विश्व हिन्दू महासङ्घ नेपालकाे अन्तर्राष्ट्रिय विभाग गठन, संयाेजकमा डा.चिन्तामणि योगी

351

काठमाडौं । जेठ १६

विश्व हिन्दू महासङ्घ नेपालले अन्तर्राष्ट्रिय विभाग गठन गरेकाे छ ।  यसकाे संयाेजक डा.चिन्तामणि योगी चयन हुनुभएकाे  छ । महासङ्घका वरिष्ठ उपाध्यक्ष भरतराज पौडेलका अध्यक्षतामा बसेको जुम प्रविधिको बैठकले विधानका अनुसार  सङ्गठनको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घसंस्थासँग सम्बन्ध बढाउन पूर्वीय एवं पाश्चात्य दुवै दर्शनका ज्ञान र विज्ञानका क्षेत्रमा विशिष्टता हासिल गर्नुभएका मूल्यमा आधारित शिक्षाका अभियानकर्मी योगीलाई सो जिम्मेवारी दिएको हाे ।

विश्वव्यापीरुपमा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण फैलिएका विभिन्न देशमा रहेका नेपाली स्वदेश फर्कन चाहेकाले ल्याउने उचित प्रबन्ध गर्न पनि महासङ्घले माग गरेको  छ ।

कोरोनाका कारण विश्वव्यापीरूपमा जीवन गुमाएकाहरूका लागि आआफ्नो धर्म संस्कृतिअनुसार दाहसंस्कार गर्ने व्यवस्था मिलाउन सम्बन्धित देशका सरकारसँग आह्वान गरिएको छ । यही जेठ १० गते  रुकुम जिल्लाको चौरजहारी नगरपालिकामा भएको मानवीय क्षतिको घटनाको तत्काल निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कानूनी कारवाही गर्नुपर्ने महासङ्घको ठहर छ ।

नेपालको लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई  भारतले अतिक्रमण गरी सडकसमेत निर्माण गरेका विषयमा सरकारले सुगौली सन्धिअनुरुपको राष्ट्रको नक्सा तयार गरेकामा बैठकले धन्यवाद ज्ञापन गरेको छ । सो सम्बन्धमा तत्काल कूटनीतिक वार्ताको वातावरण बनाई नेपालको सम्प्रभूतालाई कायम गर्न महासङ्घले आह्वान गरेको छ ।

पूर्वजले हजारौँ वर्ष पहिले अर्थात् सृष्टिदेखि नै विकास गरेको आदिभाषा संस्कृतलाई विश्वका अन्य देशले समेत अध्यापन गराउन थालेकाले कक्षा १ देखि नै  ऐच्छिक विषयका रुपमा पाठ्यक्रममा लागू गर्ने सरकारको योजनालाई सफल बनाउन प्रत्यक्ष भूमिका खेल्ने  प्रतिबद्धता विश्व हिन्दू महासङ्घले जनाएको छ ।