
गंगादशहरा स्नानपर्व हो , नुहाउने काम त हामी प्रतिदिन घरमै गरिरहन्छौंं अनि गंगा वा ठूला नदीमा किन नुहाउने ? यो प्रश्न उठनु स्वाभाविक कुरा हो । नुहाउन पानी को आवश्यकता पर्दछ र शरीरमा पानीलगाए पछि नुहाएको मानिन्छ । अनि स्नान पछि शरीर शुद्ध वा स्फूर्त रहन्छ पनि । शास्त्र अनुसार “स्नानेन शुद्धि” अर्थात स्नानले शरीर शुद्ध हुन्छ शरीरलाई मलरहित निर्मल बनाएर गरिएका कामहरू सफल र सबल बन्दछन् त्यसैले स्नान गर्नु अति आवस्यक कुरा हो । आयुर्वेद शास्त्र अनुसार स्रोतका आधारमा पानीका विभिन्न प्रकारका गुणहरू छन् । आयुर्वेद शास्त्र भन्दछ “पानीयं मुनिभिः प्रोक्तं दिव्यं भौममिति द्विधा” पानी दिव्य (आकाशीय ) र भौम (भूमीगत) दुई प्रकारका हुन्छन् । भौम जल समय परिस्थिति र ऋतु अनुसार परिस्कार गरेरमात्र सेवन गर्नु पर्दछ भने दिव्यजलमा सधै दिव्यता रहन्छ । शास्त्र सिद्धान्त अनुसार दिव्यजलका चार भेद छन ती चार मध्ये सर्बोत्तम जल हो “हैम”जल ( ग्लेसियरपग्लेर बनेको पानी ) । हिमवच्छिखरादिभ्यो द्रवीभूयाभिवर्षति यस आधारमा हिमालयका काखबाट बग्ने नदीहरूको पानी अति उपयोगि हुन्छ । आयुर्वेद अनुसार “हिमाम्बु शीतं पित्तघ्नं गुरु वात विवर्धनम् ” अर्थात हिमालयबाट निस्केको जल चीसो पित्त दोष नाशक र अडिलो हुन्छ । यही हिम सृंखलाबाट बगेको पानी समतल भूमीमा आईपुग्दा अनेक पर्वत चट्टान र वनस्पतिमा ठोकिएर ती वनस्पतिको दिव्य औषधीहरूले युक्त पवित्र जल बन्दछ । भारतको गंगा नदी र नेपालका सप्तकोसी ,गण्डकी कर्णाली जस्ता नदीहरू जो स्थायी रूपमा प्रवाहित छन् । यी नदीको जल सिंचाई ,जलविद्युत मात्र हैन सेवन गर्दा समेत स्वास्थ्यलाभ हुन्छ ।
गंगावतरणका अवसरमा मनाईने दशहरा पर्व वास्तवमा हामीसंग विद्यमान जलस्रोतको जनस्तरबाट कसरी उपयोग गरेर जनजीविका का लागि नागरिक स्तरबाट प्रयास गरेर कसरी देश सुखी सम्पन्न बनाउन सकिन्छ भन्ने कुराको चिन्तन गर्ने पर्व पनि हो । प्राचीन कालमा गंगादशहराको अवसरमा ठूला नदीहरूमा दश दिनसम्म मेला लाग्ने विभिन्न स्थानबाट श्रद्धालुहरूको नदीतटमा जमघट हुने गर्दथ्यो । सोही समय मिलाएर आफन्त ईष्टमित्रहरूसंग भेटघाट गर्ने विभिन्न स्थानका ग्रामीण कला कौशल र हस्तकलाका चिजबीजहरुको प्रदर्शनी र बिक्री वितरण गरेर देशको ग्रामीण शील्प प्रबद्र्धन गर्ने जस्ता महान सामाजिक कार्यहरू सम्पादन हुने गर्दर्थे । वर्षाकालमा गरिने कृषिकर्ममा नदीहरुको जल उपयोग , वितरण, पोत र प्रयोग सम्बन्धी विचार विमर्श र निर्णय पनि हुने गर्दथ्यो । प्राचीनकालका सचेष्ट र सभ्यताका उदगाताहरुको यो दशहरा चिन्तन वास्तव मैं समाजोपयोगी थियो । गंगा अवतरणको कथा र भगिरथ प्रयासको महत्वगान गरेर सन्तानहरूलाई कर्मठ र लक्ष्यप्राप्तिकालागि संघर्ष गर्न प्रतिबद्ध बनाईन्थ्यो । यसरी यो पर्वले समाज राष्ट्र र व्यक्ति सवैलाई अनुशासित ,दृढनिश्चयी र कर्मठ बनाउन प्रेरित गर्दछ ।
यसर्थ हामी पनि यो पर्वमा हाम्रो जलस्रोतको उचित प्रयोग उपयोग, नदीजलमा स्नान गरेर पापनाश र आरोग्यता प्राप्ति , मेला आदि आयोजन गरेर देशका विभिन्न जातजातीका श्रम शील्प र कालिगढीको आदान प्रदान अनि अन्तर संस्कृतिको ज्ञान र विनिमय गर्न सकौं । सनातन संस्कृति सबैको संस्कृति र सधैको संस्कृति बन्न सकोस ।
गंगादशहराको भोलिपल्ट निर्जला एकादशी व्रत आउँदछ , बर्षभरी एकादशीको व्रत बस्न सकिएन भने पनि निर्जला एकादशीका दिन अन्न जल सबै त्याग गरेर व्रत बस्यो भनें अन्य एकादशीमा गरिएको अन्न ग्रहणजनित दोष निवृत्ति हुने कुरा शास्त्रमा उल्ले गरिएको छ । व्रतले हाम्रो शरीरमा रहेका विकार शोधन गर्दछ , व्रत भनेको अभिष्ट कर्म सिद्धिका लागि गरिने संकल्प पनि हो । कुनै कर्म यात्रा आदि पूरा गर्न पूर्वतयारी आवस्यक हुन्छ , त्यसका लागि संभावित कठीनाई सामना गर्ने ईच्छाशक्ति पनि आफूमा जन्माउनु पर्दछ । एकादशीको व्रत पनि जीवनपथमा पुण्य प्राप्ति, कायिक, वाचिक र मानशिक पापबाट जीवनभर बच्नका लागि गरिने तयारी पनि हो । एकादशीका दिन अन्न र परान्न भोजन, दिवा शयन ,तेल मालिस ,पान सुपारी जस्ता अम्मल ,परनिन्दा , संभोग, धेरै पानी पिउने जस्ता कर्महरू वर्जित छन् । वास्तम्मा एकादशी तिथि विशेष प्रकारको तिथि हो ।
हाम्रो शरीर दश इन्द्रिय र एघारौं मन द्वारा संचालिन छ , हामी शरीरलाई विराट पुरुषको शूक्ष्म रूप हो भनेर पनि भन्न सक्दछौं । यसर्थ आरम्भका दश तिथि दस इन्द्रियको प्रयोग उपयोग र एकादशी तिथि एघारौ मन नियन्त्रणको अभ्यास गर्ने तिथि पनि हो । शास्त्र अनुसार मानिसलाई बन्धन वा मुक्ति दिने कारक तत्व उसको मन नै हो । (मन एव मनुष्याणां कारणं बन्धमोक्षयोः ) यदि मन नियन्त्रणमा छ भनें मानिस जहिले पनि मुक्त हुन्छ मन विषयाशक्त भएमा सर्वदा बन्धन रहिरहन्छ । यसर्थ विषया विनिवर्तन्ते निराहारस्य देहिनाम् ( निराहार बस्नाले मन विषय वासनातर्फ आकर्षित हुदैन चित्त चंचल हुदैन ) यस विज्ञान अनुसार जीवनलाई सत्कर्मतर्फ प्रवृत्त गराउने मन नियन्त्रण अभ्यासका लागि एकादशीको ब्रत विज्ञान अति महत्वपूर्ण छ । (एकादशीमा अन्न आदि निषेध किन ? यस विषयमा लेखकको एकादशी र अन्नत्याग भन्ने लेख अध्ययन गर्न सकिन्छ ।) निर्जला एकादशी कै दिन सर्वत पात्र र फल दान गर्ने नियम शास्त्रमा उल्लेख गरिएको छ भने यसै दिन विष्णुप्रीया तुलसीको विऊ राखिन्छ । यस दिन राखिएको विऊ आषाढ शुक्लपक्ष एकादशीका दिन रोपेर सवै पवित्र कर्ममा प्रयोग गरिन्छ ।
पवित्र तुलसी सनातनधर्मावलम्बीका लागि कुनै वनस्पतिमात्र नभई माता लक्ष्मीको साक्षात् स्वरूप हो । विष्णु पूजनमा यसको अनिवार्य प्रयोग गर्नु पर्दछ । भोजनीय कुनै पनि पदार्थमा एकै पत्तामात्र पनि तुलसी लगाउनाले त्यो पदार्थ प्रसाद बन्दछ भन्नुको रहस्य तुलसीमा विद्यमान अमोघ औषधीय गुणको महिमा प्रकास पार्नु पनि हो । तुलसीको नियमित सेवन वा भोजनका प्रत्येक वस्तुमा थोरै तुलसी समावेश गरेर भोजन गर्नु शरीर र मन दुवैका लागि स्वास्थप्रद रहन्छ । यसैले निर्जला एकादशीका दिन तुलसीको दल राखेर बर्ष भरी स्वस्थ रहने अभ्यास गराउने ज्ञान पनि यो एकादशीले दिन्छ । यसकारण जेठ महिनाका यी दुई पर्वहरू मानव जीवनका लागि अति महत्व राख्ने पर्वहरू हुन् ।