यज्ञमा समिधाको महत्व

400

चक्रपाणि गौतम

सनातन हिन्दु सभ्यतामा कुनै पनि संस्कार कर्म हुन वा पौष्टिक कर्म सबै कर्महरुमा अनिवार्य हवन गरिन्छ । सनातनी व्यक्तिले नित्य सन्ध्याबन्धन देवपूजन र हवन र पितृतर्पण अनिवार्य रुपमा गर्नुपर्ने शास्त्रीय नियम छ । जनै लगाउने व्यक्तिले तीन दिनसम्म सन्ध्याबन्धन र गायत्री जप गरेन भनें ब्रात्य हुन्छ र उसले गरेका कुनै पनि शुभकर्महरु सिद्ध हुदैनन भनेर गृह्यसुत्रकारहरुले उपरोक्त कर्महरुको अनिवार्यताका बारेमा निर्देशन दिएका छन । हामी आफ्ना श्रद्धा विश्वास र अनुकूलताका आधारमा पूजा उपासना त गर्ने गर्दछौ तर विधिसम्मत गर्नु अनिवार्य पक्ष हो । आजभोलि दिनैपिच्छे सन्ध्या जप तर्पण गर्ने कार्य नैष्ठिक गृहस्थ ब्राह्मणको घरमा समेतलोप हुदै गईरहेको अवस्था छ भनें नित्यकर्मको अभिन्न अङ्ग हवन कर्म त असंभव प्राय भईसकेको छ । प्रत्येक गृहस्थिले भोजन पकाएको चुलोको आगोमा नै भए पनि अनिवार्य होम गर्ने नियमलाई भक्तिमार्गका प्रपन्नहरुले ईष्टदेवलाई समर्पण गरि हवनको पूर्णता भएको महसुस गर्दछन । यद्यपि भक्तिमार्गका अनुयायीहरु पनि यथा अवसर हवन कर्म भनें गरिरहन्छन । नित्य होम घरमै बनेको भोजनबाट गर्दा अनुपयुक्त नहुने धर्मशास्त्रको निर्णय छ । कर्मशास्त्र अनुसार हवन गर्ने वा देवतालाई चढाउने वस्तुहरु आफूलाई उपयोगी वस्तु जस्तै पवित्र हुनुपर्दछ । “ यदन्नं पुरुषो भवति तदन्नं तस्य देवता ” अर्थात जुन अन्न व्यक्तिका लागि उपयोगी र उपभोग्य हुन्छ त्यही अन्न उसको ईष्टदेवताका लागि पनि उपयुक्त हुन्छ । यसकारण हामीले हवन पूजन तर्पण गर्दा अपवित्र वस्तु र पूजा सामग्रीको प्रयोग गर्नु हुदैन ।
कुनै पनि कर्म गर्दा आहुति प्रदान गर्ने आधार अग्नि हो । यज्ञकुण्डमा विशेष विधिबाट अरणिमन्थन गरि अग्नि बालेर त्यस अग्निलाई पनि विशेष प्रकारले सुसंस्कृत गराई आहुति प्रदान गरिन्छ । यज्ञकुण्डमा आहुति ग्रहण गर्ने अग्नि आधान गर्न समिधाको पनि अति महत्व छ । शास्त्रले यज्ञमा प्रयोग गरिने समिधालाई हाम्रो आत्माको स्वरुप हो भनेर व्याख्या गरेको छ ।हामीले अग्निआधान गर्न प्रयोग गरेका समिधा हाम्रै आफ्नु स्वरुप हो । ॐ अयं त इध्म आत्मा जातवेदस्तेनेध्यस्व वर्धय चास्मान प्रजया पशुभिब्र्रह्मवर्चसेनान्नाद्येन समेधय स्वाहा।” अर्थात हे जातवेदस ∕ सर्वत्र स्थूल शूक्ष्म रुपमा विद्यमान अग्निदेव ∕ यो घिउले युक्त भएको समिधा तपाईको आत्मा हो । तपाईको आधार हो । हे अग्निदेव तपाईको ज्वलनशीलताका लागि यो समिधा साधनरुप हो । यसकारण तपाई घिउले युक्त भएर प्रदिप्त हुनुहोस । “बर्धस्व च ” बृद्धि हुनुहोस साथै उत्तम रुपले प्रज्वलित हुनुहोस । “इद्ध वर्धय च ”अरुलाई पनि प्रकाशित गर्दै उनीहरुलाई समृद्ध बनाउनुहोस । “अस्मान ” हामी याज्ञिक गणहरुलाई पनि उत्तम सन्तान, पशु , अन्न र ज्ञान मेधा आदिले समृद्ध गराउनु होस । उपर्युक्त मन्त्रको लौकिक र सामान्य अर्थ यही हो । परन्तु यज्ञाग्नीमा प्रयोग हुने समीधाको आध्यात्मिक दृष्टिबाट ज्ञान गर्नु पनि आवश्यक छ ।
हामीले गर्ने सबै प्रकारका हवन र यज्ञ कर्महरु शरिरबाट माथि उठेर आत्मोन्नतिका लागि गरिने कर्म हुन । संसारिक काम र व्यवहारहरु गर्दै आत्मोन्नतीका लागि संकल्पाग्नी दृढ गर्ने कर्म हो । वेदमन्त्रको यो महान ऋचाको “ अयं आत्मा इध्म ” यस पदको दार्शनिक उक्ति अनुसार हाम्रो आत्मालाई समिधा बनाएर ईश्वरलाई समर्पित गर्नु हो । मान– अपमान जस– अपयस जित– हार सबै कुराबाट माथि उठेर समत्वभाववाला योग स्थितिमा पुग्नु हो । आत्मालाई इध्म बनाउनु जीवनको महान उपलब्धि हो । नीतिशास्त्र अनुसार हामीले गरेका कर्मबाट धन आओस या नआओस ,सुख होस वा नहोस धूर्तहरुले निन्दा गरुन वा प्रशंसा गरुन आजै मृत्यु होस वा धेरै वर्ष पछि मरियोस आत्मालाई इध्म (समिधा) बनाउनेवाला व्यक्ति कहिल्यै धर्माचरण र सत्याचरणबाट बिचलित हुदैन । “तेन इध्यस्व वर्धस्व च” अर्थात इध्ममा बलेको संकल्पाग्निले व्यक्ति स्वयं प्रदिप्त हुनुपर्दछ र सो अग्निबाट निरन्तर उन्नति प्राप्त गर्नु पर्दछ । गीता दर्शन अनुसार मन नै मानिसको बन्धन र मोक्षको कारण हो । यसकारण मनलाई जहिले पनि संकल्पयुक्त राख्नु अनिवार्य छ । हामीले संकल्पयुक्त राखेको मन प्रगतिशील भने हुनुपर्दछ । संसारका बन्धनबाट मुक्त हुने संकल्प लिनु पर्दछ । यस कारण आत्मालाई इध्म बनाएर मात्र मनको संकल्पाग्निलाई बाल्ने कामना यज्ञ गर्ने याजकले गर्नु पर्दछ ।“इद्ध वर्धय च”आफूलाईमात्र प्रकाशित गर्ने हैन अरुलाई पनि अघि बढाउनु पर्दछ र समृद्ध बनाउनु पर्दछ । हाम्रो आत्मामात्र इध्म न केवल हाम्रो आत्मा इध्म बनोस अरुको पनि आत्मा इध्म बन्नु पर्दछ । केवल हामीमात्र उन्नति नगरौं अरुको पनि उन्नति निश्चित हुनुपर्दछ । अरु सबैको धन मान र यसको बृद्धि हुनु पर्दछ । “प्रजया ” सर्वप्रथ आत्मा का लागि यो शरिर र शरिरका इन्द्रियहरु सन्तान हुन ।शरिर र इन्द्रियहरु स्वस्थ रहे भनें जीवनको उन्नतिले सहि दिसा पकडदछ । इन्द्रियरुपी प्रजा स्वस्थ रहनु भनेको विचारमा शुद्धता आउनु हो ।यसकारण जीवनमा उन्नतिका लागि सधै हामीले इन्द्रियको स्वास्थ्यरक्षाका लागि सावधान रहनुपर्दछ । अर्को तर्फ हाम्रा सन्तान पनि हाम्रा प्रजा हुन । जसरी हाम्रो शरिर र शरिरस्थ इन्द्रियहरु यज्ञभावले युक्त हुनुपर्छ त्यसरी नै हाम्रा सन्तानहरु पनि यज्ञभावले युक्त भएका पवित्र लबनाउनु पर्दछ । पुनः हाम्रा छर छिमेक र समाज पनि हाम्रा प्रजा हुन भनेर शास्त्रले विवेचना गरेको छ । यसकारण हाम्रा समाजरुपी प्रजा स्वस्थ र शुद्ध भावका भए भनें मात्र हामी जीवनमा सुख पाउन सक्दछौ यसकारण समाजलाई पनि यज्ञभावले युक्त बनाउनु अनिवार्य छ । यसर्थ हाम्रो विचार समाजका लागि पनि उपयुक्त हुनु पर्दछ । समाजकल्याणका लागि हुनु पर्दछ । “ पशुभिः” सृष्टि व्यवस्थापनमा पशुको महत्वपूर्ण स्थान र योगदान रहेको छ । पृथ्वीमा पशु नहुनु भनें हाम्रो जीवनको आवश्यक तत्व नामेट हुने छन यसकारण पशु रक्षाको कामना र तत्परताका लागि निर्देश गरिएको हो ।
“ब्रह्मवर्चसेन” हामीमा वेदको ज्ञान आवश्यक छ । ज्ञानका साथ साथै ज्ञानको तेज पनि अति आवश्यक छ । मानव जीवनको सार्थकता ज्ञानको विकाशलेमात्र हुन्छ । मनुष्य र पशुमा अन्तर मात्र ज्ञानको हुन्छ । मानव ज्ञानका माध्यमले मोक्ष प्राप्त गर्दछ ।“अन्नाद्येन”हामीले उपभोग गर्न सक्ने जतिमात्र संग्रह गर्नु पर्दछ अन्न आदि वस्तुहरु शरिरका लागि हुन । यसकारण अन्नहरुको संग्रह शरिररक्षाका लागि हुनु पर्दछ परन्तु यसको ठीक विपरित उपभोग्य अन्नहरुका लागि शरिर हैन भन्ने यो दर्शनको गहिराईलाई बुझेर भोग गर्नु पर्दछ । अर्थात हाम्रो शरिर उपभोगका सामग्रीका लागि हैन । यदि शरिर उपभोगका साधनका लागि प्रयोग भयो भनें अयज्ञिय मानिन्छ । यो अनुचित हो । परिणाम “अयज्ञियो हतवर्चा भवति ” अथर्ववेदको यो उपदेश अनुसार यज्ञ नगर्ने व्यक्ति तेजहीन हुन्छ । यसरी आत्मालाई समिधा बनाएर परमात्मामा समर्पित गर्ने कर्म सम्पादन गर्न यज्ञिय समिधा र आत्मीय समिधा दुवैको अति महत्व रहेको छ । क्रमस…..