चक्रपाणि गौतम
आषाढ शुक्ल पूर्णिमा तिथिलाई गुरु पूजा पूर्णिमा भनिन्छ । यो तिथिका दिन अठार पुराणका रचयिता कृष्णद्वै्रपायन व्यासको पूजा गरिन्छ । सनातन हिन्दु सभ्यतामा गुरुको स्थान सर्वोपरि रहेको छ । मानव जीवनको स्पृहणीय तत्व भनेको मोक्ष हो । हाम्रो आत्मा जुन ठाउमा गएर पूर्णतालाई प्राप्त गर्दछ त्यस स्थानलाई नै मोक्ष धाम भनिन्छ । आत्मालाई अनन्तका लागि मोक्ष प्रदान गर्न गुरुको सर्वोपरि स्थान रहेको छ । गुरुसत्ता एक अमूर्त र सार्बभौम सत्ता हो । शब्दमा व्यक्त गुरु शब्दको व्यख्या चेतनाशक्तिका माध्यमले आत्मालाई अन्धकारबाट उज्यालोतर्फ लैजाने प्रेरक माध्यम गुरु हुन । यसैकारण गुरुलाई सृष्टि पालन र संहारकर्ताका रुपमा सम्मान गरिन्छ । गुरुले हामीमा विद्यमान चेतनालाई परिस्कार गरेर ज्ञानको सृष्टि , कायिक बाचिक र मानशिक पतन हुनबाट रोकेर आत्माको पालन अनि मन चेतनामा भएको अज्ञानलाई नास गरेर त्रिदेवको स्थान हासिल गर्नु हुन्छ ।
श्रुति लोकं च प्रत्यक्षमनुमानं चतुष्टयम् ।
यस्य आत्मा ततो वेद देशिकं च सदा स्मरेत ।। संसारमा त्यस्तो कुनै शास्त्र छैन जहा गुरुको महिमा वर्णन नगरिएको होस ।
गुरुको आवश्यकता मानिसलाईमात्र हैन देवतालाई पनि पर्दछ ।
न मुक्ता देव गन्धर्वाः पितरो यक्षकिन्नराः । ऋषयो सर्वसिद्धाश्च गुरुसेवा पराङ्मुखा ।। श्कन्धपुराण । अर्थात हामीले देखेका सुनेका देवता ,किन्नर , यक्ष गण, पितृगण ,ऋषि र सिद्ध पुरुषहरु सबैजना गुरुसेवाबाट बिमुख छन भनें उनीहरुलाई ज्ञान र भक्ति दुबै कुरा प्राप्त हुदैनन । यसर्थ सबैलाई गुरुको अनिवार्यता छ । यदि मनुस्य गुरु सेवा नगरि यक्ष किन्नर देवताको पूजा गर्दछ भने उसका सबै पूजा निस्फल हुन्छन । यसकारण सबै पूजा उपासना र कर्मभन्दा पहिला गुरुपूजा र स्मरण अनिवार्य गर्नु पर्दछ । प्रत्येक पूजा उपासना र कर्म पूर्व गुरुपूजा अनिवार्य साधन हो ।
गुरु सत्मार्गप्रदाता हुन , मानवले केवल गुरुले देखाएको बाटोमात्र हिडनु पर्दछ । गुरो प्रसिद्ध मार्गेण मनः शुद्धिं तु कारयेत ।अनन्त खण्डयेत सर्वं यते किञ्चितदात्म गोचरम् । हामीलाई सम्पूर्ण सिद्धि केवल गुरुमन्त्रबाट नै प्राप्त हुछन । संसारका प्रत्यक्ष वा परोक्ष जे जति सिद्धि लाभ र ज्ञान छन सबै गुरुबाट प्रदान गरेकोमन्त्रबाट नै संभव छ । किन भनें दिव्यदृष्टिका जनक केवल गुरुमात्र हुन ।
गुरु सार्वभौम सत्ता हो , गुरुको सत्ता सर्वत्र छ । जसरी हामी ईश्वर सर्वव्यापक छ भनेर भन्दछौ त्यसरी नै गुरुको सर्वव्यापकतालाई सम्झनु पर्दछ । यस कारण हामीले गुरुलाई साक्षात ईश्वरका रुपमा मान्नु अनिवाय छ । यथा देवे तथा गुरु । गुरुलाई कहिल्यै दुखि बनाउनु हुदैन किन भनें परमात्माको दिव्यधाम र अनन्तको मोक्ष प्रदान गर्न गुरु नै माध्यम हुन । पुराणमा गुरुको महिमा वर्णन गर्दै भनिएकोछ । हरि रुष्टे गुरुस्त्राता गुरौरुष्टे न कश्चन । अर्थात भगवान रिसाउनु भो भनें गुरुले मनाउनुहुन्छ तर गुरु रुष्ट हुनुभयो भर्ने कसैले पनि गुरुलाई मनाउन सक्दैनन यसर्थ मानवले सर्वदा गुरुलाई प्रशन्न राख्नु पर्दछ । प्रत्येक कार्यको ज्ञानका लागि गुरुको आवश्यकता पर्दछ । परमात्माको एकोहं बहु स्याम अर्थात म एक छु तर कार्यभेदले अनेक रुपमा रहन्छु भन्ने यो ईश्वरको शक्ति बराबरको शक्ति गुरुशक्ति हो । कार्य ज्ञान भेदले गुरु अनेक हुन्छन तर गुरुसत्ता एक छ । गुरुका रुप अनेक छन ।