जन्माष्मी र कृष्णका उपदेश

633

हाम्रो देश कला संस्कृति पर्व हरूको धनी छ । यस्ता पर्वहरूले व्यक्तिमा खुसीको सञ्चरण गराउने गर्दछ । हाम्रा पर्वहरूले वैमनश्य, कटुता, मनमुटाव लाई त्यागी सहअस्तित्व समभाव को विकास गरिरहेको छ । यति मात्र हैन हाम्रो देशको अर्थतन्त्रको चलाएमान पनि पर्वसँगै जोडीयको देखिन्छ । किन भने जव चाँड पर्व सुरुहुन्छ सबै राम्रो लगाउने मिठो खाने प्रचलनले गर्द बजारमा खरिद बिक्री बढ्ने भएकाकारण ले पनि अर्थ चलाएमान हुने गर्दछ । यस्तै पर्व मध्यको एकपर्व हो जन्माष्टमी, यो दिनलाई सानो तीज पनि भन्ने प्रचलन रहेको छ । भगवान् कृष्ण सँग जन्माष्टमी जोडीएको छ । भगवान विष्णुकाे आठौं अवतार कृष्ण अवतार मानिन्छ । कृष्ण जन्म भएकाकारण नै जन्माष्टमी भनिएको हो । जन्माष्टमी पर्व हिन्दू (आर्य)हरूले श्रीकृष्णको पूजा आजागरी मनाउने प्रचलन रहेको छ । श्रीकृष्णको जन्म मथुराका राजा कंसको जेलमा भएको थियो । वसुदेवकी धर्मपत्नी देवकीको आठौं गर्भबाट भगवान कृष्णको प्रादूर्भाव भएको हो । भाद्र महिनाको कृष्णपक्षको अष्टमी तिथिका दिनको रात्रिको मध्य बाह्रवजे रोहिणी नक्षत्रमा उहाँको प्रादूर्भाव भएको थियो । रात्रिमै कृष्णको जन्मको प्रयोजन किन ? यसका पनि बिभिन्न कारण रहेका छन् । रात्रिको समय या भोगी जाग्छन् या त योगी जागेका हुन्छन् । भनिएको छ “या निशा सर्वभूतानं तस्य जगृति संयमी” का अनुसार संम्पूण संसार सुतेका वेला ऋषि जागेका हुन्छन् । तिनै योगमा जागेकाहरूलाई कृपानुभूति को लागि कृष्णको अवतार भएको भएको हो । कृष्णको अवतारको कारण हेर्दा गीतामा लेखिएको छ ।
परित्राणाय साधूनां विनाशाय च दुष्कृताम् ।
धर्मसंस्थापनार्थाय संभवामि युगे युगे ।।
उक्त श्लोक अनुसार कृष्ण अवतार विषेश गरेर तीन प्रयोजनको लागि भएको देखिन्छ साधुहरूको उद्धार, दूषित कर्म गर्नेलाई नष्ट तथा धर्मको स्थापना, परित्राणय साधूनां भनेको गोकुल लिलाहो जहाँ लता, पता, गौ, सखा पनि भक्तहरू बनेको भन्ने उल्लेख गरिएको छ, उनिहरु पूर्व जन्ममा साधु थिए उनिहरू सगँ खेल्नुनै साधुकृपा हो । विनाशाय दुष्कृताम् भनेको मथुरा लिला भनिएको छ । कृष्णले कंसादी दुष्टको बध गरेर पृथ्वीको भू–भार हरण तथा स्वेक्षाचारी राज्यको अन्त्य गर्नुभएको थियो । धर्मसंस्थापना भनेको द्वारका लिलाहो जहाँ रहेर कृष्णले कौरव पाण्डवको युद्ध, पाण्डवको विजयले सत्यधर्मको स्थापन अर्धम असत्यको नाश गर्नु भयो ।

आफ्ना लिलाले संसारका धेरै जनलाई मन्त्र मुग्ध पार्नु भएको छ, लिला पुरुषोत्तम कृष्णले । “कृष” अर्थात् कर्षण (खिच्नु) शब्दबाट कृष्ण बनेको छ । बाँसुरी बजाएर हवोस् या रास रचाएर सम्पूर्ण भक्तका मन अफूतिरै आकर्षित गर्नु भयो । तेसैले त पाश्चात् जतत् र जनहरू पनि कृष्ण लिलामा मोहित भएका छन् । मनुष्यको मात्रै के कुरा पशु, पक्षी सबै कृष्णको मुरलीमा तालमा लठ्ठ हुनेगरेको उल्लेख भगवतमा गरिएको छ । संसारमा प्रेमको परिभाषा सिकाउने नै कृष्ण हुनुहुन्छ । उहाँले पशु देखि बृक्ष र प्रकृति लाई सम्म पे्रम गरेको देखिन्छ । भगवान कृष्ण प्रकृतिका पुजारी हुनुहुन्थ्यो । किनभने कृष्णले गरेको गोवर्धन पूजाले नै बुझ्न सकिन्छ की उहाँको प्रकृतिको प्रेम । आज प्रकृति विनाश हुदै गइरहेको बेला कृष्णको बिचार र दर्शनको बाटो हिड्न आवश्यक छ । मान्छे मान्छेको दुष्मन हुँदै गएको यो समयमा कृष्णको मार्ग दर्शनलाई आत्मसाथ गर्न सके मनुष्य शुखी हुन सक्नेछ । भगवान् कृष्णमा संगीतको पनि गहिरो ज्ञान पाउन सकिन्छ । सम्पूर्ण कलाका धनी कृष्ण बाँसुरी बजाउने गोपी नचाउने मात्र नभई दार्शनिक र राजनीतिज्ञ पनि हुनुहुन्थो ।

अहिलेको समाजमा कृष्णको जस्तो राजनीतिको खाँचो छ । दुष्टदमनकारी कृष्णले कंस मारे ता पनि आफू कहिले राज्य सत्ताको मोहमा पर्नुभएन । मथुराका जनतालाई कंसको अत्याचारबाट मुक्ति दिलाउनु भो भने उग्रसेन लाई राजा वनाइ आफू कहिल्यै पनि राजगद्दीमा बस्नु भएन । केवल शासन सत्तामा मात्रै लिप्तहुने नेतालाई कृष्णचरित्रले यो शिक्षित गरेको छ, सत्ता प्राप्ति मात्र विजय होइन । जनताको इच्छा र भावना बुझ्न सक्नु नै कुशल राजनीति हो । आजको यो केवल सत्ताको लोलुपताको लागि मात्र राजनीति गर्नेहरूका लागि पनि कृष्णको दर्शनको खाँचो छ । कृष्णको दर्शन गीतामा र उद्धव उपदेशमा कति गहिराई छ भन्ने मापन गर्न ठूला ठूला विद्वान लाई कठीन परेको देखिन्छ । वाल्य अवस्थामै ठूला ठूला दैत्य (पुतना, तृणवर्त, अघासुर,वकासुर, धेनुकासुर, चाणूर, मुष्टिक) परस्त गरेका कारण प्रभुमा स्पष्ट ऐश्वर्य रहेको देखिन्छ । संसारमा काम ठूलो सानो हुँदैन भन्ने कुरा कृष्णले राजसूययज्ञमा जुठो उठायर देखाई दिनु भो । मित्र प्रतिको कर्तव्यलाई सुदमाको कनिकाबाट ठूलो सानो धनी गरीव आदि को भेदभाव राख्नु हुँदैन भन्ने शिक्षा प्रदान गर्नु भो । दुर्याेधनको मेवा त्यागेर विदुरको घरको घरको सागखाएका हुनाले धनी गरीबका भेदलाई निर्मूल पार्न कृष्ण लागेको देखिन्छ । कृष्णले विश्वलाई समताको पाठ पनि पढाउनु भएको छ । “उद्धरेदात्मनाऽत्मानम्” व्यक्तित्वको विकास प्रत्येक व्यक्तिले आफै गर्नुपर्छ भन्ने पाठ सबैलाई पढाउनु भएको छ । भगवानकृष्णको भनाइ छ अन्याय र अत्यचारको साथ कहिल्यै पनी सझौता नगर, सत्य र धर्मको पथ कहिल्यै नछोड किन भने सत्य र धर्मले तिम्रो रक्षा सदैव गरिरहेको हुन्छ । श्रीकृष्ण जन्माष्टमीको रात्रिलाई मोहरात्रि भनिन्छ । यो रात्रीको दिन श्रीकृष्ण मन्त्रको जप, ध्यान गर्दै रातभर जाग्नाले संसारको मोह माया बाट आसक्ति हट्ने हुन्छ र ज्ञान तथा विवेकको बृद्धि हुनेछ ।

आजको भौतिकवादी युगमा धन, सुख, समृद्धि, यश, प्रतिष्ठा सवै बस्तु हुँदाहुँदै पनि अधिकांश व्यक्ति प्रसन्न हुन सक्दैनन् । सहीकुरो त हामी सम्पूर्ण आनन्दका अधिकारी हौ त्यसको लागि कर्तव्य पथमा लम्कदै हामी तपस्वी बन्नुपर्ने हुन्छ । यही आदेश जगत्गुरु कृष्णले अर्जुनलाई माध्यम वानएर हामी मानवमात्रलाई कर्तव्याभिमुख गराउन गीताको ज्ञान प्रदान गर्नु भएको हो । भगवान् कृष्णको जन्माष्टमी मनाने हामी तमाम कृष्ण अनुयायीहरूले कृष्णको पूजा र भक्ति सहित उहाँले प्रदान गरेका अनुशिक्षालाई पालन गर्न आवश्यक छ ।

#जन्माष्मी