जनैको महत्व र पवित्रता

892

चक्रपाणि गौतम
यज्ञोपवितं परमं पवित्रम् प्रजापतेर्यत्सहजं पुरस्तात्
आयुष्यमग्रय्यं प्रतिमुञ्च शुभ्रंं यज्ञोपवीतं बलमस्तु तेजः ।
यज्ञोपवित अर्थात जनै , यज्ञ र उपवित यी दुई शव्दबाट निष्पन्न हुने यज्ञोपवितको अर्थ यज्ञकर्मका लागि धारण गरिने सूत्र भन्ने हुन्छ , “ यज्ञाख्या परमात्मा य उच्यते चैव होतृभिः ” त्यसैले यसलाई यज्ञसूत्र वा ब्रह्मसूत्र पनि भनिन्छ । ब्रह्मतत्व र वेदतत्वको ज्ञान गराउने यो सूत्र (धागोको समूहबाट निर्मित जनै) परम पवित्र र प्रजापति ब्रह्माको उत्पत्तिसंगै प्रकट भएको पवित्र बस्तु हो । धर्मशास्त्र अनुसार जनै धारणको ईतिहास र जनैको उत्पत्ती सृष्टिकर्ता ब्रह्मासंगै भएको प्रमाणित हुन्छ । यज्ञोपवित धारण गुरुका आज्ञा र सान्निध्यतामा मात्र सम्पन्न हुन्छ । यज्ञोपवित धारण गरेपछि बालकले पच्चीस वर्षसम्म ब्रह्मचर्यव्रत धारण गर्नु पर्दछ । विभिन्न प्रकारका व्रतहरूमा अनुबन्धित हुनकालागि गरिने संस्कार व्रतबन्ध संस्कार हो , यसर्थ यो संस्कार गरिसकेपछि गुरु आज्ञा दीक्षा शिक्षा अनुसार ब्रह्मचर्यब्रत पालना गरि विद्याभ्यासमा प्रतिवद्ध हुनु पर्दछ ।

संस्कार कर्महरूमा आठौं संस्कार व्रतबन्ध संस्कार हो पिताले बालकलाई गुरु भएका ठँउमा पुर्याउन पर्दछ र गुरुले बालकलाई विद्या अभ्यासका लागि मनमा रुचि उत्पन्न गराउदै भन्दछन “मम व्रते ते ह्दयं ददामी मम उचित अनुचितं च तेअस्तु……अर्थात हे वालक म तिम्रो ह्दयलाई धारण गर्दछु अवदेखि तिमी मेरो अनुकूल रहनु अनि मेरो वाणी राम्ररी सुन्नु , देवगुरु वृहस्पति सधै तिम्रो अनुकूल रहनेछन । यस पछि वालक आचार्यका साथमा अनुशाससन र मर्यादा पालन गर्दै विद्या अभ्यासमा लाग्दछन ।
कुनै पनि कार्यमा सफलताको रहस्य त्यस कार्यको नियमपालनमा निर्भर रहन्छ । यज्ञोपवित अर्थात जनै ब्रह्मतत्ववोध गराउने तन्तु हो, यसरी ब्रह्मतत्ववोधका लागि नियमपलना अति आवस्यक मानिन्छ, यसर्थ जनै लगाउने जो सुकैले पनि धर्ममर्यादाको पालन अनिवार्य गर्नु पर्दछ । कुनै पनि कार्यमा लागेका व्यक्तिले एकाग्रतापूर्वक त्यस कार्यमा समय र चिन्तन प्रवाहित गरिरहनु पर्दछ । जव हाम्रो काँधमा जनै रहन्छ र कुनै पनि नराम्रो कर्म वा आफ्नु लक्ष्यतर्फबाट च्युत हुन पुगिन्छ त्यसवेला आफूलाई सचेत र जाग्रत बनाउने कार्य जनैले गर्दछ । उदाहरणका लागि कुनै कुलिन खानदानको व्यक्ति मद्य मांस खान वा निन्दित कर्मगर्न जव तयार हुन्छ त्यस समयमा उसले सत्कर्मको ब्रतमा अनुबन्धित हुनका लागि प्रतिज्ञापूर्वक धारण गरेको जनै त्याग गर्दछ ।

निकृष्टकर्म गर्न वा संस्कार विरुद्ध बिद्रोह गर्ने भावना जव मानिसमा जगृत हुन्छ त्यसबेला उसलाई आप्mनै पितापूर्खाका मान्यता गलत लाग्दछन र तिनीहरुलाई त्याग गरेर नै व्यक्ति निचकर्ममा प्रबृत्त हुन्छ । यसकारण सही आचरणपूर्वक जीवनयापन गर्नका लागि पनि जनै धारण गर्नु अति उपयुक्त मानिन्छ । “सदोपवीतिना भाव्यं सदा वद्धशिखेन च” अर्थात सदाचारयुक्त जीवन यापन गर्न चाहनेले सधैं जनै लगाई रहनु पर्दछ । कुनै पनि व्यक्तिमा संस्कारपूर्वक धारण गरेको जनैको त्याग गर्ने सोच र साहस महापाप र पापकर्ममा प्रबृत्ति हुन प्रेरित मानशिकताले मात्र सिर्जना गर्दछ । अपि तु जवसम्म व्यक्ति श्रद्धापूर्वक जनै धारण गरिरहन्छ तवसम्म उसमा निकृष्ट चिन्तन आउदै आउदैन । जनै वल र तेजलाई वढाउने सूत्र हो , “यज्ञोपवितं वलमस्तु तेजः ”। यसर्थ यज्ञोपवित त्याग गर्नु बुद्धि वल र तेजस्विताको त्याग हो ।
जनै विशेष विधिबाट निर्माण गरिन्छ , शुद्ध र आफ्नै देशको माटोमा उत्पादित कपासलाई पवित्रतापूर्वक कुमारी कन्या का हातबटा धागो निर्माण गर्नु गर्दछ ।

यसरी पवित्रता र विधिपूर्वक निर्माण गएिको जनैमा आ आफ्ना कुल परम्पराका ऋषि गोत्र र प्रवरपुरुष संख्याका आधारमा शिखा निर्माण गरेर तन्तु देवताको आह्वान गरि जनै लगाउनु पर्दछ । हातका चार औलामा ९६ औंली वेरिएको धागोलाई तीन सरा र पुनः तीन सराका क्रमले त्रिगुणित गरिएका सवै डोराहरुमा देवताहरुको आ्वान गरि धारण गर्नु गर्दछ । यसर्थ जनलाईै बजारिया धागो नभई पवित्रतापूर्व निर्माण गरिएको ब्रह्मसुत्र भनिन्छ ।
यद्यपि पारलौकिक र अमूर्त लाभ प्रदान गर्ने जनैको भौतिक लाभ खोज्नु उचित र मान्य पक्ष हैन तर पनि आधुनिक भौतिक चिन्तन बोेकेका द्विज कुमारहरुकालागि पनि जनै धारण लाभदायक नै छ । वयवहारिक रूपले जनै जवसम्म आफूसंग रहन्छ तवसम्म सत्कर्म र आफ्नु कुल परम्परा मूल्यमान्यतालाई सम्मान गर्न जनैले प्रेरित गरि नै रहन्छ । विशेषतः जनै लगाईसकेपछि सधै शरीर पवित्र राख्नु पर्ने नियम भएका कारण पवित्रतातर्फ ध्यान गई रहन्छ र यसका प्रभावले स्वास्थ्य अनुकुल रहन्छ ।