मनुष्य पूर्ण स्वस्थ हुनका लागि शारीरिक, मानसिक, आध्यात्मिक, सामाजिक सबै पक्षबाट स्वस्थ हुनुपर्दछ

1526

अहिलेको परिवेशमा योगले चर्चा पाउँदै गएको छ । योगमा पूर्व होस् या पश्चिम मानवमात्रको आकर्षण योग तर्फ बढ्दै गएको देखिन्छ । योगका अनेकौ कार्यक्रमहरू पनि सञ्चालन भएकाछन् । योगबाट असाध्य रोग निर्मूल हुन्छ भन्नेकुरा योगका जानकारहरू पनि वताउने गर्दछन् । अहिले कोरोना भाईरसले आक्रान्त वनेको विश्वलाई भाईरस सगँ जुझ्नको लागि पनि फिजिकल योग गर्न स्वास्थ्य विद्हरू सल्लाह दिने गर्दछन् । योगले मानसिक तथा शारीरिक विकारहरू नष्ट गर्दछ छ । यो महामारीको वेलामा योग को उपयोग कसरी गर्ने र आफुलाई कसरी फिट् राख्ने भन्ने बिषयमा अन्तराष्ट्रिय योग दिवशको अवस पारेर नेपाल संस्कृत विश्वविद्यालयमा विद्यावारिधि अनुसन्धान गर्दैरहनु भएका कमल पौड्याल ( योगाचार्य) संग धु्रवशरण ढुंगानाले गरेको संवादको सम्पादित अंश –

१  योग भनेको के हो ?
योगलाई बुझ्ने विभिन्न आयामहरू छन् । आध्यात्मिक उत्कर्षको नाम नै योग हो । रोगीहरूका लागि स्वस्थ अवस्था योग हो । व्यष्टि चेतना र समष्टि चेतनाको समावस्था योग हो । अझ आजभोलीको प्रचलित शब्दमा भन्दा आत्मा र परमात्माको मिलन नै योग हो । तान्त्रिकहरूका शिव र शक्तिको मेल, साख्य दर्शनलाई आधार मान्ने हो भने प्रकृति र पुरुषको सम्योगमा वियोग हुनु योग हो । चञ्चल मनलाई स्थिर बनाउनु पनि योग हो । चित्तका वृत्तिहरूको सर्वथा निरोध योग हो । समाधि नै योग हो । लौकिक भाषालाई प्रयोग गरेर भन्नुपर्दा जीवन जीउने कला नै योग हो । योग पूर्ण जीवन शैली हो, जसले मनुष्यलाई मानवबाट महामानव बनाउन मद्दत गर्दछ ।

२. व्यायाम र योगमा के अन्तर छ ? योगगर्दा ठाउँ र समयले प्रभाव पार्छ कि पार्दैन उचित स्थान कुन हो ? र सही कुुन समय हो ?

व्यायाम र योगमा धेरै अन्तर छ । व्यायाम नियमित पनि हुन् सक्छ अनियमित पनि तर योग सधै नियमित हुन्छ । व्यायाममा श्वासप्रश्वासको गति अनियन्त्रित हुन्छ भने योगमा श्वास नियन्त्रित हुन्छ । योगाभ्यासका क्रियाहरूमा क्रमबद्धता हुन्छ तर व्यायामका अभ्यासमा क्रमबद्धता हुँदैन । व्यायाम गरेर मान्छे स्वस्थ त हुन सक्छ तर बुद्ध बन्न सक्दैन योगले बुद्ध बन्न सकिन्छ । त्यसकारण पनि योग र व्यायाममा धेरै अन्तर छ ।
योगाभ्यासका लागि समय र स्थानको पनि उत्तिकै महत्व रहेको छ । ऋतु अनुसार समय हेर्ने हो भने योग अभ्यास आरम्भ गर्नका लागि वसन्त र शरद ऋतु उत्तम मानिएको छ । दैनिक साधनाका लागि त्रिकाल सन्ध्या ( विहान, दिउँसो, साँझ) को समय उत्तम हुन्छ । खाना खाने समयको अघि पछि कम्तिमा २ घण्टाको अवधिभित्र योगाभ्यास गर्नु हुँदैन । यदि त्यसो गरे योगले उल्टो अस्वस्थता निम्त्याउन सक्दछ । योग गर्नका लागि शान्त, प्राकृतिक, समतल, भूभाग न गर्मी न चिसो मौसम भएको पवित्र स्थान निर्धारण गर्नु सर्वाेत्तम मानिएको छ । जसले गर्दा साधक पवित्र होस् र योग सिद्धि प्राप्त गरोस् ।
दैनिक नित्यकृया सकेर स्नान आदि गरिसकेपछि शुद्ध आसनमा बसेर पद्मासन लगाई आफ्नो गुरु अथवा ईष्टदेवको स्तुतिगान गरेर गुरुको निर्देशन अनुसार प्राणायाम,आसन एवं ध्यानको अभ्यास गर्नु राम्रो हुन्छ ।

३. अहिले केवल योगलाई फिजिकल फिट्नेस सँग मात्र जोडिने गर्दछ योगले केवल फिट्नेस सँग मात्रै सम्बन्ध राख्दछ ?

हो आजभोली योगमा पनि विकृति आएको छ । आसनहरूलाई मात्र योग बुझ्ने बुझाउनेहरूको आफ्नै झुण्ड छ । बजारमा छरपष्टै योगगुरु भेटिन्छन् । उनका आ–आफ्नै योगविधि रहेका छन् । मेरो फलानो योग हो । फलानो योगको सुरुवात मैले गरेको हो, पनि भन्दछन् । यस्तै सोंच र दृष्टिले गर्दा शिखरमा पुगेको योग धरासायी बन्दैछ । यो अवश्य हो कि योगले फिजिकल फिट्नेस पनि दिन्छ तर यत्तिमात्र योगको उद्देश्य भने होईन योगको अन्तिम लक्ष्य त समाधि हो । वास्तविक योग भनेको समाधि सम्मको यात्रा हो । यो यात्राको पहिलो स्टेसन भनेको फिजिकल फिट्नेस हो ।
योगलाई फिजिकल फिट्नेस सँग मात्र जोड्ने हो भने साधक ऋषि,महर्षि,महामानव बन्नै सक्दैन एक शरीर शुद्ध भएको व्यक्ति मात्र निर्माण हुन्छ । शरीर मात्र ठीक राखेर पुग्दैन आत्मा, इन्द्रिय, मन र बुद्धि सबै प्रसन्न हुनुपर्दछ । हामीले यसरी बुझौं योगमा समाधिको यात्रा चल्दैछ र यो यात्राको पहिलो खुड्किला फिजिकल फिट्नेस हो । तसर्थ फिजिकल फिट्नेस सम्म मात्र योगले सम्बन्ध नराखेर यसको पूर्णता समाधि ज्ञानप्राप्तिमा गएर टुङ्गिन्छ । यो मोक्षको यात्रा हो । चेतनाको यात्रा हो । मानवीय उत्कर्षको सिँढी हो । फिजिकल फिटनेस मात्र कदापि होईन ।

४ पूर्वकालमा ऋषिहरूले ध्यानयोगको सहाराले दिव्य तथा अलौकिक क्षमता राख्ने कुराको चर्चा पाईन्छ के अहिले ध्यानयोग लुप्त हुँदै गएको हो ?

हामीले यो बुझ्न आवश्यक छ, शास्त्रले योगलाई गुप्त विद्या भनेको छ । गुप्तविद्या भनेको सम्बेदनशील र होसपूर्ण तरिकाले ग्रहण गर्ने विद्या हो । आजभोली अन्धाधुन्ध जे पायो त्यही जस्तो पायो त्यस्तैसँग यसको बागडोर गएको छ । यसका कुनैपनि कुरा गुप्त रहेनन् । त्यसैले पनि लुप्त हुन थालेको हो कि भन्ने आभाष भएको मात्र हो ।
ध्यानयोग लुप्त भएको होईन । ढोंगीहरू बढेको मात्र हो । अझैपनि शुद्ध अभ्यासी योगीहरू छन् तर उनीहरू कहिल्यै प्रचार–प्रसार गर्दैनन् । निरन्तर आफ्नो साधना गरिरहन्छन् । योग पहिले जे थियो अहिले पनि त्यही छ । यसलाई बुझ्ने र अभ्यास गर्नेहरूमै भिन्नता छ । नियमाग्रह छ । निरन्तर साधना गर्ने योगीहरूले अहिले पनि सिद्धि प्राप्त गरेका छन् । यो कुनै नौलो कुरा होईन हाम्रो दृष्टिमात्र त्यहाँ पुग्न नसकेको हो ।

५. अहिले कोरोना महामारीबाट विश्व आतंकित छ, स्वास्थ्य जानकार तथा अनुसन्धान कर्ताहरू योग गर्ने सल्लाह दिने गरेका छन् कस्ता किसिमका योग गर्नाले रोग प्रतिरोधात्मक क्षमतामा वृद्धि हुन्छ ?

हो यसरी बुझेर अगि बढ्नु राम्रो हो । सबैभन्दा पहिले सकारात्मक मस्तिष्क , शुद्ध आहार विहार र उचित जीवनशैली नै रोग प्रतिरोधात्मक क्षमता वृद्धिको पहिलो सर्त हो । यश पश्चात् योगाभ्यासमा प्रवेश गर्न सक्छौं ।क, प्राणायामको अभ्यास अधिक गर्ने ।
ख, सूर्य नमस्कार कम्तिमा १२ आवृत्ती अवस्थानुसार गर्ने ।
ग, सविता ध्यान (सूर्यको लालिमा संगै बिहानी प्रहरमा १५–२० मिनेट) गर्ने ।
अन्य अभ्यास शरीरको प्रकृति अनुसार योगाचार्यको सल्लाहमा गर्न सकिन्छ ।

६. योगको वास्तविक ग्रन्थ कुन हो ? हामीले घरमा अनेकांै कामहरू गर्दा योग अभ्यास भएको हुन्छ भने के फेरि योग गर्नु पर्छ र ?

योग प्राचीनकाल देखि हाम्रा सनातन शास्त्रहरूमा व्याख्या गरिदै आईएको विषय हो । वेद,उपनिषद्,पुराण, दर्शन लगायत सबैमा योगको उल्लेख पाईन्छ । योग ६ दर्शन मध्ये एक हो । यसरी हेर्दा योगका केही प्रमुख निम्न ग्रन्थहरु छन् ( पातञ्जलयोगसूत्र, श्रीमद्भगवतगीता, योगवाशिष्ठ, शिवसंहिता, हठयोगप्रदीपिका , सिद्धसिद्धान्तपद्धति, शिवसूत्र, घेरण्डसंहिता आदि यद्यपि हाम्रा सम्पूर्ण शास्त्रहरुमा कहिँ न कहिँ योगका आधारभूत तत्वहरू भेटिन्छन् ।
घरमा काम गर्दा योग भएको हुँदैन शारीरिक व्यायाम भएको हुन्छ । पहिलो कुरा त योग किन गर्ने ? त्यो बुझ्न आवश्यक छ । मैले पहिले पनि भनिसके योग र व्यायाममा भिन्नता छ । घरमा काम गर्दा व्यायाम हुन्छ योग हँुदैन ।

७. अहिले महामारीमा डिफ्रेसन आत्महत्या आदिका घटनाहरू पनि बढ्दै गएको छ, के यसको मुक्ति योगिक क्रियाबाट हुन सक्छ ?

हो निकै राम्रो प्रश्न गर्नुभयो । शारीरिक शुद्धता मात्र पूर्ण स्वास्थ्य होईन । डिप्रेसन मानसिक स्वास्थ्यको कमिले हुन्छ । मान्छे पूर्ण स्वस्थ हुनका लागि शारीरिक, मानसिक, आध्यात्मिक, सामाजिक सबै पक्षबाट स्वस्थ हुनुपर्दछ । योग मुक्तिको अभ्यास हो भने डिप्रेसन जस्ता समस्या निकै सूक्ष्म हुन् । त्यो सजिलै योगबाट निर्मूल हुनसक्छ । आज भोलीको ठूलो समस्या नै मानसिक स्वास्थ्य हो । मान्छेको मनमा नै ठूलो रोग लागेको छ । मन सूक्ष्म छ, देखिँदैन र शक्तिशाली पनि छ । शक्तिशाली मनलाई शत्रु बनाउने कि मित्र बनाउने यो हाम्रो हातमा छ । आजभोलीका मान्छेहरूको मन शत्रु बनेको छ, त्यसैले डिप्रेसन, चिन्ता, डर र आत्महत्या जस्ता समस्याहरू बढीरहेका छन् ।
योग मन भन्दा पनि सूक्ष्म चित्तका बृत्तिहरूलाई शान्त गर्ने माध्यम भएकाले मानसिक स्वास्थ्यका लागि योग ध्यान अत्यन्त उपयोगी छ । योगको उचित मार्गदर्शन र अभ्यास गर्न सकियो भने डिप्रेसन जस्ता मानसिक समस्याको उपचार यौगिक क्रियाबाट सम्भव छ । महाभारत कालमा रणमैदानमा जानू अघी अर्जुन निकै चिन्तित र बलहष्भतथ ले पीडित थिए, त्यस्तो बिकराल परिस्थितिबाट पार लगाउन श्रीकृष्णले मार्गदर्शन गरेको शास्त्र गीता हो । गीताको निर्देशबाटै अर्जुन चिन्ताजनक समास्याबाट बाहिर आएका थिए । अर्जुनजस्तो महान धनुर्धरलाई डिप्रेसनबाट मुक्ति दिन योगले ठूलो भूमिका खेलेको थियो भने हाम्रो समस्या दूर नहुनै प्रश्नै रहँदैन । यत्तिमात्र हो असल मार्गदर्शकको आवश्यकता भने सदैव अपरिहार्य रहन्छ ।